नेपाली पत्रकारीतामा अराजकता……

२३ असोज /

असोज ६ गते प्रेस काउन्सिलको स्थापना दिवस। राष्ट्रपति कार्यालयमा पुरस्कार र सम्मानको कार्यक्रम राखिएको रहेछ। सामान्य सूचनामा यस्ता कार्यक्रममा आजभोलि जान जाँगर लाग्दैन। उमेरजन्य कुरो पनि होला यो। त्यसैले म  सबैलाई भन्छु, ‘कार्यक्रमको अघिल्लो दिन मोबाइलबाट सूचना दिनु होला’। बेलैमा खबर आयो।  

कार्यक्रमका भाषणहरू सुनेपछि मलाई लाग्यो– कार्यक्रममा आएर राम्रो काम गरिएछ। पहिलो मन्तव्य थियो, प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको। पत्रकारिताको स्तर खस्किएको, पत्रकारको जिम्मेवारी ओरालो लागेको, पछिल्लो समयमा सबैभन्दा बढी प्रभावकारी भएको भनिएको ई–पत्रकारिता त झनै अविश्वसनीय रहेको, प्रेस काउन्सिलको काम अनुगमन र सिफारिसमा थन्किएको, कारवाही गर्ने निकाय मौन रहने गरेको, त्यसैले यथा अवस्थामा प्रेस काउन्सिलले सञ्चार जगतको नियमन गर्न नसकेको गुनासो सुनाए।

किशोर श्रेष्ठलाई नचिन्ने कोही छैनन् सञ्चार जगतमा। निर्भीक पत्रकार भनेरै चिनिन्छन् उनी। उनीसमेत बिचरो भएको संचार जगत र प्रेस काउन्सिलको सत्य थाहा पाएपछि म दंग परेँ। दोस्रा वक्ता थिए, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य। पत्रकार महासंघका अध्यक्षले समेत गुनासै थपे। सन्तुष्ट थिएनन् उनी वर्तमान समाचार संप्रेषणप्रति।

तर त्यहाँ उनले प्रेस काउन्सिलले कारवाही गरोस् भनेर आफ्नो राय राखे।  तेस्रा वक्ता हुनुहुन्थ्यो राष्ट्रपति स्वयं। उहाँको मन्तव्यमा पनि सञ्चार जगत आफैँ अनुशासित हुनुपर्छ भन्ने भनाइ बुझिने भाषामा थियो। पत्रकारिताको वर्तमानप्रति उहाँको असहमति पनि बुझिने गरी नै संप्रेषित भएको थियो। २०५१ सालमा सञ्चारमन्त्री भएदेखि नै ‘सञ्चार क्षेत्रको व्यवस्थापनको जिम्मा प्रेस काउन्सिल र पत्रकार महासंघलाई दिनुपर्छ’ भन्ने मान्यता राख्दैै आएको मानिस हुँ म। मैले धेरै ठाउँमा लेखेको छु, भनेको छु, ‘सञ्चार राज्यको चौथो अंग हो भन्नुको अर्थ त्यो नागरिक पक्षधर भन्नु हो।

राज्य कहिल्यै पनि नागरिक पक्षधर हुँदैन। राज्य र नागरिक परस्पर विरोधी शक्ति हुन्। जुन दिन राज्य जन्मियो, सोही दिनदेखि त्यो नागरिकविरोधी भयो। प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जेजे नाम दिए पनि राज्यले आफूलाई संचालक मान्छ र नागरिकलाई कमभन्दा कम अधिकार दिन चाहन्छ। यसैकारण नागरिक राज्यबाट आफ्नो अधिकार जोगाउन संघर्ष गरिरहन्छ।

तर आफ्नो चरित्रका कारण राज्य सबै कुरा आफ्नो मुठ्ठीमा राख्न चाहन्छ। त्यसैले जहिलेसम्म राज्य रहन्छ, तहिलेसम्म नागरिकसँग त्यसको मधुर संबन्ध कायम हुनै सक्दैन। नागरिकले सम्पूर्णतामा स्वतन्त्रता प्राप्त गर्ने भनेको राज्यरहित अवस्थामा मात्र हो।’ यसै कारण सन्चारलाई राज्यको चौथो अंग भनिएको हो। सरकार, संसद र अदालत तीन अंग राज्य पक्षधर हुने भइहाले।

जनताको बोली बोल्ने भएको हुनाले संचारलाई चौथो अंग भनिएको हो। राज्यको थिचोमिचोको विरोध गर्न, राज्यको मुठ्ठीबाट नागरिक अधिकार तानेर ल्याउने कामको अगुवा सञ्चार नै हो। अहिले पनि आफूले बुझेको यो मान्यताप्रति म अडिग छु। आफ्नो यही मान्यताका कारण त्यतिबेला मैले गोपालदास श्रेष्ठलाई प्रेस काउन्सिलको अध्यक्ष बनाएको थिएँ। त्यतिबेला मैले उहाँको पार्टी सदस्यता खोजेको थिइनँ।

