सात मुलुकका १६ कम्पनीले १३ अर्ब ५२ करोड अमेरिकी डलर लगानीको प्रतिबद्धता ।

नविन अर्याल

१४ खर्ब ३३ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता जुटाउँदै लगानी सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा सहभागी सात मुलुकका १६ कम्पनीले १३ अर्ब ५२ करोड अमेरिकी डलर लगानीको प्रतिबद्धता गरेका हुन् । सबैभन्दा बढी लगानी प्रतिबद्धता चीनबाट आएको छ । चीनका ६ कम्पनीले आठ खर्ब ८० अर्बभन्दा बढी लगानीको प्रतिबद्धता गरेका छन् । यो कुल लगानी प्रतिबद्धताको ६१ प्रतिशत रकम हो ।

उद्योग मन्त्रालयले लगानी बोर्डसँगको सहकार्यमा आयोजना गरेको दुईदिने सम्मेलनमा दुई दर्जन मुलुकबाट साढे दुई सय विदेशी लगानीकर्ता सहभागी थिए। तीमध्ये सयजना चीनबाट थिए । सम्मेलन सोचेभन्दा भव्य रूपमा सम्पन्न भएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए । ‘हामीले एक खर्ब विदेशी लगानीको प्रतिबद्धता आउन सक्ने अनुमान गरेका थियौं’, उनले भने, ‘१४ खर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने प्रतिबद्धता आएको छ ।’

चीनबाट हाइड्रो, काठमाडौं मेट्रो, हस्पिटल, हाइवे, एयरपोर्ट, सुरुङमार्ग, वाटर सप्लाई, सडक, खानी तथा खनिज, स्मार्ट ग्रिड, कृषिलगायत क्षेत्रमा लगानीको प्रतिबद्धता आएको छ । पछिल्लो समय नेपालमा चिनियाँ लगानी बढ्दै गएको छ । नेपालको विभिन्न क्षेत्रमा लगानी गर्न दुई छिमेकी मुलुक भारत र चीनले प्रतिस्पर्धा गर्दै आएका छन् । नेपालमा लगानी बढाउन सकेमा आफ्नो प्रभाव बढाउन सकिने दुवै मुलुकको बुझाइ छ । लगानी सम्मेलनमा भारतबाट भने ३३ अर्ब ६० करोड रुपैयाँ मात्र लगानीको प्रतिबद्धता आएको छ । भारतका तीनवटा कम्पनीले बैंक, सोलार, स्टिल प्लान्ट, पर्यटन, औद्योगिक, बायो मेडिकल क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

बंगलादेशले दुई खर्ब ५४ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता गरेको छ । बंगलादेशको हिमाद्री फुड प्रालिले खाद्यान्न तथा निर्माण क्षेत्रमा लगानी गर्ने इच्छा देखाएको हो । जापान र बेलायती लगानीकर्ताबाट १०६÷१०६ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको छ । श्रीलंकाबाट ५३ अर्ब र नेपालबाट एक अर्ब २१ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । नेपालका हिमाली डिस्ट्रिलरी, आरएन ग्रुप अफ कम्पनीज र सोमुदायक कन्साई फर्मले लगानीले प्रतिबद्धता जनाएका हुन् ।

विदेशी लगानीकर्ताले विभिन्न क्षेत्रमा लगानीको प्रतिबद्धता जनाए पनि यही परियोजना भन्ने स्पष्ट छैन । बहुचर्चित जलविद्युत् परियोजना अरुण तेस्रोमा चिनियाँ विलिङ पावर कर्पोरेसनले लगानीको प्रतिबद्धता जनाएको छ । अरुण तेस्रोमा एक खर्ब २७ अर्ब लगानी गर्ने विलिङ पावरको प्रतिबद्धता छ । जापानको दी कन्साई इलेक्ट्रिक पावर कम्पनीले पनि सयदेखि हजार मेगावाटसम्मको हाइड्रोपावर परियोजनामा एक खर्बभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएको छ। नेपालमा ऊर्जा, कृषि, पर्यटन, पूर्वाधार राम्रो प्रतिफल दिलाउने लगानीयोग्य क्षेत्र हुन् ।

