नेपाल प्रहरीको समाचार बुलेटिन……

२ माघ,काठमाडौं/ कर्तव्यज्यान मुद्धाका फरार अभियुक्त नरेशकुमार कुमाल चौधरीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको प्रहरीले सोमबार पक्राउ गरेको छ ।
निज चौधरी समेत रहेको कर्तब्यज्यान मुद्दाका प्रतिबादी चौधरी देश बाहिर लुकिछिपी बसेकोमा हाल नेपाल भित्रीएको भन्ने सूचनाका आधारमा उक्त ब्यूरोबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा बाँकेको कोहलपुर नगरपालिका–११ न्यूरोडमा फेला पारी पक्राउ गरेको हो ।

२०६७ जेठ २३ गते दाङ्गको गढवा गाउँपालिका–४ बस्ने ५५ बर्षीय मणिराम कुमाल चौधरी र ५० बर्षीया आशूकुमारी कुमाल चौधरीलाई धारिलो हतियार प्रहार गरी कर्तव्य गरी हत्या गरेको घटनामा चौधरी संलग्न रहेका थिए । प्रतिबादी नरेशकुमारलाई कानूनी कारबाहीको लागि व्यूरोले ईलाका प्रहरी कार्यालय गढवा दाङ्ग पठाएको छ ।

चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

कञ्चनपुर/बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौ घर भई भीमदत्त नगरपालिका–१८,कटान डेरा गरी बस्ने २५ वर्षीय राजु बोहोरालाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा कैलालीको धनगढी उपमहानगरपालिका–३ बस्ने ३० वर्षीया धर्मा बोहोरालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
डेरा कोठामा सुतिरहेको अवस्थामा धर्माले घाँटीमा चक्कु प्रहार गर्दा गम्भीर घाईते भएका राजुलाई उपचारार्थ महाकाली अञ्चल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

टेलरले च्यापी  ३५ बर्षीय चेतबहादुर खड्काको मृत्यु

वाग्लुंगको गौरीशंकर गाउँपालिका–२ जुगु सतिडाँडा भन्ने स्थानमा तामाकोशीबाट बालुवा लिई जुगुतर्फ जाँदै गरेको को.२त ६१६८ नम्बरको ट्याक्टरको हाईड्रोलिक पाईप फुत्किन गई टेलरले च्यापी सोही गाउँपालिका–२ बस्ने ट्याक्टर चालक ३५ बर्षीय चेतबहादुर खड्काको आइतबार घटनास्थलमै मृत्यु भएको छ ।

चालक दिपकको घटनास्थलमै मृत्यु

डडेलधुरा परशुराम नगरपालिका–५ भट्टराई टोल बस्ने २२ बर्षीय दिपक भट्टराईले चलाएको से.१त ९५८ नम्बरको ट्याक्टर रंगोल खोलामा बालुवा लिन जाने क्रममा आइतबार पल्टिदाँ चालक दिपकको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा सोही ट्याक्टरमा लेबर काम गर्ने नबराज भट्टराई सामान्य घाईते भएकोले उपचारार्थ ईलाका स्वास्थ्य कार्यालय जोगबुढा लगिएको छ ।

राजारामको आइतबार मृत्यु

कैलाली /  जोशीपुर गाउँपालिका–२ गढीस्थित सडकमा से.१ त ६८०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा भजनी नगरपालिका–१ बस्ने ३४ वर्षीय राजाराम चौधरी र सोही ठाउँ बस्ने हरिप्रसाद चौधरी घाईते भई उपचारार्थ कोहलपुर मेडिकल कलेज बाँके लगिएकोमा उपचारको क्रममा राजारामको आइतबार मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।