हाम्रो संरचना शनिबार, अशोज ९, २०७८ 677 Views

कालिकोटको मान्म  ताडी-९ भौरेकुनाकी ८१ वर्षीया कृष्णकला पाण्डे गाउँभरिकै ‘प्रसूति विशेषज्ञ’ हुन् । अक्षर चिन्ने अवसरसम्म नपाएकी उनले सयौं महिलालाई सुत्केरी व्यथा लाग्दा शिशु निकालेर बचाएकी छन् ।

‘हाम्रो पालामा अहिलेका जस्ता अस्पताल थिएनन्,’ गाउँभर नौली बजैका नामले परिचित वृद्धाले भनिन्, ‘दुई सयभन्दा बढी बच्चा मैले नै तानेर सुत्केरी गराएँ हुँला ।’

बाल्यकालदेखि आमाले गर्ने सुडेनी काम देखेर आफूले पनि सिकेको र नि:शुल्क सेवा दिएको उनले सुनाइन् । त्यही सेवाको सम्मानस्वरूप अहिलेसम्म पनि उनी गाउँभरिकी ‘डाक्टरनी आमा’ हुन् ।

पाखा ६ दलित टोलकी ७६ वर्षीया देउसरी दमाई पाखा दाहाला भेककी चर्चित सुडेनी हुन् । उनी जातीय रूपमा दलित समुदायकी भए पनि जीवन बचाउने सबैकी ‘डाक्टर’ हुन् । उनी जाने घरमा दलित भनेर छुवाछुत हुँदैन । सबैले सम्मान गर्छन् ।

नि:शुल्क प्रसूति सेवा दिएबापत् गाउँघरमा हुने सानातिना उत्सव, विवाह ब्रतबन्धमा उनलाई नछुटाएरै बोलाउने गरिन्छ । ‘कसैले बच्चा जन्माउन नसकेपछि मलाई नै बोलाउँथे,’ देउसरीले भनिन्, ‘उल्टो फर्किएको बच्चालाई पनि सुल्टो बनाएर निकालें ।’

उनले ५६ वर्षको अवधिमा गाउँमै बसेर ७ सयजति गर्भवती महिलालाई सुत्केरी गराएको गर्वसाथ सुनाइन् । जब कसैलाई प्रसूति व्यथाले च्याप्छ, देउसरीको खोजी हुने गरेको पाखा ५ की विजया विष्टले बताइन् । ‘यिनी त हामी सबैकी डाक्टर हुन्,’ सँगै बसेकी सुडेनी देउसरीको प्रशंसा गर्दै अनेम संघकी केन्द्रीय सदस्य विजयाले भनिन्, ‘पेटमा उल्टो भएको बच्चा सुल्टो बनाएर समेत निकाल्थिन् ।’ 

स्वास्थ्यको पहुँच गाउँमा बढ्दै गएको छ । सरकारले ‘बर्थिङ सेन्टर’ समेत निर्माण गरेको छ । तर, उनको नि:शुल्क सेवा अझै काम लागिरहेको छ । २० वर्षको उमेरदेखि सुडेनी काम गरेकी दमाईले  गाउँटोलमा जसलाई प्रसूति व्यथा लागे पनि बोलाउन आएपछि सल्लाको दियालो बालेर राति पाखाको भीर छिचोल्दै ४/५ घण्टासम्म हिँडेर उनी पुग्थिन् ।

‘घरघरमा गएर सुत्केरी गराउनेबाहेक अरू केही काम हुँदैन थियो,’ उनले भनिन्, ‘गयो, बच्चा निकाल्यो । छोरी भए घर आइहाल्थें, छोरा जन्मिए ६ दिनसम्मै भोज-भतेर नाचगान गरेर रमाइलो गरिन्थ्यो ।’ उनले छोरी जन्माउने आमालाई पनि घरपरिवारले हेला गर्ने गरेको अनुभव सुनाइन् ।

उनी कहिले त घरबाट निस्किएपछि १५/२० दिन पछि मात्र ३/४ जना बच्चाको न्वारान सकेर फिर्ता हुन्थिन् । ‘कहिले त घरमा झगडा पनि पथ्र्याे,’ उनले भनिन्, ‘अब जसले बोलाए पनि नजाने सोच्थें, बोलाउन आएपछि मनले मान्दैनथ्यो, जे काम गर्न लागेको भए पनि छाडेर हिँड्थें ।’ खेतीपातीको काम धेरै नहुने भएकाले बच्चा निकाल्न जाँदा खुसीले दिएको चामल थापेर जीवन रमाइलोसग बितेको अनुभव छ उनीसँग ।

