मुख्यमन्त्री बाँडफाँट : एमाले प्रदेश–१, ३, ४, ५, माओवादीलाई ६ र ७ को मुख्यमन्त्री

१४ माघ नेपालगञ्ज/ नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रदेश मुख्यमन्त्री र सभामुख बाँडफाँटको भएको छ । पूर्वसभामुख एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङको नेतृत्वमा गठित ६ सदस्यीय कार्यदलका सदस्यहरूले लामो गृहकार्य सहित अन्तिम टुंगो लगाएर कार्यदल बैठक बोलाएर टुंगो लगाएका हुन ।

कार्यदल सदस्यहरूबीच र एमाले अध्यक्ष केपी शर्मा ओली,माओवादी अध्यक्ष पुष्पकमल दाहालको सहमतीमा एमालेले चार र माओवादीले दुई वटा प्रदेशको मुख्यमन्त्री लिने सहमति भइसकेको छ ।

सात प्रदेशमध्ये ६ वटा प्रदेशमा स्पष्ट बहुमत रहेको वाम गठबन्धनले सोही सहमतिका आधारमा  सबै प्रदेशमा मुख्यमन्त्री, सभामुख र मन्त्रीको टुंगो लगाएको  हो ।

प्रदेश २ मा भने वाम गठबन्धनको बहुमत छैन । सो प्रदेशमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको गठबन्धनले बहुमत ल्याएको छ । कार्यदलमा ६ मध्ये ४ प्रदेशमा एमाले र २ मा माओवादी केन्द्रले मुख्यमन्त्री लिने सहमति भएको छ ।

एमालेबाट प्रदेश–१ मा सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई प्रतिस्पर्धामा छन् ।

प्रदेश ३ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्यहरू राजेन्द्र पाण्डे, पशुपति चौलागाईं, सानु श्रेष्ठसहित कैलाश ढुंगेल र केशव स्थापित दाबेदार छन् ।

प्रदेश ४ मा सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङबीच प्रतिस्पर्धामा हुनुहुन्छ ।
प्रदेश नम्बर ५ मा यसअघि नै एमालेका स्थायी समिति सदस्य शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति भइसकेको छ । त्यसैले, प्रदेश ५ मा पनि माओवादीको कुनै दाबी छैन । सो प्रदेशमा एमालेका वैचारिक नेता पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भइसकेको छ ।

माओवादीले प्रदेश ६ र ७ को मुख्यमन्त्री पाउनुपर्ने प्रस्ताव गरिसकेको छ । एमाले तर्फका सदस्यहरूले पनि सो प्रस्तावमा सहमति जनाइसकेका छन् । प्रदेश ६ का ४० सदस्य मध्ये एमाले एक्लैले २० स्थानमा जितेकाले एमाले संगठनले मुख्यमन्त्री नछोड्ने निर्णय गरेकाले केही समस्या देखिएको छ ।  कार्यदलले प्रदेशसभाको बढीमा १० प्रतिशत बराबरको मात्र मन्त्रि परिषद् बनाउने निर्णय पनि गरिसकेको छ ।