नेपालीको औसत आयु ६९.१ वर्ष पुगेको छ ।

संयुक्त राष्ट्र संघको जनसंख्या परिषद् र राष्ट्रिय योजना आयोगले गरेको नेपालको जनसांख्यिक परिवर्तनहरुको अध्ययनले नेपाल अहिले जनसांख्यिक अवसरको अवस्थामा रहेको र तीस वर्षपछि बृद्ध समाज बन्ने देखाएको हो।

अध्ययनअनुसार नेपालमा जनसांख्यिक अवसर सन् १९९२ बाट सुरु भएको हो। यो सन् २०४५ मा सकिनेछ। जनसांख्यिक अवसरमा कामकाजी उमेर (१४–६४ वर्ष) को जनसंख्याको अनुपात बालबालिका र वृद्धवृद्धाभन्दा बढी हुन्छ।

‘नेपालमा १९८० तिर १६.८ कामकाजीमाथि एक बृद्ध आश्रित थिए भने २०१५ मा आइपुग्दा ११.६ कामकाजीमाथि एक बृद्ध आश्रित छन्’, अध्ययनमा भनिएको छ, ‘सन २०५० मा एक वृद्धलाई ५.६ कामकाजीले आश्रय दिनेछन्। सन् २१०० मा पुग्दा त एक वृद्धलाई आश्रय दिने कामकाजी मानिस १.६ मात्र हुनेछन्।’ अहिले नेपालको जन्मदर र कोरा मृत्युदर घटिरहेको र यसले भविष्यमा नेपालमा कामकाजी जनसंख्याका कमी हुन सक्ने अध्ययनमा देखाइएको छ।

सन् १९८० मा नेपालको जन्मदर ५.६२ थियो भने कोरा मृत्युदर १६.९ थियो। सन् २०१५ जन्मदर २.३२ पुगेको छ भने मृत्युदर ६.५ भएको छ। १९८० मा नेपालीको औसत उमेर ४८ वर्ष थियो। त्यो बढेर अहिले ६९.१ वर्ष पुगेको छ। ‘नेपालको जनसांख्यिक अवसर पूर्वी एसियाली देशहरुको जस्तै छ,’ युनिसेफका टोमो होजुमीले भने, ‘आजका बालबालिका र भावी पुस्ता वयस्क हुने बेला र समाजको विकास गर्दै समाजका वृद्धहरुलाई टेवा दिने समेत जिम्मेवारी लिएको बेला अहिलेभन्दा धेरै उत्पादनशील भएमा मात्रै नेपालले यस अवस्थाको प्रभावकारी सामना गर्न सक्छ।