निर्वाचनको परिणामले दिएको सन्देश

विभिन्न किसिमका शङ्का आशङ्काबीच दुई चरणमा गरी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएर प्रत्यक्षतर्फ वामगठबन्धन दुई तिहाई मत पुगेको छ । निर्वाचनमा वाम गठबन्धनका प्रमुख दुई हस्ती वामदेव गौतम र नारायणकाजी श्रेष्ठ बाहेकका महìवपूर्ण व्यक्ति निर्वाचनमा विजयी बनेका छन् । 

प्रत्यक्षतर्फको निर्वाचन परिणामले सत्ताको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसलाई निकै कमजोर अवस्थामा पु-याएको छ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत धेरै प्रभावशाली नेताले पराजय भोगेका छन् । काँग्रेसले आफ्नो राजनीतिक जीवनमा यति ठूलो पराजय कहिल्यै भोगेको थिएन ।

२०५१ सालको मध्यावधि निर्वाचन र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काँग्रेस दोस्रो दलका रूपमा रहको थियो तर यति धेरै कमजोर थिएन । मुलुकमा बहुदलीय व्यवस्था स्थापना भएपछि अन्तरिम सरकारको नेतृत्व गर्नुभएका नेपाली काँग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई २०४८ सालमा भएको पहिलो आमनिर्वाचनमा पराजय हुनु भएपछि काँग्रेस पार्टीमा मात्र होइन मुलुकमै ठूलो हलचल मच्चिएको थियो । उहाँको पराजयलाई लिएर पार्टीमा धेरै विवाद चले ।

त्यतिबेला भट्टराई नेतृत्वको सरकारको दायित्व संविधान जारी गराएर त्यस अनुरूप आम निर्वाचन सम्पन्न गराउने थियो । यी दुवै काम उहाँले एक वर्षभित्र पूरा गराउनु भयो । पार्टी सभापति र सरकार दुवैको नेतृत्व गर्नुभएका भट्टराईले यस चुनावमा आफू पराजित भए पनि पार्टीलाई भने सुविधाजनक बहुमतमा पु-याउनु भएको थियो ।

यतिबेला शेरबहादुर देउवा पनि सरकार र पार्टी दुवैको नेतृत्वमा हुनुहुन्छ । सरकारको नेतृत्व गरेर उहाँले पूरा गर्नुपर्ने जिम्मेवारी तोकिएजस्तै थियो । बाँकी रहेको स्थानीय निकायको निर्वाचन सम्पन्न गरी आगामी माघ ७ भित्र प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने । उहाँले तोकिएको समयसीमा अगावै यो काम पूरा गराउनु भएको छ । विभिन्न किसिमका हिंसा मच्चाउन खोज्ने तìवलाई परास्त गर्दै शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन प्रधानमन्त्री देउवा सफल हुनु भएको छ ।

तीनै तहको निर्वाचन सम्पन्न भएपछि संविधान पूर्ण कार्यान्वयनको अवस्थामा पुगेको छ । वैशाख ३१ गते सुरु भएको स्थानीय निकायको चुनाव तीन चरणमा गरी असोज २ गते सम्पन्न भएको थियो भने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मङ्सिर १० र २१ गरी दुई चरणमा सफलताका साथ सम्पन्न भएको छ । संविधानमा संशोधन नगरी निर्वाचनमा भागै लिदैनौँ भन्ने अडानमा रहेको राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउनमा देउवा नेतृत्वको सरकारले सफलता प्राप्त गरेकै हो ।

राजपाले स्थानीय निकायको निर्वाचनमा भाग नलिएको भए प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन यो स्थितिमा सम्पन्न हुनसक्ने थिएन । विगतमा चुनाव गराउन नसकेको आरोप खेपेका देउवालाई यो पटक मुलुक सङ्घीय संरचनामा प्रवेश गराउने ऐतिहासिक निर्वाचन गराउने कार्यमा पूर्ण सफलता मिलेको छ । मुलुक र लोकतन्त्रको पक्षमा यो निर्वाचन महìवपूर्ण उपलब्धिका रूपमा स्थापित भएको छ ।

तर काँग्रेस पार्टीको सभापतिका रूपमा शेरबहादुर देउवा पूर्ण असफल र कमजोर साबित हुनुभएको छ । व्यक्तिगत रूपमा उहाँ विजय भए पनि सिङ्गो पार्टी पराजयको पीडामा परेको छ । यद्यपि काँग्रेसको लोकप्रिय मत भने त्यति घटेको देखिँदैन । काँग्रेस पराजयको प्रमुख कारण त चुनावको मुखमा दुई ठूला राजनीतिक दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलको एकता नै हो ।

फेरि काँग्रेसले यो तालमेलको आँकलन गरेको थिएन भन्ने होइन । यसको विरुद्धमा जाने रणनीति बनाउन सकेन वा जानेन त्यो अर्को कुरा चाहि सत्य हो । यही स्थितिको विश्लेषण गरेर उसले पनि विजयकुमार गच्छदारले नेतृत्व गरेको लोकतान्त्रिक फोरमसँग पार्टी एकीकरण ग-यो, राप्रपा, राप्रपा प्रजातान्त्रिक र नयाँ शक्ति लगायतका पार्टीसँग चुनावी तालमेल गरेकै हो । उम्मेदवारी दिइसकेपछि पनि दुई नं. प्रदेशमा केही मधेशी नेतालाई सघाउने रणनीति बनाएकै थियो ।

