चितवनमा मंगलबार राती बस र ट्रक ठोक्किँदा ४ जनाको मृत्यु, १७ घाइते

दुर्घटनामा परेको यात्रु बहाक बस

२३ साउन,चितवन/ पूर्व–पश्चिम राजमार्गकमा पर्ने चितवन जिल्लाको को रत्ननगर नगरपालिका वडा नम्बर १० भानुचोकमा मंगलबार राति बस र ट्रक एक आपसमा ठक्कर खाँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्।

पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक र काठमाडौंबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

राति करिब ११ बजे भएको उक्त दुर्घटनामा परी ट्रकका चालक रौटहट चन्द्रपुर नगरपालिका–२ का ३४ वर्षीय मोहन घिसिङ, सहचालक सोही ठाउँमा ३० वर्षीय बुद्धिमान लामा र बसका यात्रु ताप्लेजुङको फुङलिङ नगरपालिका–१ की ४२ वर्षीया तारा बराल र काठमाडौं थानकोट–३ का ४८ वर्षीय विष्णु प्रसाद थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा चितवन मेडिकल कलेजमा ३ जना र कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा १ जनाको राति नै मृत्यु भएको हो। घाइते १७ जनामध्ये १३ जनाको कलेज अफ मेडिकल साइन्सेजमा र ४ जनाको चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ।