चितवनमा विप्लव माओवादीका बम सहित २३ कार्यकर्ता पक्राउ-प्रहरी

२६ बैशाख, चितवन / निर्वाचन विरोधी गतिविधि गरेको भन्दै विप्लव माओवादीका २३ जना कार्यकर्तालाई चितवन प्रहरीले पक्राउ गरेको छ । सैन्य दस्ताका नौ सहित २३ जना विप्लव माओवादीका कार्यकर्ताहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा पार्टीका केन्द्रीय सदस्य एवं अखिल नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष कृष्णबहादुर परियार, अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष विष्णु कोइराला लगायतका नेता-कार्यकर्ताहरु छन् । पक्राउ परेकाहरुको साथबाट निर्वाचन बिथोल्न गर्ने कार्यक्रमहरुको तालिका समेत प्राप्त गरेको चितवन प्रहरीको दाबी छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले प्रधानमन्त्री प्रचण्डकी छोरी रेणु दाहाल र कांग्रेस खैरहनीका मेयरका उम्मेदवार राजेन्द्र चौधरीको गाडीमा आक्रमण गरेको प्रहरीको भनाइ छ । साथै जिल्लाका बिभिन्न क्षेत्रमा निर्वाचन विरोधी पर्चा पोष्टर टाँस्ने, स्थानीय तहका कार्यालयमा जनसत्ता कार्यालय लेख्ने काम पनि उनीहरुले नै गर्दै आएका छन् ।

चुनाव विरोधी गतिविधि गर्नेहरुलाई सार्वजनिक अपराधको मुद्दा चलाउन गृह मन्त्रालयले सर्कुलर जारी गरेपछि चितवन प्रहरीले विप्लव माओवादीका नेता-कार्यकर्ताहरुमाथि निगरानी बढाएको छ । जिल्लाका संवेदनशील स्थलहरु र शहरी क्षेत्रका चोक-चोकमा प्रहरीको उपस्थिति बढाइएको छ ।

चितवनका प्रहरी प्रमुख दिपक थापाका अनुसार निर्वाचन सुरक्षामा ३ हजार २ सय जनपथ प्रहरी र एकहजार दुई सय ५५ म्यादी प्रहरी परिचालन गरिएको छ । जिल्लालाई १० पकेट क्षेत्रका रुपमा विभाजन गरेर सुरक्षा मजबुत गराइएको थापाले बताए ।

जिल्लामा भएका १६१ मतदान केन्द्र मध्ये ४९ वटा सुरक्षाका दृष्टिकोणले अति संवेदनशील, ६० मतदान केन्द्र संवेदनशील र बाँकी केन्द्रहरु सामान्य रहेको प्रहरीले विश्लेषण छ ।

 विप्लवका कार्यकर्ता बमसहित चितवनबाट पक्राउ
 त्यसैगरी प्रहरीले चितवनको भरतपुर महानगरपालिका-४ शिवघाटबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई विस्फोटक पदार्थसहित पक्राउ गरेको छ ।

प्रहरीले उक्त समूहको सैन्य दस्ता सहकमाण्डर पुरन राई र इलाका सदस्य शंकर गुरुङ्गलाई पक्राउ गरेको हो । सैन्य दस्ता सहकमाण्डार राई निर्वाचन विरोधी गतिविधीका लागि चितवन, धादिङ्ग, नुवाकोट र रसुवाको कमाण्डर रहेको प्रहरीले बताएको छ ।

प्रहरीले उनीहरुको साथबाट एकथान नक्कली पेस्तोल, बम बनाउने प्रयोग हुने डेटोनेटर केप, तीन थान ग्रीनेट बम र केही विजुलीको चार समेत बरामद गरेको छ ।

यस्तै सानो परिणाममा फलामको टुक्रा, केही थान रसिद प्याड, चन्दा संकलनको चिठी लगायतका बन्दोबस्तीका सामाग्री पनि बरामद गरेको चितवन प्रहरी प्रमुख दिपक थापाले जानकारी दिएका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखेर आवश्यक अनुसन्धान गरिरहेको चितवन प्रहरी प्रमुख थापाले जनाएका छन् ।