कालिकोटको पिलीकी ७० वर्षीया देवकला मल्ल पनि चिनिएकी सुडेनी हुन् । अस्पतालको पहुँचबाट टाढा रहेको पिलीमा लामो समयदेखि प्रसूति सेवा दिने महिला र बालबालिकालाई हुने बिरामका लागि स्थानीय जडिबुटीको औषधिमुलो गरेर उनैले निको पार्ने गरेकी छन् । खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहकी दिदी देवकला गाउँमा ‘डाक्टरनी आमा’ भनेर चिनिन्छिन् । पिलीमा भएको माओवादीको आक्रमणमा परेर पति गुमाएकी उनलाई गाउँमा सबैले सम्मान गर्छन् । भोजभतेर निम्ता गर्न पनि नछुटाउने गरेको उनका छोरा पुत्रबहादुर मल्लले बताए ।

मल्लले छिमेकी गेला गाविसको गणेशकोट औलगेलासम्म पुगेर बच्चा तानेर आमाशिशु दुवैलाई बचाएको अनुभव सुनाइन् । उनको माइती डिल्लीकोट गएको बेला बच्चालाई ताप गालेको, पखाला चलेको जडिबुटीको औषधि माग्नेको भीड नै हुन्थ्यो । सशस्त्र द्वन्द्वमा माओवादीले पतिलाई गाउँमा बस्न नदिएपछि विस्थापित भएर सदरमुकाम मान्म आइन् । मान्ममा जिल्ला अस्पताल र निजी औषधि पसल भए पनि चिनेजानेका स्थानीय उनैकहाँ सेवा लिन जान्थे ।

३२ वर्षअघिको कुरो हो । दाहा- ९ तलसेरीकी जयकला मल्ललाई दुई दिनसम्म सुत्केरी व्यथा लाग्यो । सुडेनी कौडा मल्लले हातले तानेर सुत्केरी गराइन्, डिलबहादुर मल्ल जन्मिए । उनी अहिले स्थायी शिक्षक छन् । कौडा ७० वर्षकी भइन्, जसको सेवाले जन्मिएका डिलबहादुरजस्ता धेरैले उनलाई आदर गर्छन् ।

उनैले जटिल प्रसूति समस्या पर्दा सहयोग गरेर कृष्ण र हस्त जन्मिएका थिए । कृष्ण अहिले डेनमार्क छन् भने हस्त काठमाडांैमा प्लस टु पढिरेहका छन् । उनले सामान्य प्रसूति व्यथा लागेका त ३/४ सयलाई सेवा दिएको सुनाइन् । गाउँघरका बालबच्चालाई बिमार लागे परम्परागत ‘ओख्तोमुलो’ (औषधि) गर्न उनीजस्ता सुडेनी गाउँगाउँमा छन् । केही ठाउँमा तिनै सुडेनी आमाहरू अहिले महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा पनि काम गरिरहेको स्वास्थ्यकर्मी कटक महतले बताए ।

यस्तै सुडेनी अर्थात् कर्णालीका ‘डाक्टरनी आमाहरू’ प्रत्येक गाउँमा छन् । अशिक्षा, अभाव, गरिबी र विकटताले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका कर्णालीका कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा परम्परागत डाक्टरका रूपमा गाउँगाउँमा सुडेनी छन् । घरको माना खाएर समाज सेवाको कर्म गर्ने सुडेनीको योगदानको सेवाग्राहीले खुलेर प्रशंसा गर्छन् ।

