नेपालमा हालसम्मकै दैनिक उच्च २ हजार २० जनामा कोरोना संक्रमण, ३ सय ९० जनाको मृत्यु

photo: बाँकेमा केही दिन अघि कोरोना भाइरस संक्रमित भइ मृत्यु भएका व्यक्तिहरूको अन्तिम दाहसंस्कार गर्ने क्रमको हो ।

२ असोज, नेपालगञ्ज / नेपालमा पछिल्लो २४ घन्टामा ११ हजार ४ सय ५८ पीसीआर परीक्षणमा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो तथ्याङ्क नेपालमा एक दिनमा हुने हालसम्मकै उच्च कोरोना संक्रमितहरुको संख्या देखिएको रहेकोछ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ७१ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ९४ हजार ३ सय ७३ परीक्षणहरु गरिएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ७३७ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ जना रहेको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ८ सय ५९ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।