५ नम्बर प्रदेश सभा बैठक: मुख्यमन्त्री शंकर पोख्रेलले आज बिश्वासको मत लिनुहुने, प्रदेशसभामा ४ वटा संसदीय समिति र संसद सदस्यहरुको पोशाक निर्णार्थ पेश हुने

२७ फागुन,बुटवल/ प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज आइतबार बुटवल स्थित प्रदेश सभाको बैठकबाट विश्वासको मत लिनुहुने भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको शनिबार बसेको बैठकले आवश्यक कार्यसूची तय गरेको जानकारी गराएकोछ । आइतबार दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनुहुनेछ । ।

आईतबारकै बैठकमा अन्य दुई विधेयकहरू समेत प्रस्तुत गर्ने र ती विधेयकसहित अर्को मस्यौदा समेत सांसदहरूलाई छलफलका लागि उपलब्ध गराउने गरी कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आइतबारको प्रदेशसभा बैठकमा आर्थिक कार्यविधि ऐन, स्थानीय तहका सेवा सुविधा सम्बन्धी ऐन प्रस्तुत गरिनेछ, जुन प्रदेश सरकार र मातहतका सरकारका लागि महत्वपूर्ण विषय हुन् ।

फागुन १३ गतेका लागि पहिले तय भएको बैठक तयारी नभएको भन्दै बैठक नै नबसी फागुन १२ गते नै सूचना टाँसेर स्थगित भएको थियो ।
त्यसैगरी ५ नम्बर प्रदेशसभा सांसदहरुलाई संसद सञ्चालन तथा नियमावली मस्यौदा निर्माण समितिको बैठकले सांसदहरुको पोसाकमा पुरुष सांसदले कोट र टोपी तथा महिला सांसदले कोट र सारी अनिवार्य लगाउनुपर्ने प्रावधान राखिएको समिति सदस्य हरीप्रसाद अर्यालले जानकारी दिनुभएको छ । कोट र सारीको रंग निर्धारण गरिएको छैन । रंग निर्धारण गर्ने जिम्मेवारी सभामुख र कार्यव्यवस्था समितिलाई दिइएको छ ।

प्रदेशसभामा ४ वटा संसदीय समिति बनाउने सहमति भएको छ । सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत साधन, विधायन तथा आन्तरिक मामिला र सामाजिक विकास समिति बनाउने निर्णय गर्ने भएको छ ।

संसद बैठकको गणपुरक संख्या एक चौथाई राखिएको छ । २१ जना सम्म सांसद उपस्थित भए पनि बैठक सञ्चालन हुनेछ । प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा आइतबार प्रदेशसभा बैठकमा टेबल गरिनेछ ।

गत फागुन ६ गते बसेको संसद बैठकले एमालेका सांसद रिजालको अध्यक्षतामा समिति गठन गरेको थियो । १५ दिनको म्याद पाएको समितिले थप ५ दिन लगाएर मस्यौदालाई शनिबार अन्तिम रुप दिएको हो ।