तत्कालीन प्रहरी महानिरीक्षक अर्याल र सशस्त्र प्रहरीका प्रमुख श्रेष्ठको पनि सुन तस्करीमा संलग्नता रहेको गोरेको बयान

 १० जेठ,विराटनगर/  बहुचर्चित साढे ३३ किलो सुन तस्करी र त्यससँग जोडिएको हत्या प्रकरणका तत्कालिन नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख पनि मुछिएका छन् । सो काण्डका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती (गोरे)ले जिल्ला अदालत मोरङमा दिएको बयानमा उनले तस्करीको सुन ल्याउन माथिल्लो तहसम्म सेटिङ रहने गरेको बताएका हुन् ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको बन्द इजलासमा जारी प्रारम्भिक बयानमा उनले नाम उल्लेख नगरी तत्कालिन प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका प्रमुख सिंहबहादुर श्रेष्ठको संलग्नता रहेको खुलाएका हुन् ।

उनले राप्रपा प्रजातान्त्रिकका नेतासमेत रहेका भुजुङ गुरुङले प्रहरी र शसस्त्रका प्रमुखसँग भनेर विमानस्थलबाट सेटिङ गर्ने गरेको उल्लेख गरेको स्रोतले जानकारी दिएको छ । यद्यपि गोरेले अहिलेसम्म कुनै पनि राजनीतिक दलका नेताको संलग्नता भने नखुलाएको स्रोतका दाबी छ ।

उच्चस्रोतले दिएको जानकारीअनुसार गोरे उच्च तहका व्यक्तिको नाम आफ्नो मुखबाट खोल्न चाहेका छैनन् । बयानमा ठुला व्यक्तिको नाम उल्लेख गरे कुनै पनि बेला आफू मारिने डरले उनी सो कुरा खोल्न नचाहेको बताइएको छ । उनी फरार रहेका एसएसपी श्याम खत्रीलाई बढी जानकारी भएको र उनिसँगै सबै राज भएको बताउँदै आएका छन् ।

‘भारतीय लगानी कर्ता र नेपालका उच्च तहकै व्यक्तिले ज्यान लिन सक्ने सम्मको संकेत पाएपछि उनले मानवअधिकारवादीहरूको पहलमा आत्मसमपर्ण गरेका हुन्,’ स्रोतले अगाडी भन्यो, ‘भारतमा विभिन्न चरणमा छानबिन समितिकै व्यक्तिसँग छलफल गरेपछि नेपालमा आएर आत्मसमपर्ण गर्ने र जिवनको रक्षा गर्ने सर्तमा ल्याइएको हो ।’

पहिलो दिनको बयानका क्रममा गोरेले सुरुवातमा आफ्नो जिवन, दुबई बसाईको अनुभव, त्यहाँबाट कसरी सुन तस्करीमा संलग्न भएको र पछिल्लो काण्डका केही अंश मात्र सकाएका छन् । यद्यपि उनले बयान दिने क्रममै पटकपटक आफू सनम शाक्यको हत्याकाण्डमा संलग्न नभएको बताउँदै आएका छन् ।

पहिला प्रक्राउ परेका सबैले मलाई फसाएका मात्र हुन्, सनमको हत्यामा मुख्यरूपमा भारतिय नागरिकहरू संलग्न रहेको उनको भनाइ छ । स्रोतका अनुसार गोरेले सुनमा नेपालका केही व्यवसायी र अधिकाशं भारतियकै लगानी रहेको बताएका छन् । उनले दुबईबाट भने मुख्य लगानीकर्ताका रूपमा दाउद इब्राहिम रहेको र उनको जालोमा अरू को को नेपाली र भारतीय छन् भनेर एसएसपी खत्रीलाई मात्र थाहा भएको बयान दिएका छन् ।

हिरासतमै असुरक्षित

भारतको सिक्किमबाट नेपाल आई आत्मसमर्पण गरेका गोरेले आफू असुरक्षित रहेको भन्दै मानवअधिकारकर्मीको निगरानीमा हिरासतमा रहने व्यवस्था मिलाउन अदालतसँग माग गरेको उनका कानुन व्यवसायीले बताएका छन् । बुधबार बयानका क्रममा उनले गरेको मागअनुसार निवेदन दर्ता गरिएको बताइएको छ ।

स्थानीय प्रशासनले भने उनको सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको जनाएको छ । ‘म असुरक्षित छु त्यसैले मानवअधिकारवादी संघसंस्थाको निगरानीमा हिरासतमा रहन पाउँ भनी त्यो निवेदन दर्ता भएको छ’ कानुन व्यवसायी यामबहादुर मगरले जानकारी दिए । तर त्यस्तो धम्की कसले दियो भनेर उनले खुलाएका छैनन् ।

सुन तस्करी प्रकरणमा जोडिएका प्रेमलाल चौधरीको प्रहरी हिरासतमै मृत्यु भएको विवरण यसअघि बाहिर आएपछि गोरेले सुरक्षा माग गरेका हुन् । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले पनि जिल्ला प्रहरी कार्यालयमा सुरक्षित तरिकाले राख्नुपर्ने र अदालत ल्याउँदा लैजाँदा पनि सुरक्षाको प्रत्याभूति दिने तरिकाले सुरक्षा योजना बनाएरै उनको सुरक्षा दिइरहेको बताएका छन् ।

प्रजिअ आचार्यले डराउनुपर्ने अवस्था केही नरहेको बताए । बुधबारको बयानमा उप्रेतीमाथि लगाइएका अभियोगबारे पढेर सुनाइएको र घटनाको पृष्ठभूमिबारे बयान लिइएको बताइएको छ । शाक्यलगायतलाई यातना दिइएको र सम्बन्धित अन्य केही घटनाको ‘भिडियो क्लिप’ देखाएर समेत गोरेबाट थप जानकारी लिने प्रयास अदालतले गरे पनि गोरेका वकिलले प्रतिवाद गरेपछि सो प्रक्रियासमेत रोकिएको छ । उनको बयान शुक्रबार पनि जारी रहने बताइएको छ । जनता टाईम्समा समाचार छ ।