पहिलो चरणको निर्वाचन: मध्य र सुदुरपश्चिममा कस्तो भयो ? किन कम खस्यो मत ! ११ दिनसम्म मतपेटिकाको सुरक्षामा चुनौती ?

१० मंसिर,नेपालगञ्ज /  पहिलो चरण अन्तर्गत ३२ जिल्लामा प्रतिनिधिसभाका लागि ३७ तथा प्रदेशसभाका लागि ७४ वटा निर्वाचन क्षेत्रमा मतदान शान्ती पूर्णरुपमा सम्पन्न भएको छ । 

आइतबार चुनाव भएको क्षेत्र भौगोलिक हिसाबले विकट भएकाले मतपेटिका संकलन गर्न रातभर लागेको छ । स्थलगत रुपमा मतपेटिका संकलन गर्न नसकेका ठाउँबाट हेलिकप्टर मार्फत ल्याउने काम गरिएको छ ।

मतपेटिका संकलन भए पनि दोस्रो चरणको मतदान २१ गते सकिएपछि एकैपटक मतगणना सुरु गरिने निर्वाचन आयोगले निर्णय गरेको छ । गणना २१ गतेपछि हुने भएकाले अब ११ दिन मतपेटिका सुरक्षित राख्नुपर्ने चुनौती आयोग र सुरक्षा निकायलाई छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरिनेछ ।

जम्मा गरिएका मतपेटिकालाई निर्वाचन अधिकृतको कार्यालयले सुरक्षाकर्मीको विशेष निगरानीमा बन्द कोठाभित्र सिलबन्दी गरेर राखेको छ ।  मतपेटिका राखिएको कोठामा आयोगका अतिरिक्त राजनीतिक दलहरुले पनि ताल्चा वा सिलबन्दी गर्न सक्ने र सुरक्षाकर्मीसँगै दलका प्रतिनिधि पनि बस्न सक्नेछन् ।

दलहरुसँगको सहमतिका आधारमा मुख्य निर्वाचन अधिकृतले गणना कार्य अघि बढाउनेछन् । मंसिर २१ गते बाँकी ४५ जिल्लाका एक सय २८ क्षेत्रमा पनि चुनाव सकिएपछि गणना सुरु हुनेछ । आयोगले एक हप्ताभित्र प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशको परिणाम सार्वजनिक गर्ने गरी गणनाका लागि तयारी गरिएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

स्थानीय तहभन्दा किन १० प्रतिशत कम भोट खस्यो ?

आइतबार पहिलो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा स्थानीय तहमा खसेको भन्दा कम मत खसेको छ । स्थानीय तहको चुनावमा झण्डै ७५ प्रतिशत मत खसेपनि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको पहिलो चरणमा ६५ प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगले जनाएको छ । यो स्थानीय तहको भन्दा झण्डै दश प्रतिशत मत हो ।

निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत भोट खसकेको छ भने सबैभन्दा दोलखामा ५५ प्रतिशत मत खसेको छ । स्थानीय चुनावमा भन्दा मतदाता थपिए पनि संख्याका हिसाबले पनि मतदान भने कम भएको हो । चिसो मौसम, विप्लव समूहको गतिविधि, दलहरुप्रतिको अविश्वासका कारण मतदानमा सहभागिता कम भएको हो ।

स्थानीय चुनावमा आफ्ना गाउँटोलका छरछिमेकी, आफन्त र नातेदार नै उम्मेदवार हुँदा मतदातामा उत्साह थियो । तर प्रदेश र संघको चुनावमा टाढाका व्यक्ति उम्मेदवार हुँदा पनि मतदाताको संख्या कम भएको हो । मतदानमा सहभागी हुन पहिलेजस्तो नेता कार्यकर्ताले मतदातालाई कर पनि गरेनन् ।

