ढकेरीबाट गएको जिप सल्यानमा दुर्घटना: ८ जनाको मृत्यू (नामावली सहित)

नेपालगञ्ज १२ असोज /  बांकेको ढकेरीमा आयोजित बिवाह समारोहमा सहभागी भएर सल्यानको कपुरकोट तर्फ गईरहेका ब्यक्तीहरु बुधबार बिहान करिब २ बजे सल्यानको कपुरकोट नजिकै मुलपानीमा जीप दुर्घटना हुँदा ९ जना सवार जिपमा ८ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन ।

सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मा पर्ने मुलपानी भन्ने ठाउंमा सडक किनाराबाट करिब २ सय मिटर तल खसेर रा१ज ५६३ नम्बरको डबल क्याब भएको जिप दुर्घटना भएको सल्यान प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दिपेन्द्र केसीका अनुसार दुर्घटनामा मृत्यु भएका ७ जना कपुरकोट गाउँपालिका वडानम्बर ६ जलबाङका र १ जना रिमका रहेका छन् । मृत्यु हुनेमा ७ जना पुरुष र १ जना महिला रहेका छन् ।

केसीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा कपुरकोट गाउँपालिका–६ जलबाङका २१ वर्षीय चालक जित बहादुर बोहरा, ३७ वर्षीय धर्म ओली, ४० वर्षीय टोप बहादुर ओली, उनका ११ वर्षीय छोरा बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षीया कुमारी ओली, रिमका ३५ वर्षीय ललित ओली रहेका छन् ।

दुर्घटनामा परी सख्त घाइते भएका कपुरकोट गाउँपालिका वडानम्बर ६ कै ३५ वर्षीय तीलक ओलीको दाङको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।