सत्तारुढ र राजपाबीचको बैठक बिनानिष्कर्ष टुंगियो

नेपालगञ्ज, २८ जेष्ठ / ‘अन्तिम’ भनिएको सत्तारुढ र राजपाबीचको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।  सिंहदरबारमा भएको छलफल दुईपक्षीय अडानका कारण निर्णयमा पुग्न नसकेको हो । राजपाले संविधान संशोधन, जनसंख्याको अनुपातमा तराईमा स्थानीय तहको संख्या थप गर्नुपर्ने, चुनाव मिति सार्नुपर्ने लगायतका माग अघि सारेको छ ।

सत्तारुढ  कांग्रेस र माओवादी केन्द्रले चुनावको मिति सार्न नसकिने प्रस्ट पार्दै बाँकी मागका विषयमा छलफल गर्दै जाने र संविधान संशोधन चुनावपछि पारित गराउने आश्वासन दिँदै राजपालाई चुनावमा भाग लिन आग्रह गरेका छन् ।  राजपा नेताहरुले माग पूरा नभएसम्म चुनावमा नजाने अडान कसेका छन् । बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दल दर्ताका लागि सरकारले आज स‌ंसद्‍मा एेन संशोधनका लैजाने, मुद्दा फिर्ता चुनावअघि नै गर्ने भन्दै चुनावमा सहभागी हुुन राजपालाई आग्रह गरिएको बताए ।

राजपालाई असार १४ गतेको दाेस्रो चरणको निर्वाचनमा सहभागी गराउन भन्दै सत्तारुढ दलहरुले प्रयास गरिरहेको छ । उसलाई चुनावमा सहभागी गराउन भन्दै संसद्बाट स्थानीय निर्वाचन एेन समेत संशोधन गरिएको छ ।  तर, राजपा आफ्ना माग सरकारले पूरा नगरेको भन्दै आज आन्दोलन घोषणा गर्ने चेतावनी पनि दिइसकेको छ ।