सम्मेलनमा नेपालको अग्रणी व्यावसायिक घराना चौधरी समूहले २५ मिलियन अर्थात् साढे दुई अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । सम्मेलनमा समूहका प्रबन्धनिर्देशक निर्वाण चौधरीले यस्तो घोषणा गरेका हुन् । विश्व सूचनाप्रविधिको युगमा प्रवेश गरिसकेकाले सूचनाप्रविधिमा ठूलो लगानी गर्न लागेको उनको भनाइ छ ।

मन्त्री जोशीका अनुसार टर्कीलगायत केही मुलुकका लगानीकर्ताले लगानीका लागि विभिन्न क्षेत्र पहिचान गरेका छन् । अनुकूल मिलाएर लगानी गर्न आउने उनीहरूको आश्वासन रहेको मन्त्री जोशीले उल्लेख गरे । सम्मेलनमा अनुमान गरेभन्दा निकै बढी लगानीको प्रतिबद्धता आएपछि मन्त्री जोशी निकै उत्साहित देखिन्थे । सम्मेलनको समापन समारोहमा मुस्काउँदै उनले भने, ‘सम्मेलनसँगै मुलुकमा आर्थिक विकासको सुरुआत भएको छ । आर्थिक क्रान्ति सुरु भयो।’ सम्मेलनमार्फत अन्तर्राष्ट्रिय जगत्मा नेपालको राम्रो सन्देश प्रवाह भएको जोशीले बताए ।

सम्मेलन उद्घाटन सत्रमा प्रमुख दलका शीर्ष नेताहरूले मुलुकको आर्थिक विकासमा एकसाथ रहेको घोषणा गरेका थिए । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको राजनीतिक विचार फरक भए पनि आर्थिक मुद्दामा सबैको एकमत रहेको बताएका थिए ।

लगानीमैत्री वातावरण निर्माणका लागि भइरहेको नीतिगत सुधारबारे पनि लगानीकर्तालाई जानकारी गराइएको थियो । मुलुकमा लगानीको विश्वासिलो वातावरण बनाउन सम्मेलन सफल भएको उनको दाबी छ । सम्मेलनमा प्रतिबद्धता जनाएको लगानी भित्र्याउन उद्योग मन्त्रालयले निरन्तर ‘फलोअप’ गर्ने भएको छ । यसका लागि उद्योगमन्त्रीको अध्यक्षतामा एउटा समिति बनाइनेछ । चारवटा उपसमिति बनाएर लगानीको प्रतिबद्धता जनाएका लगानीकर्तालाई लगानी भित्र्याउन पहल गरिरहने छ । लगानी प्रतिबद्धतालाई यथार्थमा परिणत गर्न निरन्तर ‘फलोअप’ गरिरहने प्रतिबद्धता मन्त्री जोशीले जनाए । ‘ठूलो लगानीको प्रतिबद्धता आएको छ । हामीले आधा रकम मात्र पनि भित्र्याउन सकियो भने पर्याप्त हुन्छ’, उनले भने, ‘लगानी ढोकामा आइसकेको छ । हामीले ढोका खोलेर लगानी भित्र्याउन सक्नुपर्छ ।’

नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले पनि लगानी सम्मेलन भव्य रूपमा सम्पन्न भएको बताए । सोचेको भन्दा बढी सहभागिता र लगानीको प्रतिबद्धताले उत्साहित बनाएको उनको भनाइ छ । सम्मेलनमा भारत, चीन, बंगलादेश, श्रीलंका, सिंगापुर, हङकङ, मलेसिया, अस्ट्रेलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रसिया, क्यानाडा, बेलायत, दक्षिणकोरिया, फिनल्यान्ड, इरान, टर्की, भियतनामलगायत दुई दर्जनभन्दा बढी मुलुकका लगानीकर्ता सहभागी थिए ।