काम विशेषले काठमाडौं र अरु शहरी भेगमा रहेका धेरै मतदाता गाउँ गएनन् । अस्ति भर्खरै भोट दिएको त हो, कति भोट दिने भनेर गाउँ जान मन नगर्ने मतदाता पनि भेटिए । भोट दिएर के नै पो हुन्छ र, नेताहरुले केही गर्ने होइनन् भनेर निराशा व्यक्त गर्नेहरु पनि कम छैनन् । दलहरुले अहिलेको चुनावको महत्वबारे मतदातालाई बेलैमा बुझाउन नसक्दा पनि भोट कम खसेको हो ।

अर्कोतर्फ आइतबार मतदान भएको क्षेत्र हिमाली तथा उच्च पहाडी भेग भएकाले पनि कम भोट खसकेको हुनसक्छ । चिसो सुरु भएलगत्तै धेरै बासिन्दा बेंसी झरिसकेका छन् । मतदानकै लागि भनेर फेरि गाउँ फर्कनेको संख्या निकै कम देखियो ।

त्यसो त एकसय वर्ष उमेर पार गरेका बृद्धबृद्धा पनि मतदानमा सहभागी भए । बमको त्रास र चिसोको बावजुद पनि मतदान केन्द्रमा दिनभर घुईंचो लाग्यो । स्थानीय चुनावमा भन्दा कम मतदान भएपनि २१ गते दोस्रो चरणमा हुने मतदानमा बढी भोट खस्ने अनुमान गर्न सकिन्छ ।

निर्वाचन आयोग खुशी

पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि ३२ जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएपछि निर्वाचन आयोगले खुशी व्यक्त गरेको छ । हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका ३७ वटा निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएपछि बेलुका आयोग कार्यलय कान्तिपथमा पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सबैलाई धन्यवाद दिँदै खुशी व्यक्त गर्नुभएको हो । 

प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४ सय ६५ मतदान केन्द्रमा मतदान भएको हो । आइतबार भएको मतदानबाट प्रतिनिधिसभा लागि ३७ जना र प्रदेशका लागि ७४ जना निर्वाचित हुनेछन् । दुवै तहमा गरी पहिलो चरणमा सात सय २ जना उम्मेदवार छन् ।

प्रदेश नम्बर ५ का अतिसंवेदनशील रुकुम पूर्व र रोल्पामा कस्तो भयो चुनाव ?

सल्ले,रुकुम

आइतबार प्रदेश नम्बर ५ का रुकुम पूर्व र रोल्पामा चुनाव भएको छ । यी जिल्लामा एक एक वटा मात्रै निर्वाचन क्षेत्र छन् । प्रदेश नम्बर ५ का १२ जिल्लामा २६ वटा निर्वाचन क्षेत्र रहेकोमा आइतबार पूर्व रुकुम र रोल्पाका २ वटा क्षेत्रमा मात्रै चुनाव भएको हो ।

यो क्षेत्रलाई सुरक्षाको हिसावले अतिसंवेदनशील मानिएको थियो । तर तुलनात्मक रुपमा त्यस्ता घटना भएनन् ।५ नम्बर प्रदेशमा पहिलो चरणमा १ सय ११ वटा मतदान स्थलका २ सय २ वटा मतदान केन्द्रमा चुनाव भएको हो ।

प्रदेश नम्बर ५ मा जम्मा २७ लाख ४० हजार ८ सय ६४ जना मतदाता रहेकोमा आइतबार चुनाव भएको क्षेत्रमा १ लाख ५५ हजार ५ सय ५७ जना मतदाता रहेका थिए ।

रुकुम पूर्व

रुकुम पूर्वमा ६५ प्रतिशत मत खसेको छ । रुकुम पूर्वमा २७ हजार ९ सय २८ मतदाता रहेकामा झन्डै १९ हजार मत खसेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिनुभयो ।

स्थानीय तहको चुनावमा रुकुममा ७५ प्रतिशत मत खसेको थियो ।रुकुमकाे पूर्व भागमा शान्तिपूर्ण रुपमा चुनाव सकिएको छ । अहिले मतपेटिका संकलनको काम भैरहेको छ ।

