नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको बस कावासोती,डण्डामा दुर्घटना,२जनाको मृत्यु, ३२ जना घाईते

 

१३ असोज,नवलपरासी/ नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस नवलपरासीमा ट्रकसँग एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

दुर्घटनामा परि बस चालक बाँके कोहलपुर नगरपालिका ४ बस्ने २३ वर्षका सुरज विक र बर्दिया बढैयाताल गाउँपालिका २ बस्ने २४ वर्षका लक्ष्मण थारुको ज्यान गएको प्रहरीले बताएको छ ।पूर्व–पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको कावासोती –१६, मा शनिबार बिहान साढे ३ बजे बस र ट्रक एक आपसमा ठोक्किँदा घाइते भएका मध्ये ११ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

नेपालगन्जबाट छुटेको ना ७ ख ५६२९ नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७७१९ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका ११ जनाको भरतपुरमा, ४ जनाको मध्यविन्दु अस्पताल डण्डा र १७ जनाको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ ।