हाम्रो संरचना शनिबार, अशोज २, २०७८ 536 Views

तिहार विशेषतः लक्ष्मीपूजा र भाइटीकामा केन्द्रित भए पनि यस पर्वमा काग, कुकुर, गोरुजस्ता जनावरले समेत विशेष महत्व पाउँछन् र उनीहरूको पूजा हुन्छ । हिन्दू धर्मअन्तर्गतको यस चाडले जनावरलाई पनि मानवसमान सम्मान गर्नुपर्ने सन्देश दिन्छ । सामान्यतः नेपालको पहाडी क्षेत्रमा यमपञ्चकका पाँच दिन विभिन्न पूजा गर्ने प्रचलन छ । 

संस्कृतिको धनी हिन्दू धर्ममा वर्षभर अनेक चाडपर्व, मेला, व्रत, पूजाआजा पर्छन् । धर्मशास्त्र र लोकोक्तिले ती सबैको महत्वलाई व्याख्या गर्ने गरेको छ । यस्तै चाडमध्ये पाँच दिनसम्म मनाइने तिहार (यमपञ्चक) एक हो । यसको विशिष्टता के छ भने चाड एक भएर पनि हरेक दिनले फरक–फरक महत्व दर्साउँछन् । फरक महत्वका दिन मिलेर एउटै चाड बन्नु भनेको एकतामा अनेकता र अनेकतामा एकताको मिश्रण हो । जुन अर्थ यस पर्वले बोकेको छ ।

तिहार विशेषतः लक्ष्मीपूजा र भाइटीकामा केन्द्रित भए पनि काग, कुकुर, गोरुजस्ता जनावरले समेत यस पर्वमा विशेष महत्व पाउँछन् । उनीहरूको पूजा हुन्छ । हिन्दू धर्मअन्तर्गतको यो चाडले जनावरलाई पनि मानवसमान सम्मान गर्नुपर्ने सन्देश दिन्छ । सामान्यतः नेपालको पहाडी क्षेत्रमा यमपञ्चकका पाँच दिनमा विभिन्न पाँचथरी पूजाको प्रचलन छ । नेपालको तराई क्षेत्र र भारतमा भने यमपञ्चक सुरु हुने दिन अर्थात् काग तिहारको दिन धनतेरस पनि मनाउने गरिन्छ ।

तिहारको थालनी, सिंगार र रमाइलो

दाजुभाइ, दिदीबहिनी, साथीभाइसँग भेटघाट हुने भएकाले तिहारलाई रमाइलो चाड मानिन्छ । यो चाड कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कात्तिक शुक्लपक्षको द्वितीया तिथीको भाइटीकासम्म पाँच दिन मनाइन्छ । यो पर्वको नाम हिन्दी शब्दको त्यौहारबाट अपभ्रंस हुँदै तिहार बनेको अनुमान छ । यसलाई दीपावली पनि भनिन्छ । यो पर्व फूलहरूले सिंगारेर वातावरण नै सुन्दर बनाउने पर्व पनि हो । तिहारमा परम्परा र संस्कृति जोगिईरहेकोमा यसैलाई सुन्दर पक्ष मान्ने पनि धेरै छन् । धेरैका लागि लक्ष्मीपूजाको दिन विशेष हुन्छ । मानिसहरू त्यो दिन व्रत बस्छन् । बेलुका लक्ष्मीको पूजा गरेपछि प्रसाद खाएर रमाइलो गर्ने गरिन्छ । कतिपयले परिवारसँग तास खेल्छन् । तासजुवा हारजितका लागि भन्दा पनि रमाइलोका लागि खेलिनुपर्ने पिण्डेश्वर विद्यापीठ धरानका सहप्राध्यापक कृष्णप्रसाद कोइराला बताउँछन् ।

तिहारमा खाइने सेल, अनरसालगायत परिकारको ठूलो महत्व छ । भाइटीकाका दिन दिदीबहिनीले टीका लगाएर मसला दिने र दाजुभाइले उपहार तथा दक्षिणा दिने प्रचलन छ । तर, पछिल्लो समय तिहारमा विकृतिसमेत देखिएका छन् । यस पर्वमा मसला, उपहार र दक्षिणामा भन्दा आत्मीयतामा प्रतिस्पर्धा हुनुपर्ने जानकारहरूको भनाइ छ । संस्कृतिले भरिपूर्ण तिहारलाई बिगार्ने र आधुनिक बनाउँदै लाने भन्दा पनि यसको गौरव र महत्वलाई नै बचाएर अघि बढ्नुपर्छ । यसलाई अधिक आधुनिकीकरण गर्दै गयो भने भविष्यमा तिहार आजको जस्तो रमाइलो र सांस्कृतिक पर्व नहुन पनि सक्छ ।

धन्वन्तरी र कुबेरको पूजा

तिहार स्वास्थ्यका हिसाबले पनि महत्वपूर्ण छ । तिहारकै बीचमा अर्थात् कात्तिक कृष्ण त्रयोदशीका दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरीको पनि विशेष पूजा गर्ने चलन छ । जसले मानिसलाई स्वस्थ रहन सहयोग पुग्छ भन्ने विश्वास गरिन्छ । धनका लागि दुई दिनपछि लक्ष्मीको पूजा गरे पनि त्यो दिन भने धनका देवता कुबेरको पूजा गर्ने प्रचलन छ । सामाजिक हिसाबमा पनि भ्रातृत्व बढाउन तिहार उपयोगी छ । तिहारलाई अनावश्यक आडम्बर र प्रतिस्पर्धा भन्दा सांस्कृतिक महत्व बुभ्mदै सभ्य तरिकाले मनाउनुपर्छ ।

गहना खरिद

तिहारलाई गरगहना खरिदको पर्वका रूपमा समेत हेर्न सकिन्छ । काग तिहारका दिन विशेषगरी भारत र नेपालको तराई क्षेत्रमा धनतेरस पनि मनाइन्छ । त्यो दिन गहना वा कुनै भाँडाकुँडा किन्नुपर्ने मान्यता छ । अन्य क्षेत्रमा पनि लक्ष्मी खुसी हुन्छिन् भन्ने मान्यतासहित गहना खरिद गर्ने गरिएको भेटिन्छ । तर, गहना खरिद गर्दा व्यावसायिक रूपमा दर्ता भएका पसलमा किन्नुपर्ने र अनिवार्य रूपमा बिल लिनुपर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्मा बताउँछन् ।

भाइटीकाको पौराणिक कथा

सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गएर पाँच दिनसम्म रमाइलो मनाएको हुँदा तिहारलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख छ । यसरी रहँदा–बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भन्दा यमुनाले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदीभाइ, दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयु, कीर्ति सदा वृद्धि होस्’ भन्ने वरदान मागेको उल्लेख छ ।

यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भएर गएको विश्वास गरिन्छ ।

यसरी प्राचीनकालदेखि अहिलेसम्म अविच्छिन्न रूपले यो पर्व मानिँदै आएको परम्परा छ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लंग पार्दछ ।

तिहारसँग जोडिएका रोचक तथ्य

१. नेवारी सम्प्रदायमा पनि तिहारको समयमा भाइटीकाको अघिल्लो दिन म्हपूजा अर्थात् आप्mनै शरीरको पूजा गरिन्छ ।

२. महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म २७ कात्तिक १९६६ को लक्ष्मीपूजाका दिन काठमाडौंको धोबीधारा भएको थियो । लक्ष्मीपूजाको दिन जन्म भएको हुनाले उनको नाम लक्ष्मीप्रसाद देवकोटा राखिएको हो ।

३. हिरण्यकसिपुको भगवान् विष्णुले नृसिंह अवतार लिएर वध गरेको दिन पनि तिहारमै पर्ने बताइन्छ ।

४. सिखहरूका निम्ति पनि तिहार महत्वपूर्ण छ । किनकि सन् १५७७ को तिहारकै अवधीमा भारतको पञ्जाबमा रहेको स्वर्ण मन्दिरको शिलान्यास भएको थियो ।

५. ११३७ वर्षअघि शंखधर साख्वाले नेपाल सम्वत्को सुरुवात गरेका थिए । जुन दिन भाइटीकाको अघिल्लो दिन थियो । यो वर्ष नेपाल सम्वत् ११३८ सुरु हुन्छ ।

६. तिहारकै समयमा समुद्र मन्थनपछि लक्ष्मी र धन्वन्तरी प्रकट भएको मानिन्छ । त्यसैले आयुर्वेदका प्रवर्तक धन्वन्तरी दिवस पनि यसै समयमा मनाउने गरिन्छ ।

७. जैन धर्मावलम्बीका अनुसार चौबीसौँ तीर्थकर महावीर स्वामीको निर्वाण दिवस पनि दीपावलीको दिनमा पर्छ ।

८. पञ्जाबमा जन्मेका स्वामी रामतीर्थको जन्म अनि मृत्यु दुवै दीपावलीको दिन भएको थियो ।

९. भारतीय संस्कृतिका महान् जननायक मानिने महर्षि दयानन्दले दीपावलीकै दिन अजमेरको छेउमा देहत्याग गरेका थिए ।

१०. मुगल वंशका अन्तिम सम्राट् बहादुर शाह जफर पनि दिपाली मनाउ“थे । यस अवसरमा आयोजित कार्यक्रममा उनी भाग लिन्थे ।

११. शाह आलम द्वितीयको समयमा शाही महललाई दीपावलीमा दीपहरूले सजाइन्थ्यो । लालकिलामा आयोजित कार्यक्रममा हिन्दू–मुसलमान दुवै धर्मावलम्बीले भाग लिन्थे ।

१२. दिन–ए–इलाहीका प्रवर्तक मुगल सम्राट अकबरको शासनकालमा राजकोष भण्डारको सामु ४० गज अग्लो बाँसमा एउटा आकाशदीप दीपावलीका दिनमा लगाइन्थ्यो ।

१३. बादशाह जहांगीले पनि दीपावली धुमधामसित मनाउँथे ।

कसरी सुरु भयो देउसी–भैलो ?

पौराणिक कथाअनुसार एकजना बलि भन्ने राजा पृथ्वीमा राज्य गर्थे । उनी अति नै दानी थिए । प्रत्येक दिन दान नगरी उनी केही खाँदैनथे । उनको यस पुण्यको प्रतापले स्वर्गादि लोक हल्लिन थाले र देवीदेवताले भगवान् विष्णुको प्रार्थना गरे । जसमा विष्णुले बलिलाई दमन गरी पाताल पु¥याउने आश्वासन दिए । त्यसपछि वामन (बाउन्ने) रूप लिएर बलिलाई छल्न विष्णु त्यहाँ गए र तीन पाउ जमिन दानको याचना गरे । बलिले सोचे, ‘यो ब्राह्मण त्यसै सानो छ र यसका पाउ पनि अति साना छन्, यसले अति थोरै जमिन माग्यो ।’

यही भ्रान्तिमा परेर उनले दान दिने सोचे । उनले दान दिन तयार भएपछि वामनको रूप विराट् भयो । एउटै पाउले समस्त पृथ्वी ढाकिदियो र अर्को पाउले आकाश । त्यसपछि तेस्रो पाउभरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे । उनले आफ्नाे थाप्लो थापे । थाप्लोमा विष्णुको पाउ पर्नासाथ बलि भासिएर पाताल पुगे । अन्त्यमा विष्णुसित उनले प्रार्थना गरे कि उनलाई वर्षमा एकपल्ट तिहारका वेला पृथ्वी घुम्ने अवसर दिइयोस् । यस प्रार्थनालाई स्विकारेर बलिलाई वर्षमा एकपल्ट आउने अनुमति दिए र बलि यही तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वास गरी बलिको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाइ छ ।

देउसे खेल्नेहरू बलि राजा आउन नभ्याएको र उनीहरूलाई बलिले पठाएको भनी भट्याउने गर्छन् । महिलाहरूले पनि बलिको स्वागतमा बलिगीत गाउँछन् । बलिगीतको अपभ्रंस रूप भैलीगीत भएको मानिन्छ । औँसीको रातभर भैली खेलिन्छ भने गोबर्धन पूजाको दिन देउसी खेलिन्छ ।