अझै लाजले उपचार गराउँदैनन् पाठेघर खसेका महिला

१७ जेष्ठ, डोटी । डोटीका अधिकांश आङ (पाठेघर) खसेका महिला अझै गाउँमै आफ्नो रोग लुकाएर बस्न बाध्य भएका छन् । समाजिक लोकलाजका कारण उनीहरु उपचार गराउन खुलेर अस्पताल आउन सकिरहेका छैनन् ।

जिल्लामा पटकपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भए पनि उनीहरु गाउँ समाजमा हुने लाजका कारण उपचार नगराई घरैमा बस्न थालेको जिल्ला अस्पताल डोटीका डा भुषण मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जिल्लामा कैयौं पटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्यो तर हाम्रो लक्ष्यअनुसार उहाँहरु आउनुभएन, कारण के भन्दा समाजको लाज रहेछ ।”

जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लामा करीब तीन÷चार दर्जन बढी पाठेघर खसेका महिला छन् । जो समाजमा हुने लाजका कारण खुलेर उपचार गराउन आउन सकिरहेका छैनन् । पाठेघर खसेका बारेमा श्रीमान्लाई भन्दा अर्को विवाह गर्लाकी भन्ने डरले श्रीमान्लाई पनि यो रोगका बारेमा खासै नभन्ने गरेको जोरायल गाउँपालिका वडा नं ५ गड्सेराकी तुलसी विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले गाउँघरमा अधिकांश महिला पाठेघरको समस्या भएको पाएका छौँ, उनीहरुले आफ्ना श्रीमान्लाई पनि दोस्रो विवाह गर्ने गर्ला भन्ने डरले नभन्ने गरेको बुझयौँ, श्रीमान्ले सहयोग गरे महिला उपचार गराउन आउने छन् ।”

आफ्नो ज्यान नै जोखिममा राखेर यहाँका महिला रोग लुकाउने गरेको डा भुषण मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “ज्यान जोगाउनबाट बचाउनुहुन्छ भने श्रीमतीलाई उपचार गराउन ल्याउनुहोस् ।” जिल्लामा पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिए पनि लाजका कारण महिला नआउने गरेको चिकित्सक बताउँछन् । निःशुल्क विद्युत् मिटर वितरण विपन्न नागरिकका लागि दिपायल सिलगढी नगरपालिकामा निःशुल्करुपमा विद्युत्का मिटर वितरण गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण अत्तरीयाका क्षेत्रीय प्रमुख सतिसकुमार कर्णले उक्त कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । दिपायल सिलगढी नगरपालिका वडा नं २ का आठ जना र वडा नं ५ का तीन जना गरी कूल ११ जनालाई निःशुल्करुपमा मिटर बक्स प्रदान गरिएको छ । सो अवसरमा क्षेत्रीय प्रमुख कर्णले नेपाल विद्युत् प्राधिकरण विद्युत् उत्पादन र बिक्री वितरण गर्ने भए तापनि सामाजिक दायित्व पनि उत्तिकै भएकाले विपन्न नागरिकलाई निःशुल्क सेवा प्रदान गरिएको बताउनुभयो ।

प्राधिकरणले अति विपन्न परिवारका लागि निःशुल्क विद्युत्को मिटर, एमसिवी र २ वटासम्म विद्युत् पोल वितरण गर्ने तथा सांस्कृतिक महत्व बोकेका सार्वजनिकस्थलमा पनि उक्त सेवा निःशुल्क प्रदान गरिरहेको विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र प्रमुख बुद्धिनाथ झाले बताउनुभयो ।

कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका कार्यवाहक नगरप्रमुख एवं उपप्रमुख शिवराज खड्काले बिजुली बाल्न नपाएर अँध्यारोमा बस्न बाध्य घरपरिवारलाई विद्युत् प्राधिकरणसँगको समन्वयमा नगरपालिकाले पहल गरिएको बताउनुभयो । मिटर, पोल र तारले मात्रै नपुग्ने भन्दै खड्काले ट्रान्सफर्मरको उचित व्यवस्था गरी प्रभावकारीरुपमा बत्ती बाल्ने व्यवस्थाका लागि प्राधिकरणसँग आग्रह पनि गर्नुभयो ।