Skip to content
- कमल पन्थी,
- गुलरिया, बर्दिया
विदेशमा रोजगारीको प्रलोभन देखाएर भारत हुँदै दुई महिलालाई लैजाने क्रममा इलाका प्रहरी कार्यालय, मैनापोखरले सीमावर्ती क्षेत्रबाट आइतबार उद्धार गरेको छ । बर्दियाको सीमावर्ती बढैयाताल गाउँपालिका ८ कण्ठपुर रिमझिम चोकबाट दुई महिलालाई उद्धार गर्नुका साथै बाँके बैजनाथ ६ का २७ वर्षीय प्रकाश तिरुवा पक्राउ परेका छन् ।
इप्रका मैनापोखरका प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लको कमाण्डमा गएको टोलीले विषेश सुराकीका आधारमा पक्राउ गरेको हो । प्रनि मल्लले काठमाडौंस्थित थर नबताउने माया नाम गरेकी महिला दलालले भारतको सीमावर्ती मिहीपुरुवा पुराइदिए बापत १० हजार दिएको भन्दै पठाएको पक्राउ परेका तिरुवाले बयान दिएको बताए ।
उद्धार भएकी महिला गुल्मी र नवलपरासी जिल्लाका भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । पूर्वी नाकामा कडाइ हँुदै गएपछि मानव तस्करीका दलालले स्थलमार्ग हँुदै बर्दियाको बढैयाताल गापाको सीमावर्ती क्षेत्रलाई रोज्दै आएका छन् ।
नौ महिनाअघि बढैयाताल गापाको कालिका र जमुनी नाका हुँदै तीन किशोरीलाई भारत पुर्याउन जान लागेका एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्लाको नेपालभारत सीमाबाट ती किशोरीलाई प्रहरीले उद्धार गरेका हुन् । उनीहरू गोर्खा जिल्लाका करिब १८ वर्षमुनिका किशोरी भएको प्रहरीले जनायो ।
विभिन्न प्रलोभनमा नेपाली महिलालाई बर्दियाको ताराताल जमुनी र कालिकाका विभिन्न नाकाबाट भारत हुँदै खाडी मुलुक पुर्याउने दलाल सक्रिय भएका छन् । नेपाली सुरक्षा निकायको जनशक्ति कम भएको र भारतीय सीमा घना जंगल भएकाले यस नाका दलालले बढी सुरक्षित मान्दै आएका छन् ।
प्रहरीले दस महिनाअघि जिल्लाका ती नाकाबाट विभिन्न प्रलोभन देखाई भारत लैजान लागेका ६ जनालाई पक्राउ गरी कारबाही चलाएको छ । ती दलालले नौ महिलालाई ललाइफकाई कुवेत लैजान लाग्दा पक्राउ परेका हुन् । पक्राउ परेका दलालले सीमावर्ती भारतको मिहीपुरुवा बजारमा नेपाली महिलालाई दिल्ली जाने बसबाट लैजाने तयारीमा थिए ।
पूर्वी नाकामा कडाइ गरेपछि मानव तस्करले बर्दियाका विभिन्न नाकाबाट नेपाली महिलालाई दिल्लीबाट श्रीलंकाको राजधानी कोलम्बो हुँदै खाडी मुलुक पुर्याउने गरेको अभियोगीले खुलासा गरेका छन् ।
हाम्रो संरचना । २२ कार्तिक २०७४, बुधबार २१:५०