आज सोमबार राति १२ बजेबाट प्रचार बन्द

बिज्ञापन : निर्वाचन प्रचार सामाग्री हो ।

१८ मंसिर, नेपालगञ्ज/ ऐतिहासिक पहिलो संघिय र प्रदेश सभा सदस्य पदको दोस्रो चरणको निर्वाचनका लागी राजनितिक दलहरूले प्रचार गर्ने आज सोमबार राति १२ बजेबाट बन्द गर्नुपर्ने निर्वाचनको कानुनी बाधयता रहेको छ ।

मंसिर २१ गते ४५ जिल्लामा हुन लागेको दोस्रो चरणको चुनावको मौन अवधि मध्यराति १२ बजेबाट शुरु हुनेछ ।

चुनाब प्रचार प्रसारको यस अवधिलाई मौन अवधी भन्ने गरिएको छ र  दलहरूका उम्मेदवारहरुले कुनै पनि माध्यमबाट प्रचार-प्रसार गर्न पाउँदैनन् । एसएमएस,भाइबर वा अन्य यस्तै कुनै पनि माध्यमबाट मत माग्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनको सबै तयारी पूरा:- आयोग

आयोगले २१ मंसिरमा हुने दोस्रो चरणको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको लगभग सबै तयारी पूरा गरेको जनाएको छ । मतदानस्थलमा मतदान अधिकृत पठाउने, सुरक्षाको प्रबन्ध गर्ने लगायत काम अन्तिम चरणमा रहेको आयोगले जनाएको छ । सोमबार मतदान अधिकृत मतदानस्थल पुगेर नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदान केन्द्रको व्यवस्थापन सुरु गर्नेछन् ।

आचारसंहिता उल्लंघनका घटना अनुगमन

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारले निर्वाचनमा शान्तिसुरक्षाको प्रत्याभूति दिलाएको बताए । ‘सुरक्षाको प्रबन्ध, व्यवस्थापन र रणनीति बनाउन सरकारलाई निर्देशन दिएका छौँ,’ उनले भने । आचारसंहिता उल्लंघनका घटना अनुगमन गर्न आयोगले १ सय १३ सह-सचिव र ८८ उप-सचिवलाई परिचालन गरेको छ ।

मतदाता शिक्षामा १९ हजार र निर्वाचन पर्यवेक्षणका लागि ४५ हजारलाई अनुमति

आयोगका अनुसार हजार मतदाता बराबर एकजना मतदाता शिक्षा स्वयंसेवी कार्यकर्ता परिचालन गरिएको छ । मतदाता शिक्षाका लागि करिब १९ हजार स्वयंसेवी कार्यकर्ता परिचालन गरिएको छ । आयोगले निर्वाचन पर्यवेक्षणका लागि कार्टर सेन्टर, जाइका, इयू लगायत निकायका करिब चार सय पर्यवेक्षकलाई स्वीकृत दिएको छ । राष्ट्रिय पर्यवेक्षकमा भने ५२ वटा संस्थाका ४५ हजारलाई अनुमति दिएको छ ।