निर्वाचनमा पराजीत देउवा सरकारले नेपालका सबै प्रदेशका प्रमुख र सदरमुकाम तोक्यो

३ पुस,नेपालगञ्ज/ ताजा जनादेशमा हार खाएको नेपाली कांग्रेसका सभापती रहेका शेर बहादुर देउवा प्रधानमन्त्री नेतृत्वको सरकारले बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सबै सात वटा प्रदेशका प्रमुख नियुक्त र प्रदेशको अस्थायी मुकाम तोक्ने काम गरेको छ ।

प्रदेश प्रमुखमा कांग्रेस,राजपा र समाजवादी फोरमले भागबन्डा गरेका छन्। सरकारले मधेसवादी दुई दल संघीय समाजवादी फोरम,राष्ट्रिय जनता पार्टी र कांग्रेसको भागबन्डामा सात प्रदेशमा प्रमुख नियुक्त गरेको छ ।

जस अनुसार प्रदेश १ मा प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।

गोविन्द सुब्बा कांग्रेसका पुराना नेता हुन् । उमाकान्त झा पूर्व प्रशासक एवं खिलराज रेग्मी सरकारका मन्त्री हुन् । उनी राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी पनि हुन् ।

अनुराधा कोइराला माइती नेपालकी अध्यक्ष हुन् भने बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता हुन् । यस्तै दुर्गाकेशर खनाल कांग्रेसका पुराना नेता हुन् । मोहनराज मल्ल पूर्वराष्ट्रिय पञ्चायत सदस्य हुन् ।

बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सबै सात वटा प्रदेशका अस्थायी मुकाम तोक्ने काम गरेको छ ।

जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी मुकाम तोकिएको छ ।

प्रदेश ६ र ४ बाहेक अन्यको राजधानीलाई लिएर आन्दोलन भइरहेको छ । धनकुटालाई प्रदेश १ को राजधानी बनाउनु पर्ने माग भइरहेको छ भने २ को राजधानी वीरगञ्ज हुनु पर्ने भन्दै प्रदर्शन भइरहेको छ ।

त्यसैगरी माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले बुधबार पोखरामा आयोजीत एक कार्यक्रममा ताजा जनादेशलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले नटेरेको बताउनु भएको छ ।

राजीनामा दिएर अर्को सरकार गठनका लागि बाटो दिनुपर्नेमा विभिन्न संवैधानिक अवरोध देखाएर सत्ता लम्बाउने खेल भइरहेको उहांको टिप्पणी छ । महराले अब राष्ट्रिय सभा निर्वाचन लगत्तै नयाँ सरकार गठन हुने उनले बताउनु भयो ।

नेता कृष्णबहादुर महराले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनेमा कुनै द्विविधा नभएको बताएका र छुट्टै पार्टी, बिचार, संगठन लगायत भएकाले केही समय ढिलाई भएको जनाउनु भएको छ ।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको जनादेशले पनि पार्टी एकता हुनैपर्छ,’ पत्रकारसंगको भेटमा बुधवार महराले भने, ‘दुवै पार्टीबीच खुलेर कुराकानी भएर पार्टी एकता हुनैपर्छ ।’ यसकालागि दुवै पार्टीका अध्यक्षबीच कुराकानी भइरहेको उनको भनाई थियो ।