प्रदेश नम्वर २मा १ सय ३६ स्थानीय तहका प्रतिनिधी छनौटका लागी मतदान जारी

२ असोज, काठमाडौं / प्रदेश नम्बर २ का ८ वटा जिल्लामा सोमबार स्थानीय तहको चुनावमा मतदान भइरहेकाे छ । तेस्रो चरणको स्थानीय तहको चुनावअन्तर्गत आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा अहिले बिहान ७ बजेदेखि बेलुकी ५ बजेम्म मतदान हुँदैछ ।

बिहान मतदान गरेर दिउँसो आफ्नो काममा हिँड्ने योजनाअनुसार कतिपय मतदाता बिहानै मतदान केन्द्रतर्फ लागेका छन् । चुनाव हुने आठ जिल्लामा अाइतबार राति पानी परे पनि उज्यालो भएसँगै रोकिएकाले सहज भएको छ ।

यसअघि देशका ६ प्रदेशमा स्थानीय तहको निर्वाचन भए पनि प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी (राजपा) लगायत दललाई सहभागी गराउन निर्वाचन रोकिएको थियो । राजपासहित निर्वाचनको विपक्षमा रहेका दलहरु सहभागी हुन तयार भएपछि त्यहाँ आज निर्वाचन भएको हो ।

प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेका छन् । निर्वाचन आयोगका अनुसार, ६ हजार ६ सय २७ पदका लागि त्यहाँ हुन लागेको निर्वाचनमा ३७ हजार २ सय ३६ उम्मेदवार मैदानमा छन् । २६ लाख ६४ हजार ९ सय ५० मतदाताले मतमार्फत आफ्ना प्रतिनिधि आज चुन्नेछन् ।

आठ जिल्लाका दुई हजार १सय ६६ मतदानस्थलमा ३ हजार पाँच सय ७८ मतदान केन्द्र रहनेछन् । त्यस्तै मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार पाँच सय कर्मचार जना कर्मचारी परिचालन गरिएको छ । आयोगले चुनावको पर्यवेक्षणका लागि ४४ वटा संस्थाका दुई हजार १ सयभन्दा बढी पर्यवेक्षकलाई अनुमति दिएको छ ।

आठ जिल्लामा ६ हजार ६ सय २७ पदका लागि ३७ हजार २ सय ३६ उम्मेद्वार चुनावी मैदानमा छन् । तीमध्ये महिला १४ हजार ३ सय ३७ र पुरुष २२ हजार ८ सय ६१ जना रहेका छन् । निर्वाचनमा ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

२ नम्बर प्रदेशमा कुल २६ लाख ६४ हजारभन्दा धेरै मतदाता रहेका छन् । आयोगले मतदानका लागि फोटोसहित परिचयपत्र लिन र कुनै कारणवश परिचयपत्र नभएका तर मतदाता सूचिमा नाम भएकालाई नागरिकता, यसअघि आयोगले जारी गरेको आधिकारिक कागजताका आधारमा भोट खसाल्न पाउने प्रमुख आयुक्त यादवले जानकारी दिनुभयो । यस प्रदेशमा वीरगन्ज महानगरपालिका, जनकपुर, कलैया र जितपुर सिमरा उपमहानगरपालिकासहित ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।