दुई करोड ५० लाख रुपैयाँ पर्ने १५ किलो अफिम सहित तीन युवती पक्राउ

बुटवल, जेठ २५ / नेपाल-भारत सीमानाका बेलहियामा प्रहरीले बुधबार १५ किलो लागुऔषध अफिमसहित तीनजना युवतीलाई पक्राउ गरेको छ ।

नेपालबाट भारतीय बजारमा पुर्‍याउन सीमानाका पार गर्ने क्रममा इलाका प्रहरी कार्यालय, बेलहियामा प्रहरीले चेक गर्दा उनीहरुबाट अफिम फेलापरेको थियो ।

सीमा जाँचमा बसेको प्रहरीले सोधपुछ गर्दा शङ्का लागेर खोजतलास गर्दा संवेदनशील अङ्गमा लुकाएको अफिम फेला पारेको हो । पक्राउ पर्नेमा दाङ घोराहीकी २७ वर्षकी विषमाया बुढामगर, दाङ लालमटियाकी २१ वर्षकी सकुन्तला बुढामगर र सोही ठाउँकै १९ वर्षकी कामना पुनमगर रहेका छन् ।

दाङमा स्नातक तहमा अध्ययन गर्दै गरेका युवतीले अपरिचित व्यक्तिको फोनको इसारामा १५ हजार रुपैयाँ दिने सर्तमा बुटवलबाट सुनौलीसम्म अफिम पु-याउने जिम्मा लिएको उनीहरुले प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ ।

बरामद गरेको अफिमको अन्तर्राष्ट्रिय मूल्य झण्डै दुई करोड ५० लाख रुपैयाँ पर्ने इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रवीन विष्टले जानकारी दिनुभयो । रासस