कैलालीको टिकापुरकी इन्द्रमायां जस्तै अकालमै मर्न बाध्यछन क्यान्सर पिडित महिलाहरु: नेपालमा १ बर्षमा मात्रै २२ सय ४४ जनामा पाठेघरको मुखमा क्यान्सर

 

रिपोट तयार कर्ता : समृद्धा के.सी.

३१ असोज, नेपालगञ्ज/  कैलालीको टीकापुरकी तीन सन्तानकी आमा इन्द्रमाया आफनो श्रीमान सहित सुखद जीवन बिताईरहनु भएको थियो । एक दिन इन्द्रमायाले आफनो पिसाबमा एक्कासी सेतो पानी बगेको देख्नुभयो।

शुरुमा त खासै वास्ता नगरेर इन्द्रमाया केही दिनमा निको होला भनेर घरमै बस्नु भयो। इन्द्रमायांले सोचेजस्तो निको भएन अनी उहां उपचारको लागि नजिकैको टिकापुर अस्पतालमा जानुभयो। अस्पतालमा चिकित्सकको सामान्य चेकजांच गरेर खासै समस्या छैन, औषधी खाएपछि ठीक हुन्छ भनियो र उहां खुशी हुँदै सन्चो हुने बिश्वासका साथ औषधी लिएर फर्किनुभयो ।

इन्द्रमायांले औषधी खाएको केहि दिन त निको भएजस्तो भयो तर त्यसको केही समयपछि समस्या झनै बल्झियो। पिसाबमा सेतो पानी बग्ने मात्रै होइन गन्हाउन पनि थाल्यो। यौन सम्पर्क राख्दा दुख्ने, रगत आउने, ढाड दुख्ने हुनथाल्यो। तौल पनि घट्दै गयो। उहां फेरी टिकापुर अस्पताल नै पुग्नुभयो । यसपाली भने अस्पतालका चिकित्सकले पुरानो रिपोर्ट समेत हेदै औषधीले काम नगरेपछी स्त्री रोग विशेषज्ञसँग जाँच गराउन सुझाव दिनुभयो ।

चिकित्सको सल्लाह अनुसार इन्द्रमायां कैलालीको टिाकापुरबाट उपचारका लागी काठमाडौं शिक्षण अस्पतालका स्त्री रोग विशेषज्ञकहाँ पुग्नुभयो। त्यहाँ उहांको अन्य जाँचसँगै पाप स्मेयर परीक्षण पनि गरियो। त्यो परीक्षणले पाठेघरको मुखको क्यान्सर भएको सम्भावना देखायो। अनि बायोप्सी गरियो। बायोप्सीबाट थाहा भयो, क्यान्सर त तेस्रो चरणमा पुगिसकेको रहेछ। त्यहाँबाट थप उपचारका लागि काठमाडौं क्यान्सर सेन्टर जानुभयो। त्यहां आजभन्दा झयडै १८ महीना पहिला उहांको क्यान्सरको उपचार भयो। पाठेघर फालियो। उहां निको भएर घर फर्किनुभयो।

६ महीनापछि फेरी इन्द्रमायांको स्वास्थ्य अवस्था बिग्रँदै गयो। मिर्गौलामा समस्या भएको भन्दै उहां फेरी उपचारको लागि काठमाडौं आउनुभयो । काठमाडौं आएर जाँच गराउँदा मिर्गौलानेर ससाना गीर्खा देखिए। बायोप्सी गराउँदा त्यहाँ पनि क्यान्सर चौथो चरणमा पुगिसकेको पत्ता लाग्यो।

पहिले पनि क्यान्सर जितिसकेकाले इन्द्रमायालाई फेरी पनि जितिन्छ भन्ने आँट त थियो। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उहांको उपचार शुरु भयो। ६ महीनासम्म केमोथेरापी गरिने भएपछि उहां श्रीमान सगै आउनेजाने गरिरहनुभएको थियो । तीनवटा केमो थेरापीसम्म इन्द्रमायांको स्वास्थ्य अवस्था ठीकै थियो। तर त्यसपछि भने स्वास्थ्य अवस्था बिग्रँदै गयो।

इन्द्रमायांको उपचारमा संलग्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डाक्टर अरुण शाहीका अनुसार इन्रमायां अस्पताल आउन ढिलो गरेकाले उहांको क्यान्सर आन्द्रा र फोक्सोसम्म फैलिसकेको थियो । त्यसैले उहांलाई बचाउन सकिएन। उपचार शुरु भएको ६ महीनामा इन्द्रमायांको निधन भयो।”