तिनलाई गाउँलेले ‘डाक्टरनी’ भन्छन् । तर, त्यो उपाधि कुनै विद्यालय र विश्वविद्यालयले दिएको नभई ‘धर्म’ गरेकाले स्वत:स्फूर्त पाएको हो । सरकारले नि:शुल्क स्वास्थ्य सेवाको व्यवस्था गरेपछि गाउँका केही ठाउँमा ‘बर्थिङ सेन्टर’ खुलेका छन् । केहीयता महिला स्वस्थ्य स्वयंसेविका खटाइएका छन् । परम्परादेखि सेवा गर्दै आएका सुडेनीलाई सरकारले वास्ता नगरे पनि समुदायले अझै तिनैमाथि बढ्ता विश्वास गरिरहेको जुम्लाका नन्दराम जैसीले बताए । ‘विकट बस्तीमा अझै सुडेनीले काम गरिरहेका छन्,’ उनले भने, ‘कर्णालीमा सुडेनी नभएको त गाउँ नै छैन ।’ उनले बिना उपकरण हातले तानेर शिशु निकाल्नुपर्ने भएकाले जोखिमपूर्ण हुने पनि सुनाए ।

भरपर्दो र सुरक्षित प्रसूति सेवा नभएको कर्णालीमा जटिल प्रसूति व्यथा लाग्दा मृत्युवरणको विकल्प छैन । कालिकोटमा १० वर्षअघिसम्म सुडेनीका लागि वार्षिक तालिम हुने गरे पनि अचेल वास्ता हुन छाडेको पिली गाउँकी अर्की सुडेनी किन्नकला कार्कीको गुनासो छ । ‘पुरानी सुडेनी बूढी भयौं,’ कार्कीले स्थानीय लवजमा भनिन्, ‘नौली (ठिटीहरू) सिक्नै मान्दिनन् ।’ उनले कर्णालीका सबैजसो गाउँमा २० वर्षअघिसम्म सबैजसो शिशु जन्माउने काम सुडेनीकै भरमा रहेको सुनाइन् ।  उनले अतीत कोट्याइन्, ‘उही बेला गर्दैन भने पनि बाध्यता हुन्थ्यो ।’ हातले बच्चा निकाल्ने क्रममा केहीको मृत्यु पनि भएको उनले जानकारी दिइन् ।

कार्कीको माइती पाखा ५ विष्टवाडा हो । माइतीघरमा आमासँग सुत्केरी गराउने र जडिबुटीको औषधि बनाउने तरिका सिकेकी किन्नाको १३ वर्षको उमेरमा पिली गाउँका लल्ते कार्कीसँग विवाह भएपछि सुडेनी सेवा सुरु गरिन् । ‘सुरुमा सिक्दा रहरको काम थियो,’ भनिन्, ‘पछि बाध्यता बन्यो, नगरी धरै नपाइने ।

पिली आक्रमणको बेला गाउँकी जुनपुरा कार्कीलाई प्रसूति व्यथाले च्यापेपछि गोलाबारी छिचोल्दै सुत्केरी गराउन गएको अनुभव सुनाइन् उनले । ‘यो काममा दाम केही नहुने,’ ७६ वर्षीया वृद्धाले भनिन्, ‘सम्मान त कति हो कति ?’ प्रसूति गराउने क्रममा जटिल खालको समस्यामा दोष पनि पाइने गरेको सुनाइन् ।

सरकारी स्वास्थ्य सेवामा नागरिकको पहुँच नहुँदासम्म सुडेनीको योगदान महत्त्वपूर्ण भए पनि अचेल खासै भूमिका नरहेको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल वलीले बताए । ‘होम डेलिभरी (घरमै प्रसूति) त सुडेनीले नै गर्छन्,’ उनले भने, ‘हामीले निरुत्साहित गर्न गाउँगाउँमा बर्थिङ सेन्टर र माशिका (मातृशिशु कार्यकर्ता) को व्यवस्था गरेका छौं ।’ उनले कालिकोटका गत वर्ष ६८ प्रतिशतले स्वास्थ्य संस्थामा आएर बच्चा जन्माएको दाबी गरे ।

सरकारले कर्णालीमा प्रसूति सेवासहित स्वास्थ्य सेवा नि:शुल्क दिएको दाबी गरे पनि स्वास्थ्य संस्था टाढा हुनु, त्यहाँ पुग्न यातायातको व्यवस्था नहुनु, दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुनु, आवश्यक औषधि र उपकरणको अभाव हुनु, भौतिक पूर्वाधार भवन, शौचालय, पानीको अभाव हुनु, दक्ष स्वास्थ्यकर्मी पनि नहुनुजस्ता समस्याले अझै ग्रामीण भेकका महिला घरमै असुरक्षित रूपले प्रसूति हुन बाध्य छन् ।