६/६ करोड पाउने निर्णय गराएका सांसदहरूले दसैँभत्ता पनि मागे

१९ असार, काठमाडौं / सरकारलाई दबाब दिएर निर्वाचन क्षेत्र विकासको नाममा ६–६ करोड पाउने निर्णय गराएका सांसदहरू अब दसैँभत्ता पनि लिने योजनामा लागेका छन् । ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’का सदस्यहरूले बुधबार अर्थमन्त्री युवराज खतिवडासँग दसैँभत्ता उपलब्ध गराउन माग गरेका हुन् ।

दसैँ आउन तीन महिना बाँकी छँदा समितिले अर्थमन्त्री खतिवडालाई बोलाएर यसबारे छलफल गरेको छ । केही सांसदले खुलेरै अन्य कर्मचारीलेजस्तै दसैँभत्ता पाउनुपर्ने माग गरे । ‘अर्थमन्त्रीज्यू, अरू कर्मचारीहरूले वर्षमा १३ महिनाको तलब पाउँछन् । किनकि दसैँमा उनीहरूलाई थप एक महिनाको भत्ता दिइन्छ । तर, हामीलाई दिइँदैन । यसबारेमा सोच्नुपर्‍यो,’ सांसद बिना पोखरेलले भनिन् ।

समिति सदस्य राधेश्याम अधिकारीले पनि सांसदहरूको भत्ताबारे अर्थमन्त्रीसँग जिज्ञासा राखेका थिए । अन्य श्रमिकले १२ महिना काम गरेर १३ महिनाको तलब पाउने भए पनि सांसदहरूले नपाएकोप्रति उनले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए । यो खबर आजको  दैनिकमा प्रकाशित छ ।