पाठेघरको मुखबाट शुरु भएको क्यान्सर शरीरका अन्य अंगसम्म फैलिँदै गएपछि इन्द्रमायाले ज्यान नै गुमाउनुप¥यो। इन्द्रमाया मात्र होइन पाठेघरको मुखको क्यान्सरबाट वर्षेनी सयौं महिलाले ज्यान गुमाउनुपर्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० मा मात्र नेपालमा २ हजार २ सय ४४ जना महिलालाई पाठेघरको क्यान्सर पुष्टि भएको थियो। नेपालमा महिलालाई सबैभन्दा बढी हुने क्यान्सर नै पाठेघरको मुखको क्यान्सर हो। पाठेघरको मुखको क्यान्सर हुनेमध्ये बढीजसो ४० देखि ६० वर्ष उमेर समूहका रहनुभएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार बिश्वभरी हरेक वर्ष ५ लाख जति महिलालाई पाठेघरको मुखको क्यान्सर हुनेगर्छ। तीमध्ये २ लाखले जीवन गुमाउँछन्। विश्वका महिलाहरुमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर तेस्रो स्थानमा पर्छ।

के हो पाठेघरको मुखको क्यान्सर ?

स्त्री क्यान्सर रोग विशेषज्ञ डाक्टर सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमाभाइरस (एचपीभी)को संक्रमणबाट पाठेघरको मुखको क्यान्सर हुन्छ। पाठेघरको मुखको क्यान्सर भएकामध्ये ९५ प्रतिशतलाई यही भाइरसको संक्रमण भएको पाइएको छ। शारीरिक सम्बन्धमा सक्रिय हुने २० देखि २५ वर्षको उमेर समूहका महिलामा यो भाइरस अत्याधिक पाइन्छ। ३० वर्षको उमेर कटेपछि भने ८० प्रतिशत महिलामा यो भाइरस हराउँदै गएको पाइएको छ।

डाक्टर सरिताका अनुसार ३० वर्ष नाघिसक्दा पनि ह्युमन प्यापिलामा भाइरस रहिरहेका महिलाहरु जुन धूमपान, मद्यपान बढी गर्छन् र धेरैसँग यौन सम्बन्ध गर्नेमा पनि यो पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छपाइएको छ ।

कसरी पत्ता लगाउने ?

समयमै परीक्षण गर्ने हो भने पाठेघरको मुखको क्यान्सर भए/ नभएको पहिला नै थाहा पाउन सकिन्छ। डाक्टर सरिताका अनुसार पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने सबैभन्दा भरपर्दो माध्यम त एचपीभीडीएनए स्क्रिनिङ हो।
पाठेघरको मुखमा ह्युमेन पापिलोमा भाइरसको सङ्क्रमण छ/ छैन भनेर हेर्न मोलिक्युलर ल्याबमा परीक्षण गर्नुपर्छ। तर यो मंहगो पर्ने भइएकाले नेपालमा त्यति प्रयोगमा ल्याइएको छैन। एचपीभीडीएनए परीक्षण त्यति प्रयोगमा नल्याए पनि नेपालमा पाप स्मेयर र भीआइए परीक्षण गरिन्छ।

पाप स्मेयर परीक्षणका लागि पाठेघरको मुखबाट बगिरहेको थोरै पानी निकाली विभिन्न विधि अपनाएर जाँच गरिन्छ। डाक्टर घिमिरेका अनुसार पाप स्मेयरका लागि पानी निकाल्दा खराब कोषिका पर्ने सम्भावना धेरै कम हुने गर्दछ र नतिजा आउने बेला सम्ममा धेरै ठाउँमा जाँच गर्नु पर्ने भएकाले सामान्य ध्यान दिइनएन भने पनि यसको नतिजा सहि नआउनसक्छ।

नेपालमा पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने सहज र सर्वसुलभ परीक्षण हो, भीआइए परीक्षण। एकदमै साधारण र ३ दिने तालिम प्राप्त स्वास्थ्यकर्मीले हेल्थ सेन्टरमै बिना प्रयोगशाला पनि यो परीक्षण गर्न सक्छन्।
एसेटिक एसिडलाई डिस्टिल वाटरमा मिसाएर कपासमा भिजाई पाठेघरको मुखमा लगाएर सेतो दाग छ, छैन भनेर हेर्ने विधि हो यो। “यसमा मुख्यतः सेतो दाग देखियो, देखिएन भनेर हेर्न सक्षम बनाएपुग्छ”, डा. घिमिरे भन्नुहुन्छ।

परीक्षण गर्दा देखिने सेता टिकाजस्ता दाग देखिए भने क्यान्सर हुनसक्ने सम्भावना देखिन्छ। त्यस्तो सम्भावना भएका महिलाको बायोप्सी लगायतका परीक्षणबाट क्यान्सर भए, नभएको सुनिश्चित गरिन्छ।

डाक्टर सरिताका अनुसार पाठेघरको मुखको क्यान्सर परिक्षणका लागि जनशक्ति पनि त्यति नचाहिने, तत्काल नतिजा आउने र सर्वसुलभ भएकाले विकासोन्मुख देशमा भीआइए परीक्षण एकदमै प्रभावकारी मानिएको छ ।