सम्मेलनको अन्तिम दिन शुक्रबार लगानी सम्भाव्यता भएका क्षेत्रमा ६ वटा प्यानल डिस्कसन भएको थियो । सम्मेलनमा सहभागी स्वदेशी तथा विदेशी लगानीकर्ता आआफ्नो रुचि भएको सेसनमा सहभागी भएका थिए । लगानीका सम्भाव्य क्षेत्रको ‘सेक्टरल डिस्कसन’ मा सहभागीलाई सम्बन्धित क्षेत्रमा भएको सम्भवना र अवसरका बारेमा जानकारी गराइएको थियो । सोही अवसरमा नीतिगत व्यवस्थाका बारेमा पनि लगानीकर्तालाई अवगत गराइएको थियो ।

सम्मेलनमा लगानीको प्रचुर सम्भावना भएका क्षेत्रहरूको क्षेत्रगत विवरण प्रस्तुत गरिएको थियो । ऊर्जा, पूर्वाधार, पर्यटन, सूचनाप्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनसँग सम्बन्धित विभिन्न क्षेत्रको विषयगत छलफल भएको हो । लगानी बोर्डले विस्तृत सम्भाव्यता अध्ययन भइसकेका करिब २१ खर्ब लगानीका आठवटा परियोजना सम्मेलनमा प्रस्तुत गरेको थियो ।

लगानी बोर्डले अगाडि सारेका ठूला परियोजनामा रासायनिक मल कारखाना, पूर्व-पश्चिम रेलमार्ग, रेलमार्गमा भारतसँग जोड्ने लिंकहरू, काठमाडौं भ्याली मेट्रो, काठमाडौं-हेटौंडा सुरुङमार्ग, काठमाडौं-पोखरा रेलमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र तामाकोसी तेस्रो हुन् । यीमध्ये काठमाडौं मेट्रो परियोजना र तामाकोसी तेस्रोमा तोकेरै लगानीको प्रतिबद्धता आएको छ ।

सम्मेलनमा भारतीय अर्थमन्त्री अरुण जेट्ली मुख्य वक्ताका रूपमा आएर नेपालको प्राकृतिक स्रोतमा विदेशी लगानी भित्र्याउन सुझाव दिएका थिए । उनले नेपालमा लगानीको उपयुक्त वातावरण रहेको औंल्याउँदै भारत नेपालको विकासमा सदैव सहयोग गर्न तयार रहेको आश्वासन दिएका थिए । एसियाली पूर्वाधार विकास लगानी बैंकका अध्यक्ष जिन लिक्वुनले नेपालको पूर्वाधारमा लगानीको सम्भावना रहेको औंल्याए । सरकारले चाहेमा नेपालका ठूला परियोजनामा लगानी गर्नसक्ने उनको भनाइ थियो ।

सम्मेलनमा सहभागी सरकारी अधिकारी, निजी क्षेत्र र सरोकारवाला व्यक्तिले लगानीका लागि विदेशी लगानीकर्तामाझ आह्वान गरेका थिए । नेपालमा लगानीको ठूलो सम्भवना छ । कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार लगानीका सम्भावित क्षेत्र हुन् । नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनी युनिलिभर, बोटलर्स नेपालका प्रबन्धनिर्देशकले नेपाल सानो लगानी गरेर उच्च प्रतिफल हासिल हुने मुलुक भएको सहभागीमाझ स्पष्ट पारिदिए । एनसेल, युनिलिभर, स्टान्डर्ड चार्टर्ड बैंक, एभरेस्ट बैंक र एसबीआई बैंक यसका उदाहरण हुन् । खासगरी नेपालको पर्यटन क्षेत्रमा लगानी आकर्षित देखिएको छ । पर्यटकीय मुलुक नेपालमा यतिबेला स्वदेशी तथा विदेशी लगानीमा धमाधम तारे होटेल खोल्ने होडबाजी छ ।