सरकारी गाढी दुरुपयोग गरि दशैमा सररर….. घर जाने हाकिमको सपना बांके प्रशासनका कारण अपुरै

सार्वजनिक सम्पत्तिको दुरुपयोगको एक नमुना।

२ कार्तिक, नेपालगञ्ज/ सार्वजनिक सरकारी सम्पतीको दुरुपयोग रोकथाम तथा नियन्त्रणका लागि बांके प्रशासनले आज आईतबार देखी सम्वन्धीत निकायबाट लिखित स्वीकृत नलिएका सवारी साधनहरु नियन्त्रणमा लिने अभियान सुरुवात गरेको छ ।

दशै तथा तिहारको समयमा आफनो ओहदाको दुरुपयोग गरि सरकारी स्रोत र साधनको मनलाग्दी प्रयोग गर्ने कार्यलाई दुरुत्साहन गर्न बांके प्रशासनले आफनो कार्यक्षेत्रमा कडाईका साथ चेकिंग गरि नियन्त्रणमा लिने क्रममा आज बिहानै बांकेको कुसुममा २ वटा सरकारी जिप नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालय बांकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलका अनुसार जिल्ला सुरक्षा समिति र माथील्लो निकायको आदेश समेतलाई मध्य नजर गर्दै सरकारी सम्पतीको दुरुपयोग रोक्न प्रजिअ राम बहादुर कुरुम्वांगले मातहत सबै निकायमा सवारी साधन चलाउने अनुमती र प्रक्रिया पुरा गरि कार्यालयको काममा हिडेका सवारी साधन बाहेक अन्य सबै सरकारी सवारी साधन नियन्त्रणमा लिन आदेश दिएको जानकारी दिनुभएको छ ।

आईतबारबाट सरकारी सम्पतीको दुरुपयोग रोक्ने क्रममा बाँँके जिल्लाका बिभिन्न ठाउंहरुमा प्रहरी मार्फत छडके चेकिंग र सम्वन्धीत नियमित प्रहरी पोष्टहरुमा कडाईका साथ नियन्त्रण गर्ने अभियान सुरुवात गरिएको र सोही क्रममा आईतबार बिहानै बांकेको कुसुम स्थित प्रहरी पोष्टले २ वटा सरकारी जीप नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका २ वटा सवारी साधनहरमा सुर्खेत स्थित डिभिजन सडक कार्यालय र नेपालगञ्ज स्थित पूर्वाधार कार्यालयको रहेको छ । मन्त्रालयको काममा जान लागेको बताए पनि सम्वन्धीत मन्त्रालयमा को संग के काम भन्ने बिषयमा समेत बांके प्रशासन बाट सोधपुछ भइरहेकाले गाढी नियन्त्रणमा लिइएको प्याकुरेलले बताउनु भयो ।

दशै बिदामा घर जान बिभिन्न कार्यालय प्रमुखहरुले सरकारी सवारी साधन दुरुपयोग गरेर घर लैजाने कार्यले सार्वजनिक सम्पतीको दुरुपयोग हुने भएकाले यसरी कडाईका साथ सरकारी सवारी साधनको दुरुपयोग रोक्ने अभियान बांकेबाट सुरुवात गरिएको छ ।

सरकारी सम्पतीको रुपमा रहेका सरकारी गाढी सार्वजनिक सरकारी काममा बाहेक अन्य समयमा पनि दुरुपयोग गरेर सररररर… हुइकिने हाकिमहरुको सपना बांकेले प्रशासनले पूर्व-पश्चिम राजमार्गमा कडाईका साथ चेकिंग सुरुवात गरेकाले यो दशैमा अधुरै रहने देखिएको छ ।