विप्लवजी आउनुहोस् बहस गरौं, हतियार किन उठाउनुपर्‍यो ? : खाँण र वर्षमान

१३ मंसिर, दाङ/  माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्द विप्लवलाई हतियार उठाउनुको कारणबारे बहसमा आउन अपिल गरेका छन् ।

 प्रेस सेन्टर र प्रेस चौतारी दाङले बुधबार विहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै  पुनले चन्दलाई हिजो सँगै हतियार उठाएका मित्रले अहिले गलत समयमा फेरी हतियार उठाएको भन्दै गुनासो गरे ।
‘हिजो आवश्यकता थियो र हामीले सँगै हतियार उठायौं तर अहिले यही संविधानबाट समाजवाद्, साम्यवाद्सम्म पुग्न सकिने ठाउँ छ,’ उनले भने,‘त्यसैले बम बिस्फोटलाई पैसा असुल्ने स्वार्थमा प्रयोग गर्नेतर्फ सजग हुनुपर्‍यो । हतियार गलत तरिकाले प्रयोग गर्दा भोलि तिनै कार्यकर्ताले नेतालाई नै सिध्याइदिने खतरा हुन्छ ।’

नाफा घाटाका लागि प्रयोग गरिने हतियार गलत तरिकाले प्रयोग हुने उनले बताए । अहिले कसकाविरुद्ध हतियार चलाउने भन्ने स्पष्ट नभएको धारणा उनले व्यक्त गरे । ‘विप्लवजीको हतियार अराजकता र अपराधिकरणका लागि प्रयोग हुन थालेको छ । उहाँका गतिबिधि आपराधिक र अराजनीतिक भैरहेका छन्,’ पुनले भने,‘हिजो जनयुद्धमा आमसभामा कतै बम बिस्फोट भएको थिएन तर अहिले सभाबाट बम हान्न शुरु भएको छ । यो राजनीतिक काम भएन ।’

त्यसैगरि कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले पनि बम बिस्फोट गराउने समूहलाई वार्तामा आउन आग्रह गरेका छन् । प्रेस यूनियन दाङले बुधबार विहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले हिंशात्मक गतिविधि रोकी तत्काल छलफलमा आउन आह्वान गरे ।

दश बर्षे सशस्त्र द्वन्द्वको समेत वार्ता र छलफलबाट व्यवस्थापन भैसकेको अबस्थामा हिंसात्मक गतिबिधिको कुनै अर्थ नभएकाले आफ्ना जायज माग छलफलमा ल्याउन उनले अनुरोध गरे ।

‘हिंसाबाट कहीं पुगिदैन । जनतालाई अधिकार सम्पन्न गराउने बेला बम पड्काएर के फाइदा छ ?,’  उनले भने,‘हामी तपाईंका मागहरुमा छलफल गर्न तयार छौं । वार्ताबाटै मागहरु पूरा गरौं ।’ यदी हिंशात्मक गतिबिधि गरिरहेको नेपाल कम्युनिष्ट पार्टी वार्ता र छलफलमा नआए कांग्रेस र सरकारले आबश्यक कडा कदम चाल्ने उनले चेतावनी दिए ।

तुलसीपुरमा मंगलबार भएको बम बिस्फोटबाट एक म्यादी प्रहरीको मृत्यु र आठ घाइते भएको घटनाप्रति भर्त्सना गर्दै उनले यस्ता घटना तत्काल रोक्न पनि आग्रह गरे । मृतकलाई शहिद घोषणा र घाइतेको निशुल्क उपचार व्यवस्था मिलाउन पनि उनले सरकारसँग माग गरे ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल घोराहीमै भए पनि पत्रकार भेटघाटमा बोल्न नचाहेपछि खाँणसँग पत्रकार भेटघाट गरिएको थियो । मंगलबार दाङका तुलसीपुर, घोराही र लमहीमा आयोजित सभालाई सम्बोधन गर्न देउवा, पौडेल लगाएतका नेताहरु हेलिकोप्टरमा आएका थिए । सभालाई सम्बोधन गर्ने क्रममा रात परेपछि नेताहरु घोराहीमै बसेका थिए ।