बाँकेको ईगाउँमा जारी फुटवलको फाईनल सोमबार दिउसो न्यू दर्पण र पुल्चोक बीच

बाँके १५ पुस/  बाँकेको खजुरा ४ ई गाउँमा जारी डेढलाख राशीको खुल्ला नकआउट फूटबल प्रतियोगितामा आयोजक न्यू दर्पण युवा स्पोर्टस क्लव र पुल्चोक युवा सञ्जालबीच फाईनल प्रतिष्पर्धा हुने भएको छ ।

मनकामना नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत आईतबार भएको पहिलो सेमिफाईनलमा पुल्चोक युवा सञ्जालले भैयापुर एफसीलाई ० का विरुद्ध १ गोलको अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । पुल्चोकका तर्फबाट सुदिप वलीले विजयी गोल गरेका थिए ।

यसैगरी दोश्रो सेमीफाईनलमा आयोजक न्यू दर्पण युवा स्पोर्टस क्लवले एफसी संघारीलाई २ का विरुद्ध ३ गोलले पराजित गर्दै विजयी भएको छ । सुरुमा २–० गोल अन्तरले आयोजक न्यू दर्पण अगाडी भएपनि संघारीले पेनाल्टी सहित २ गोल गरेर खेल बराबरीमा ल्याएकोमा लगत्तै आयोजकले तेश्रो गोल गरेर जित सुनिश्चित गरेको हो ।
न्यू दर्पणका तर्फबाट विनोद केसी, श्याम वयडी र भुपेन्द्र शाहीले गोल गरे ।

संघारीका तर्फबाट सुमित थापा र उमेश रेग्मीले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच शाहीलाई शिक्षक मानबहादुर रम्तेल र समाजसेवी चित्रवहादुर विसीले पुरस्कार वितरण गर्नुभयो ।

न्यु दर्पण युवा स्पोर्ट्स क्लबको आयोजनामा पुस ७ गतेदेखि जारी प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको थियो । क्लबका अध्यक्ष प्रकाश केसीका अनुसार प्रतियोगिताको बिजेतालाई एक लाख,दोश्रो हुनेलाई ५१ हजार सहित प्रत्येक खेलको मेन अफ द म्याचलाई नगद पुरस्करको ब्यवस्था गरिएको छ ।