रुकुमका दुई केन्द्रमा चुुनाव स्थगित

रुकुम

प्रदेश नं. ६ को पश्चिम रुकुमको बाफिकोट गाउँपालिकाको काँडास्थित रत्न आधारभूत विद्यालयको (क) केन्द्रको चुनाव स्थगित भएको छ ।

प्रयत्क्षतर्फका २५० मतपत्र अज्ञात व्यक्तिहरुले जलाइदिएपछि प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनाव स्थगित गरिएको हो । स्थगित भएको चुनाव अब दोस्रोचरणको चुनावसँगै यही मंसिर २१ गते हुने भएको छ ।

विप्लवको कार्यकर्ताहरुले मतपत्र जलाएको शंका गरिए पनि उनीहरुको पहिचान भने भएको छैनन् । घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीनजनालाई सोधपुछ गरी छोडिदिएको छ ।

यस्तै रुकुमको आठवीससकोट नगरपालिका-११ को नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा एजेन्ट बसेका व्यक्तिले नै समानुपातिकतर्फको मतपेटिकामा एसिड खन्याए पनि त्यहाँ पनि समानुपातिकतर्फको चुनाव स्थगित भएको छ ।

एजेन्टले मतपेटिकामा एसिड खन्याए !

पश्चिम रुकुमको आठवीसकोट नगरपालिका-११ स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको -ख) मतदान केन्द्रमा एक जना एजेण्टले नै समानुपातिकतर्फको मतपेटिकामा एसिड खन्याइदिए । 

कांग्रेसका तर्फबाट एजेन्ट बसेका सोही नगरपालिका वडा नं. ११ का केशव खड्काले एसिड खन्याएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।खड्काले मतपेटिकामा एसिड खन्याएर भागेपछि नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायरसमेत गरेको थियो ।

आठबीसकोटकै नगरपालिका ३ मा रहेको अर्काे मतदान केन्द्रमा पनि एकजनाले मतपेटिकामा रसायन पदार्थ खन्याएका छन् ।

रोल्पा

सदरमुकाम लिवांग,रोल्पा

रोल्पामा ५५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले रोल्पामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको र ५५ प्रतिशत मत खसेको जानकारी दिनुभयो ।

एक लाख २७ हजार ६ सय २९ जना मतदाता रहेको रोल्पामा ७० हजार ३ सय २१ मत खसेको छ । तर रोल्पाकै थबाङमा भने ३० प्रतिशत मात्रै मत खसेको छ । निर्वाचन बहिष्कार गर्ने गाउँको रुपमा चिनिएको थवाङमा २ हजार ७ सय ७२ मतदाता रहेकोमा ८ सय २२ मत मात्रै खसेको हो ।

रोल्पामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । चुनावअघि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ठाउँ ठाउँमा बम विष्फोट र उम्मेदवारमाथी आक्रमण गरेपनि मतदानमा भने प्रभाव परेन । सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील मानिएको रोल्पाका विभिन्न स्थानमा बम विष्फोट भएपनि कुनै क्षतिभने भएन ।

रोल्पामा करिब दर्जन ठाउँमा बम

मतदान सुरु हुनुअगावै रोल्पाका विभिन्न मतदान केन्द्र र स्थानहरुमा अज्ञात व्यक्तिले बम राखेर मतदाता आतंकित बनाउने प्रयार गरेका थिए ।

जिल्लाका थवाङसँगै दुम्ला, सेरम, इरिवाङ घोडागाउँ लगायतका ठाउँमा अज्ञात समूहले बम विस्फोट गराएको थियो ।यहाँ माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन, निवर्तमान सभामुख ओनसरी घर्ती मगर लगायतलाई लक्षित गरी बम विस्फोट गराइएको थियो ।

अज्ञात व्यक्ति र समूहले मतदाता तर्साउने प्रयासगरे पनि मतदाताहरुको उत्साहपूर्वक उपस्थितिमा रोल्पामा पनि मतदान सम्पन्न भएको छ ।

