नेपालमा ५६ हजार ७ सय ८८ जनामा कोरोना संक्रमण

३० भदौ, नेपालगञ्ज / पछिल्लो २४ घन्टा मा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गरिएकोमा अन्य दिन भन्दा सबैभन्दा धेरै १ हजार ४ सय ५९ मानिसमा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा ७३१ सहित १ हजार ४ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो।

यो पछिल्लो रिपोर्ट सँगै मंगलबार सम्म नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार १५ हजार ७७९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ७ हजार ६४० छन् । संस्थागत आइसोलेसनमा ८ हजार १४९ जना रहेका छन्। क्वारेन्टाइनमा ७ हजार २५० जना रहेका छन्।

२४ घण्टामा १ हजार ६२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार १७४ जनाको आइसीयूमा र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। कोरोनाले २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, र रुपन्देहीमा कोरोनाका ५ सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्ला, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्।

नेपालमा कोरोना भाइरस संक्रमणबाट मंगलबार सम्म मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।

सर्लाहीका ६४ वर्षीय पुरुष, सिरहाकी ३५ वर्षीया महिला, बाराका ५५/५५ वर्षका एक महिला र एक पुरुष, काठमाडौँका ८६ वर्षीया महिला र ३४, ९६ र ६६ वर्षीय पुरुष, मकवानपुरका ६१ वर्षीय पुरुष, रुपन्देहीकी ६४ वर्षीया महिला र कपिलवस्तुका ५८ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