नेपालको पत्रकारिताप्रति उहाँको समर्पण, निष्ठा, लगनलाई हेरेर यो निर्णय गरेको थिएँ। गोपालदासको नियुक्तिको सत्यापन, प्रेस काउन्सिलले उहाँको नाउँमा स्थापना गरेको पुरस्कारबाट थप पुष्टि भएको छ। अहिलेको पत्रकारिताले आफूलाई बिकाउ माल बनाएको छ। अपवादलाई छोडेर भन्दा हुन्छ, सञ्चारको जनप्रतिबद्धताको त कुरै नगरौँ, सत्य संप्रेषणमा पनि अनिकाल लाग्न थालेको छ।

मैले संपादकको मिहिनेतमा चलेका साप्ताहिक अखबारको कुरा गरेको होइन। ‘बिग हाउस’ भन्ने बिकाउ शब्दको आविष्कार भएको छ पत्रकारितामा। तिनै बिग हाउसले निकालेका अखबारहरू मस्तीका साथ राजनीति गरिरहेका छन् यतिबेला। व्यक्तिको पार्टी निष्ठालाई रोक्न खोजेको होइन मैले। तर अखबारको सम्पादकीय र मुख्य समाचारहरूले राजनीतिक पक्षधरता देखाउनु हुँदैन।

राजनीतिक टिप्पणीका लागि सबैले कम्तिमा पनि दुई पृष्ठ दिएकै छन् सबै अखबारले। त्यसमा अखबारले कुनै लेखक वा लेखक समूहमार्फत आफ्नो विचार संप्रेषण गराउन पनि पाउँछ। तर अखबारको सम्पादकीय टोली नै राजनीतिप्रेरित भयो भने त्यसले आपूmलाई स्वतन्त्र पत्रकारिता भन्न मिल्दैन। हाम्रो मुलुकमा पहिले ‘मिसन पत्रकारिता’ थियो।

त्यसको मिसन भनेको बहुदलीय व्यवस्था नै थियो। आफ्नो घोषित दायित्व पूरा गरेपछि मिसन पत्रकारितामा लागेका नब्बे प्रतिशत अखबारहरू हराए।  तिनको ठाउँमा गैरजिम्मेवार र एकांगी धारका ठूला अखबारहरू जन्मिए। तर तिनले राज्यको चौथो अंग, अर्थात् जनताको वास्तविक प्रतिनिधि हुने काम गरेनन्। उहिले चलेका मिसन पत्रकारिताले आफूलाई जोगाउन प्रेसलाई ‘उद्योगको मान्यता देऊ’ भनेर चलाएको अभियानले उनीहरूलाई त खायो नै, त्यसले पत्रकारितालाई घरानिया साहु महाजनको स्वार्थ पूर्ति गर्ने माध्यम पनि बनायो।

जनतालाई बिर्सिएपछि पत्रकारिता मर्यादाविहीन हुनु भनेको साँझ परेपछि रात आउनु जस्तै हो। अहिलेको नेपालमा त्यही रात चलिरहेको छ, जो शून्य छ, सन्नाटामा छ अनि बनेको छ त्रासदी बोक्ने समाचार। नेपालको समाचार ‘स्याडिस्ट’ (यातनादायी) हुन्छ भन्ने अधिकांशको निष्कर्ष हो। समाचारले सदाचार बोकून् भन्ने तिनको चाहना हो।

राष्ट्रपति, प्रधानमन्त्रीले शिलान्यास गरेको समाचारका ठाउँमा जनताले भोग्नुपरेको कष्टका बारेमा लेखिदिऊन् र राजधानी शहरमा बसेकासम्म त्यो पीडा पुर्‍याइदिऊन् भन्ने नागरिकको चाहना हुन्छ। तर अहिलेको पत्रकारिताले त्यतातिर आँखा लाएको पनि देखिएको छैन।  नेपालमा सरकार झनझन महाठग र गैरजिम्मेवार हुँदै गएको छ।

अदालत आफ्नै फैसलाका कारण अविश्वसनीय भइरहेको छ। नेता र ठूला कर्मचारीहरू अर्ब र करोडको भ्रष्टाचारमा मुछिएका छन्। हजारको भ्रष्टाचार त सबैतिर छ। सिंगै समाज भ्रष्टाचारप्रिय भएको छ। नागरिक समाज पार्टीको गोठालो भएको छ। बहुसंख्यक बुद्धिजीवीहरू प्रधानमन्त्रीको चाकरीमा बालुवाटार धाउने अभ्यासमा जुत्ताको तलुवा खियाइरहेका भेटिन्छन्। यस्तो अवस्थामा पत्रकारिता कसरी शुद्ध हुन सक्छ भनेर कुतर्क पनि गर्न सकिन्छ। तर खराब समाजमा नै राम्रा मानिसहरू जन्मिछन्। हिलोमा नै कमल फुल्छ भन्ने गहिरो ज्ञान पत्रकारसँगै हुन्छ। Thahkhabar  मा प्रकाशित बिचार  सभार गरिएको हो ।