रोल्पाको थवाङमा ‘नो भोट’को अपील अस्वीकार

रोल्पाको थवाङ

दोस्रो संविधानसभाको चुनावमा शून्य भोट गरेर चर्चामा आएको थवाङका मतदाताले यसपटक मतदान गरेका छन् ।चुनाव नजिकिएका बेला नेकपाका महासचिव विप्लवले थवाङमै पुगेर ‘नो भोट’ को अपील गरेता पनि थवाङका मतदाताले विहानै मतदान केन्द्रमा पुगेर मतदान गरेको निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।

थवाङमा मतदातालाई तर्साउन बिहानै-बिहानै विभिन्न ठाउँमा बम बिस्फोट गराइएको थियो । बम बिस्फोट गराएर आतंकित पार्ने प्रयास भए पनि यसपटक थवाङवासीले विप्लवको ‘नो भोट’ अपील अस्वीकार गरिदिए ।

स्थानीय तहको चुनावमा भने थवाङमा विप्लवका तर्फबाट पनि स्वतन्त्र उम्मेदवारी दिइएको थियो । तर, पराजित भएका थिए ।

 तिङलामा शून्य मतदान

नो भोटबाट चर्चामा आएको रोल्पाको थवाङमा यसपटक मतदान भयो । तर, स्थानीय तहको चुनावदेखि मतदान अस्वीकार गरेको सोलुखुम्बुको तिङलामा भने यो चुनावमा पनि मतदान शून्य रहृयो ।

स्थानीय तहको पुनरसंरचनाबाट असन्तुष्ट बनेका तिङलावासीले यसपटक मतदान गरेनन् । साविकको तिङ्ला गाविसमा यसपटक पाँच वटा मतदान केन्द्र राखिएको थियो । तिङलावासीको संयुक्त निर्णय अनुसार शून्य मतदान गरिएको हो ।

 डोल्पाका मतदान केन्द्र दिनभर सम्पर्कविहीन

दुनै,डोल्पा

डोल्पाका केही मतदान केन्द्रहरु मतदान सम्पन्न भइसक्दा समेत सम्पर्कविहीन भए । उपल्लो डोल्पाका शे-फोक्सुन्डो, डोल्पो बुद्ध र छार्काताङसोङ गाउँपालिका अन्तर्गतका केही मतदान केन्द्रहरुमा ५० प्रतिशत मतदान भएपछि सम्पर्कमा आए ।

शे-फोक्सुन्डोका याङजेर गुम्बा, फोद गाउँ, कु गाउँ केन्द्र  र डोल्पो बुद्धको पुरानो कलाङ, छार्काताङसोङ गाउँपालिकामा पर्ने सप्तकोशी, कागकोट र घेराङ मतदान केन्द्रमा सम्पर्क हुन नसकेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

यसमध्ये कलाङ, घेराङ र फोद गाउँ केन्द्र मतदान सम्पन्न भएपछि मात्रै सम्पर्कमा आएको थियो । फोदमा जम्मा २३ मतदाता मात्रै रहेका थिए ।

प्रदेश नम्बर ७ का कुन जिल्लामा कस्तो भयो चुनाव ?

पहिलो चरण अन्तरगत प्रदेश नम्बर सातका चार वटा जिल्लामा आइतबार मतदान सम्पन्न भएको छ । प्रदेश नम्बर ७ का ९ वटा जिल्लामा १६ वटा निर्वाचन क्षेत्र रहेकोमा आइतबार दार्चुला, बझाङ, बाजुरा र बैतडीमा चुनाव भएको हो ।

यी जिल्लामा एक एक वटा निर्वाचन क्षेत्र रहेका छन् ।बाँकी ५ जिल्लाका १२ वटा निर्वाचन क्षेत्रमा दोश्रो चरणमा २१ गते चुनाव हुनेछ ।

