लट्री परेको भनी ठगी गर्ने वीरगञ्जबाट २ जना भारतिय र १ जना नेपाली पक्राउ

५ पुस,पर्सा/  लट्री परेको भनि प्रलोभन देखाइ ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार कटिहार जिल्ला ग्राम कुजिवाना पंचायत जाजा घर भएका २६ वर्षीय चिन्कु भन्ने साकिर रेजा, सोही ठाउँ बस्ने २१ वर्षीय मुकेशकुमार राय र बाराको बरियारपुर नगरपालिका–१ घर भई महागढीमाई नगरपालिका–१ बस्ने ३४ वर्षीय फिरोज राय भाट रहेका छन् । 

ठगहरुलाई प्रहरीले सोमबार वीरगञ्ज महानगरपालिका–८ घण्टाघर नजिक पान गल्लीमा रहेको माँ दुर्गा मनि ट्रान्सफर तथा नारायणी गेष्ट हाउसबाट पक्राउ गरेको हो ।
ठगहरुले नेपालीहरुलाई फोन गरी तपाईले चलाएको भाइबर, फेसबुक, ट्विटर तथा सिम कार्ड बापत २५ लाख रुपैयाँ लट्री जित्नु भएको छ भनी फोन तथा म्यासेज गरी प्रलोभनमा पारी सो लट्री बापतको कर नेपाल सरकारलाई जम्मा गरे पछि मात्र उक्त रकम तपाईको खातामा जम्मा हुने कुरा बताई आइएमई तथा विभिन्न बैंक मार्फत पैसा पठाउन लगाई ठगी गरेका थिए ।

प्रहरीले उनीहरुको साथबाट फिरोज राय भाट नामको मतदाता परिचय पत्रको फोटोकपी ९० थान, सोही नामको नागरिकताको फोटोकपी १ सय ७ थान, सिटी एक्सेस मनी ट्रान्सफरको सक्कल खाली भौचर २४ थान, , प्रभु मनि ट्रान्सफरको सक्कल खाली भौचर १ सय ४९ थान, हिमाल रेमिटको सक्कल खाली भौचर ४२ थान, नगद नेपाली २ लाख ४० हजार रुपैयाँ तथा भारतीय ५ हजार ४ सय रुपैयाँ, मोवाइल, फोटो , एटीएम कार्ड लगायतका सामानहरु बरामद गरेको छ ।

यस्तै किसिमको अपराधमा संलग्न गिरोहका ६ जनालाई गत मंसिर १४ गते पक्राउ गरी ठगी तथा संगठित अपराध शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको समेत जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।