प्रदेश राजधानी माग्दै आन्दोलन गर्ने दंगाली,डोटीली र धनकुटा बासीहरुजिल्ला बन्द गरेर सडकमा आगो बालेर ताप्दै

३ माघ,दाङ/  प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउन माग गर्दै आन्दोलन थालेका स्थानीय केही अगुवाले बुधबारदेखि दाङमा बन्द आह्वान गरेर आन्दोलन गरेका छन ।

दाङमा बन्दका कारण लामो तथा छोटो दूरीका गाडी चलेका छैनन् भने उद्योगधन्दा, कलकारखाना, शिक्षण संस्था सबै बन्द भएका छन् ।

बन्द सफल पार्न भन्दै स्थानीय बासिन्दा सडकमा आएर आगो बालेर ताप्ने गरेका छन् । दाङ प्रादेशिक सरोकार समितिको अगुवाईमा जिल्लाका घोराही, तुलसीपुर, देउखुरी, भालुवाङमा, बिजौरी लगायतका स्थानमा स्थानीय उद्योग बाणिज्य संघको आह्वानमा बुधबार बिहानैदेखि बजार बन्द गरी प्रर्दशन सुरु भएको छ ।

दाङलाई राजधानी तोक्न सरकार बाट पठाइएको प्राबिधिक टोलीले दांगको लमहीमा  राजधानी तोक्ने परामर्श सरकारलाई बुझाएको छ ।

यस्तै गत पुस १९ देखि २४ गतेसम्म लगातार बन्द रहेर केही दिन खुलेको डोटी जिल्ला बुधबार फेरि बन्द भएको छ । प्रदेश नं. ७ को राजधानी दिपायल कायम गर्न माग गर्दै बुधबारदेखि फेरि बन्द आह्वान गरिएको छ ।

आन्दोलन संयोजन समितिको बैठकले बुधबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बजार, सरकारी तथा गैरसरकारी कार्यालय, यातायात, उद्योग कलकारखाना, व्यापार व्यवसाय पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । सरकारले प्रदेशको प्रशासनिक केन्द्र दिपायलमै तोक्नु पर्ने माग सहित बन्द आव्हान गरिएको समितिले जनाएको छ ।

यस्तै प्रदेश राजधानी दिपायलमै हुनुपर्ने मागसहित अहिले मंगलबार राति ८ बजे क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडि शान्तिपूर्ण मशाल जुलुस प्रदर्शन गरिएको छ ।

सरकारले डोटेली जनतालाई अन्याय गर्ने गरी प्रदेश नं. ७ को राजधानी दिपायल बाहेक अन्यत्र तोकेमा डोटी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिएका सबैले आ-आफ्नो नागरिकता सोही कार्यालयमार्फत सरकारलाई फिर्ता गर्ने निर्णय भएको आन्दोलन संयोजन समितिका सदस्य दिपक खड्काले जानकारी दिएका छन् । ‘हामीले पाएको अधिकार कटौती गरेर गैरनागरिकको व्यवहार गरिन्छ भने नागरिकता प्रमाण पत्रको के काम ?’ खड्काले भने, ‘यदि हामीमाथी अन्याय भयो भने जस्तोसुकै मूल्य चुकाउन पनि तयार छौं ।’

यसैबीच प्रदेश नं. ७ को राजधानी दिपायलमा हुनुपर्ने माग राख्दै डोटीमा क्रियाशील राजनीतिक दलहरुले संयुक्त बिज्ञप्ती जारी गरेका छन् ।

डोटीमा क्रियाशील नौ दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा राष्ट्रवादी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति नेपाल पार्टी र राप्रपा प्रजातान्त्रिकले संयुक्त बिज्ञप्ती जारी गर्दै राजधानीको माग गरेका हुन् ।

त्यसैगरी प्रदेश नंं १ को राजधानी बनाउन माग गर्दै आन्दोलनकारीले धनकुटा बजार र कोशी राजमार्गमा यातायात बन्द गराएका छन् ।
मंगलबार क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेका धनकुटाका आन्दोलनकारीले बुधबार बिहानैदेखि बन्द गरेका हुन् । बन्दकर्ताले संखुवासभाबाट धरानका लागि छुटेको एक मोटरसाइकल तोेडफोड गरेका छन् ।
बन्दकर्ताले को २६ प ५६११ नम्बरको पल्सर मोटरसाइकल रोकेर तोडफोड गरेको धनकुटा ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले बताउनुभयो । प्रादेशिक राजधानीको माग गर्दै धनकुटा बासिन्दाले ३४ दिनदेखि निरन्तर आन्दोलन गरिरहेका छन् ।