यो चुनावी रणनीति पनि काँग्रेसलाई चुनाव जिताउनमा सहयोगी हुन सकेन । किन कि यी दलको देशव्यापी सङ्गठन कमजोर थियो । त्यसमा पनि वाम गठबन्धनको मनस्थितिले तटस्थ मतदातालाई आकर्षित गराउन सक्यो । अब कसैलाई दोष दिएर उम्किनेभन्दा आफ्ना कमी कमजोरीको समीक्षा गरेर अगाडि बढ्ने यात्रा तय गर्नु वेश हुनेछ । जनता र कार्यकर्ताको कुरा कम सुन्ने र आफू र आफ्ना समूहका कुरालाई लाद्न खोज्ने प्रवृत्तिबाट काँग्रेस सच्चिनु जरुरी छ ।

पार्टीमा मौलाउँदै गरेको गुट र उप गुटले पनि काँग्रेसलाई कमजोर पारेको छ । यस चुनावमा पनि कसले कुन ठाउँमा जित्न सक्छ भन्नेभन्दा पनि कसको मान्छे कुन ठाउँमा भन्ने आधारमा टिकट वितरण गरियो । जुन कुरालाई कार्यकर्ता र मतदाताले रुचाएको देखिएन ।
सबैभन्दा ठूलो कुरो यस निर्वाचनले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतानित्रक गणतन्त्रलाई संस्थागत गराउने आधार खडा गरेको छ ।

लोकतन्त्रको प्राणको रूपमा रहेको निर्वाचन सम्पन्न हुनु मुलुककै लागि खुशीको विषय बनेको छ । यस किसिमको निर्वाचनले निरन्तरता पाउने अवस्था रहिरहनु पर्छ । यसले एउटा विधि र पद्धतिलाई स्थापित गराउन सहयोग गर्दछ । योसँगै केन्द्रदेखि समाजको तल्लो निकायसम्म सरकारको उपस्थिति हुने वातावरण निर्माण गरेको छ । आम नागरिकमा अब मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्छ भन्ने विश्वास बढाएको छ ।

अस्थिर राजनीतिका कारण पटक–पटक सरकार परिवर्तन भइरहने स्थितिको अन्त्य भई मुलुक समृद्धिको दिशामा अगाडि बढोस् भन्ने अपेक्षा राखेर ठूलो मत वाम गठबन्धनको पक्षमा प्रकट भएको हुन सक्छ । यस कुरालाई मनन् गरेर आगामी सरकारले आफ्नो कार्य दिशा तय गर्ने नै छ । विशेष गरेर वाम गठबन्धनले स्थिर सरकार, सुशासन, आर्थिक समृद्धि र सामाजिक सुराक्षाको विषयलाई प्रमुख चुनावी मुद्दा बनाएको थियो । यस मुद्दाको पक्षमा जनताले आफ्नो मत प्रकट गरेको देखियो । यसको सम्मान यो गठबन्धनले कसरी गर्ला त्यो हेर्न नै बाँकी छ ।
यस निर्वाचन विगतका निर्वाचनभन्दा धेरै हदमा मर्यादित र संस्कारयुक्त रहेको देखियो । प्रचार शैलीदेखि एक दलले अर्को दलप्रति गर्ने व्यवहारमा पनि निकै परिवर्तन आएको देखिएको छ । सामान्य एकाध हिंसात्मक घटनाबाहेक शान्त वातावरणमा चुनाव सकिएको छ । कतिपय ठाउँमा राजनीतिक दलका उम्मेदवार र कार्यकर्तासँगै मत माग्दै हिँडेको अवस्था पनि रह्यो ।

योसँगै चुनाव परिणामलाई सहर्ष स्वीकार गर्दै पराजित उम्मेदवार विजयी उम्मेदवारलाई सामाजिक सञ्जाल र प्रेस विज्ञप्तिमार्फत मात्र होइन स्वयं फूल माला र खादा लगाएर बधाइ दिइरहेको दृश्यले लोकतान्त्रिक संस्कार र मूल्यको उचाइ बढाएको छ । लोकतन्त्रको सुन्दर पक्ष यही हो । २०७० सालको निर्वाचनमा कम सिट आयो भनेर संविधानसभामा नै भाग लिदैनौँ भन्ने दलले लोकतन्त्रमा जनमतलाई कसरी स्वीकार गर्नुपर्छ भन्ने बझेको हुनुपर्छ । यस निर्वाचनमा काँग्रेसका धेरै उम्मेदवारले पराजय भोगेका छन् ।

निर्वाचनबाट समाजले नयाँ नेतृत्व मात्र प्राप्त गरेकोे छैन, यसले लोकतान्त्रिक परिपाटीलाई सुदृढ र सक्षमसमेत बनाएको छ । निर्वाचनमा मतदाताले देखाएको उत्साहपूर्ण सहभागिता र मतलाई दलहरूले गम्भीर रूपमा बुझेर उनीहरूको अपेक्षा पूरा गराउनेतर्फ आ– आफ्नो तोकिएको दायित्व र जिम्मेवारीमा रहेर काम गर्न सके भने मात्र निर्वाचनको सार्थकता रहनेछ ।

लोकतान्त्रिक शासन व्यवस्थालाई सबल र सक्षम बनाउन दरिलो प्रतिपक्षीको आवश्यकता पर्छ । यस अर्थमा लामो लोकतान्त्रिक लडाइँ लठेको दल नेपाली काँग्रेसले मतदाताले सुम्पिएको जिम्मेवारी पनि त्यही रूपमा बहन गर्ने दिशामा आफूलाई केन्द्रित गर्ने नै छ । अहिलेको निर्वाचन परिणामको सन्देश यही देखिएको छ ।