सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

१८ जेठ, बाजुरा । बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

बूढीनन्दा नगरपालिका–१ राउतबाडाकी २२ वर्षीया रमिला रोकायाको सालनाल अड्किएपछि आज उपचारका लागि हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको सामाजिक विकासमन्त्री कृष्ण सुवेदीका स्वकीय–सचिव लोकेन्द्र धामीले बताउनुभयो । सामाजिक विकासमन्त्री कृष्ण सुवेदीको निर्देशनमा रोकायालाई सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको धामीले जानकारी दिनुभयो ।

सुत्केरी हुन नसकेको खबर पाएपछि सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदीको पहलमा हेलिकप्टरमार्फत कोहोलपुर मेडिकल कलेज लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । बाइस वर्षीया रमिलाको बाजुरामा उपचार गर्न सम्भव नभएपछि नेपालगञ्ज पठाइएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कँुवरले जानकारी दिनुभयो ।

सुत्केरीको रगत धेरै बगेको छ, दुई दिन भयो बोल्नसमेत नसकेको आफन्तले बताएका छन् । हेलिकप्टरबाट नेपालगञ्ज पठाएपछि अब ज्यान जोगिन्छ की भन्ने आशा रहेको उनीहरुको भनाइ छ । बाजुरामा मात्रै सामाजिक विकास मन्त्रालयको पहलमा यसअघि तीन जना सुत्केरीकोे हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रासस