आइतबार चुनाव भएका यी जिल्लामा जम्मा ३ लाख ८४ हजार ९ सय ४१ जना मतदाता रहेका थिए । प्रदेश नम्बर ७ मा १४ लाख ३५ हजार ६ सय ७३ जना मतदाता छन् । आइतबार ४ सय २५ मतदान स्थलका ५ सय ७१ वटा मतदान केन्द्रमा चुनाव भएको हो । छिट्फुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान सकिएको छ ।

बाजुरा

मार्तडी, बाजुरा

आइतबार चुनाव भएका जिल्ला मध्य सबैभन्दा बढी मत बाजुरामा खसेको हो । बाजुरामा ७६ दशमलव २० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका सोमबारसम्ममा सदरमुकाम ल्याउने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

हिमाली गाउँपालिकाका तिन वटा वडाका चार मतदान केन्द्रका मतपेटिका सोमबार हेलिकप्टरबाट सदरमुकाम ल्याउने तयारी रहेको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले बताउनुभएको छ । सडक सञ्जाल जोडिएका मतदान केन्द्रका मतपेटिका भने आइतबार मध्यरातीसम्ममा सदरमुकाम ल्याउने तयारी गरिएको छ । स्थानीय तहको निर्वाचनमा बाजुरामा देशकै सबै भन्दा बढी ८१ प्रतिशत मत खसेको थियो ।

दार्चुला

दार्चुला

दार्चुलामा ६९ प्रतिशत मत खसेको छ । ७८ हजार ५ सय १३ मतदाता मध्ये ५४ हजार ४ सय १४ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताउनुभयो । स्थानीय तहको चुनावमा दार्चुलामा ७० प्रतिशत मत खसेको थियो ।

मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानीको काम शुरु भएको र केही स्थानका मतपेटिका सोमबार मात्रै सदरमुकाम ल्याइने आयोगले जनाएको छ । दार्चुलाको अपि हिमाल गाउँपालिका र ब्यास गाउँपालिकाका मतपेटिका हेलिकेप्टरबाट सोमबार मात्रै संकलन गरिने उहाँले बताउनु भयो ।

बैतडी

बैतडी

बैतडीमा ५८ प्रतिशत मत खसेको छ । स्थानीय तहको चुनावमा ७२ प्रतिशत मत खसेको थियो । तर प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा झन्डै १४ प्रतिशत कम अर्थात ५८ प्रतिशत मत खसेको हो ।

बैतडीमा १ लाख ३२ हजार ३ सय १९ मतदाता रहेका थिए । मतदान सकिएलगत्तै मतपेटिका ढुवानीको काम शुरु भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । मतदान सम्पन्न भएपछि मतपेटिकाको मुचुल्का गरेर ढुवानीको कार्य शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

सदरमुकाम नजिक र सडक नजिक भएका मतपेटिका आइतबार नै सदरमुकाम ल्याइने छ । टाढाका मतपेटिका सोमबार ल्याइने मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो । मतपेटिकालाई मंसिर २१ गतेसम्म सुरक्षा दिएर दशरथचन्द नगरपालिकाको हलमा राखिने छ ।

बझाङ

चैनपुर,बझाङ

बझाङमा ५५ देखि ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काँडा गाउँपालिकाका ५ वटा मतदान केन्द्रमा टेलिफोन सम्पर्क नभएकाले एकिन तथ्याँक आउन नसकेको जिल्ला निर्वाचन कार्यलयका प्रमुख धु्रबकुमार भण्डारीले जानकारी दिनुभयो । बझाङमा १ लाख ४ हजार ७ सय ७५ जना मतदाता रहेका छन् । बझाङमा पनि स्थानीय तहको चुनावमा भन्दा कम मत खसेको छ ।

मतपेटिका सदरमुकाम ल्याउने काम सुरु भएको छ । काँडा गाउँपालिकाको मत पेटिका सोमबार हेलिकप्टरबाट ल्याइने छ । बझाङमा चार ठाउँमा बम विष्फोट भएपनि कुनै क्षति भने नभएको प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले बताउनुभयो । मतपेटिका जिल्ला पशुसेवा कार्यालयको हलमा राखिने छ ।

सम्बन्धित शीर्षक