अमृता अनमोल
७ जेठ,बुटवल/ बालविवाह विरुद्ध रूपन्देहीमा सरकारी तथा गैरसरकारी निकायबाट धेरै रकम खर्च गरेर धेरै अभियान सञ्चालन गरिए पनि बालविवाह रोक्ने कार्य किशोर किशोरी जुटेर आफ्नो विवाह आफैं रोक्न थाल्ने कदम बढि प्रभावकारी बन्दै गएको छ ।
यसको उदाहरण हुन्, मर्चवारी गाउँपालिका २ बगौलीकी उर्मिला अग्रहरी । उनले १४ वर्षमा हुन लागेको आफ्नो बिहे आफैंले रोकिन् । ‘सुरुमा बाआमाले मान्नुभएन,’ उर्मिलाले भनिन्, ‘साथीहरूलाई समेत बोलाएर सम्झाएपछि उहाँहरूले मान्नुभयो ।’ अहिले उर्मिला १७ वर्षकी भइन् । बगौली माविबाट एसईई दिएर बसेकी छन् । उर्मिलाको भनाइमा ३ वर्षअघि फागुनमा घरमा नचिनेका ६–७ जना मान्छे आए । कुरा गर्दागर्दै आमा रुन थालिन् । उनी छक्क परेर आमालाई सोधिन् ।
आमाले मेरो बिहे गरिदिन लागेको बताइन् । सुरुमा उनलाई पनि क्वाँ–क्वाँ रुन मन लाग्यो तर रोइनन् । बरु बाबा र आमालाई एक ठाउँ बोलाएर सम्झाइन् । उनीहरूले नमानेपछि गाउँमा गठन भएको बालक्लब तथा किशोरकिशोरी सञ्जालका साथी बोलाइन् । उनीहरूले सानैमा बिहे गर्दा हुने नोक्सानीबारे बुझाएपछि बिहे होइन पढाइमा खर्च गर्न आग्रह गरे । उनीहरूको कुरा माने, बिहे रोकियो । ‘हामी २७ जना साथी मिलेर अरू पनि ४ साथीको बिहे रोक्यौं,’ उनले भनिन्, ‘संघ/संस्थाले भन्दा हाम्रा कुरा बाआमाले खानु हुँदोरहेछ ।’
मर्चवारी गाउँपालिका ७ मञ्जरियाकी तमन्ना खातुनले पनि आफ्नो विवाह आफैंले रोकिन् । १३ वर्षमा बाआमाले विवाह गरिदिन खोजेपछि उनले साथी गुहारिन् ।
‘बिहे गरिदिन लागेको थाहा पाएपछि सबै साथी मिलेर घर गयौं,’ तमन्नाले भनिन्, ‘१२ पास गर्दासम्म बिहे नगरिदिनुस् भनेर आग्रह गर्यौं ।’ केहीबेर आनाकानीपछि बाबु मकसुद अहमदले बिहे रोके ।
‘मैले पढाइ अझ राम्रो बनाउने, कुनै गलत काम नगर्ने र भागेर बिहे नगर्ने विश्वास दिलाएँ ।’ तमन्नाले भनिन्, ‘यसपछि पापाममी खुसी हुनुभयो ।’ सीमा क्षेत्रकी उनी अहिले भारतको रामप्रभन्स बालिका इन्टर कलेज कोलहीमा कक्षा १२ पढै छिन् ।
बालिकामात्रै होइन, रुपन्देहीका बालकको पनि विवाह हुने गरेको छ । समूहमा आबद्ध हुन र क्लब गठन गर्न थालेपछि बालकले पनि सानो उमेरमा हुने आफ्नै बिहे रोक्न थालेका छन् । त्यसमध्येका हुन्, समरीमाई गाउँपालिका १ पिपरीका राममणि पासवान ।
उनले १५ वर्षमा हुन लागेको विवाह आफ्नै पहलमा रोके । सुरुमा सञ्जालका साथीसहित भएर बाआमालाई सम्झाए । निधो गरिसकेको विवाह रोक्दा बालिका पक्षले दुस्ख माने । यसपछि शिक्षकको सहयोगमा उनीहरूलाई घरमै बोलाए । ‘आफन्त भएकाले सम्झौता तोडिएन तर विवाह २० वर्ष पुगेपछि गर्ने सहमति भयो ।’ राममणिले भने, ‘साथीहरूको सञ्जाल नभएको भए यो सम्भव थिएन ।’ अहिले १६ वर्षे राममणिले मुडिला माविमा कक्षा ९ पढै छन् । उनले विवाह गर्न निधो गरेकी पश्चिम अमुवाकी पूजा पासवान कक्षा ८ मा पढै छिन् ।
समूहमा आबद्ध भएकै कारण ओमसतिया गाउँपालिका ६ छोटकी रामनगरका रामगुलाव यादवले पनि आफ्नो बालविवाह रोक्न सफल भए । कक्षा १० मा पढ्दा उनलाई बिहे गर्न घरबाट निकै दबाब आयो । १५ वर्षे उनले बाआमालाई निकै सम्झाए । बालविवाहले हुने हानिबारे समूहमा छलफल भएका सबै विषय सुनाए ।
बाआमाको मन पग्लियो । विवाह रोकियो । अहिले रामगुलाव १८ वर्षका भए । जेटिए पढिरहेका छन् । ‘पढाइ सिध्याएपछि जागिर खाएरमात्रै बिहे गर्ने सोचेको छु,’ रामगुलाबले भने, ‘बाआमाले पनि हुन्छ भन्नुभएको छ ।’ नेपालको कानुनमा २० वर्षमुनिको विवाहलाई अवैध मानिन्छ तर रूपन्देहीका दक्षिण भेगका गुप्ता, ठहरे, कुर्मी, लोध, हरिजन, बाजिया, कलवार, पासी, पासवान, मौर्य, थारूलगायतमा अझै बालविवाह चलन कायमै छ ।
पछिल्लो समय शिक्षित र सम्पन्न परिवारमा यस्तो चलन केही घटे पनि अधिकांशमा उस्तै छ । अरूको पहलमा मात्रै यो सम्भव नभएपछि बालबालिका आफै सञ्जाल बनाएर अघि बढेका हुन् । बालविवाह बढी हुने साबिकका १५ गाविसमा यस्ता समूह छन् ।
उनीहरूलाई अभियान सञ्चालन गर्न ती गाउँपालिकाले सहयोग गरेका छन् । ‘सञ्जालमा आबद्ध भएपछि निकै फाइदा भएको छ,’ रायपुरकी किशोरी संवाद केन्द्रकी सुशीला पासीले भनिन्, ‘बालविवाह रोक्नमात्रै होइन, किशोरावस्थामा देखिने समस्यासम्बन्धी कुरा राख्न र समाधान गर्न पनि निकै सजिलो भएको छ ।’
रूपन्देहीको सबैभन्दा बढी बालविवाह हुने क्षेत्र हो मर्चवार । जसमा ४ गाउँपालिका छन् । किशोरकिशोरी आफंैले विवाह रोक्न र यसविरुद्ध वकालत गर्न थालेपछि केही कमी हुँदै गएको कोटहीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद घिमिरेले बताउनु भयो ।कान्तीपुर अनलाईनमा समाचार फिचर प्रकाशित छ ।
हाम्रो संरचना । ७ जेष्ठ २०७५, सोमबार १५:१३