“भीआइए टेस्टका लागि प्रविधियुक्त ल्याब नचाहिने भएकाले जस्तोसुकै दुर्गममा पनि जाँच गर्न सकिन्छ तर यसका पनि केहि अवगुण भने अवश्य पनि छन्। परीक्षण गर्नेले राम्रोसँग ध्यान दिन सकेन भने रोग पहिचान गर्न सकिँदैन”।

पाठेघरको मुखको क्यान्सर उपचारमा सरकारको भूमिका

नेपाल सरकारले सन् २०१० मा ‘पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रण’ भनेर मापदण्ड बनाई सन् २०११ बाट नर्सहरुलाई भीआइए परीक्षण तालिम दिएको थियो। स्वास्थ्य सेवा विभाग अन्तरग रहेको परिवार कल्याण महाशाखाले २०१० देखि नै सचेतना फैलाउन थालेको थियो। तर सन् २०१६ बाट सक्रियता अझै बढ्यो।

गत आर्थिक वर्षको बजेटमा नै सरकारले सातै प्रदेशका स्थानीय तहमा लागू हुने गरी ३० देखि ६० वर्षका महिलाहरुको स्तन क्यान्सर र पाठेघर मुखको क्यान्सरको स्क्रीनिङ वर्षमा एक पटक निःशुल्क परीक्षण गर्ने घोषणा गरेको छ ।

त्यस्तै आगामी वर्ष तीन प्रदेशका ९ जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ९एचपीभी० कार्यक्रम संञ्चालन गरिने सरकारले घोषणा गरेको छ । एचपीभी खोपले ७० देखि ८० प्रतिशत हृयुमन प्यापिलोमा भाइरसको जोखिम कम गर्ने क्यान्सर विज्ञहरु बताउँछन्।

सुदूरपश्चिममा एउटा स्थानीय तहका तीनवटा स्वास्थ्य संस्थाबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण सेवा उपलब्ध गराएको परिवार कल्याण महाशाखाकी नर्सिङ प्रशासक कबिता अर्याल  भन्छिन्, “सरकारले तय गरे अनुसार सबै स्वास्थ्य संस्थाहरुबाट सेवा उपलब्ध गराउनुपर्ने हो तर तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा कर्णाली प्रदेश लगायत केही ठाउँमा यो सेवा नियमित गर्न सकिएको छैन् तर शिविर मार्फत भने सेवा दिरहेका छौं।” भीआइए परीक्षण गर्दा क्यान्सर भएको सम्भावना देखियो भने थप परीक्षणका लागि प्रादेशिक अस्पतालमा पठाइने गरिएको छ।

परीक्षणको चुनौती

सरकारले देशभर सबै स्वास्थ्य संस्थाबाट भीआइए परीक्षण गर्ने लक्ष्य राखे पनि व्यवहारमा लागू हुन सकेको छैन। कबिता अर्यालका अनुसार “७७ वटै जिल्लाका प्रत्येक स्वास्थ्य संस्थाबाट भीआइए जाँच सेवा प्रदान गर्ने लक्ष्य हो तर समायोजनपछि तालिम दिएका स्वास्थ्यकर्मीहरु विभिन्न ठाउँमा गए। पुनः तालिम सञ्चालन गरिएको छैन जसले गर्दा जनशक्तिको निकै अभाव देखिएको छ।  “भीआइए परीक्षण शुरु भएका स्वास्थ्य संस्थामा पनि महिलाहरु परीक्षणका लागि आउने गरेका छैनन्”, ।

पाठेघर मुखको क्यान्सरबाट बच्न ३० देखि ६० वर्षका प्रया सबै महिलाहरुले नजिकैको स्वास्थ्य संस्थामा गएर परीक्षण गर्न आवश्यक छ। यदि त्यहाँ सेवा छैन भने अर्को संस्थामा उनिहरुले पठाउने गर्छन। एक पटक गरेपछि पाँच वर्ष पछि फेरी गर्नुपर्छ।”

भीआइए परीक्षणको दायरा बढाउनका लागि परिवार कल्याण महाशाखाले प्रत्येक स्थानीय तहबाट पहिलो चरणमा कम्तिमा एक जनाका दरले तालिम दिने र बिस्तारै बढाउँदै लैजाने रणनीति बनाएको उनले बताइन्। हालसम्म परीक्षण गराएकामध्ये पाँच प्रतिशत जतिमा क्यान्सर देखिएको छ।

पाठेघको मुखको क्यान्सरबाट रोक्न १० देखि १४ वर्षका बालिकालाई ह्युमन प्यापिलोमा भाइरसविरुद्धको खोप लगाउने कार्यक्रम पनि उत्तिकै आवश्यक छ। यो वर्षसम्ममा सातै प्रदेशका तीन/ तीन जिल्लामा लागू गरिने तयारी भइरहेको महाशाखाका खोप प्रमुख सागर दाहाल बताउँछन्।