हाम्रो संरचना बिहिबार, अशोज ७, २०७८ 665 Views

३ कार्तिक, नेपालगञ्ज/ नेपाल संवत् ११३८ देशभर शुक्रबार विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराउनु भएको थियो । 

नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभएको छ । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”

विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछिदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।  नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौँमा छ ।

म्हः (आत्म) पूजा  

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । आत्म पूजा शास्त्रीय भए पनि नेवार समुदाय बाहेक अन्य समुदायमा यसको प्रचलन छैन ।  आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ ।

त्यसैगरी बिहिबार गाईपुजा आज शुक्रबार गोरुको पुजा गर्ने चलन रहेको छ । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन, गोवर्धनपूजा। यो दिन प्रातःकालमा गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ। द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ।

भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर्धन पर्वतको ठूलो महत्त्व रहेको बताएपछि गोवर्धन पर्वतको पूजा गर्ने परम्परा बसेको पुराणहरूमा उल्लेख छ। गोवर्धन पर्वतको पूजाबाट प्रकृतिको संरक्षण गर्नुपर्ने र यसलाई विकृत पार्न नहुने सन्देश पाइन्छ। गोवर्धनपूजाका अवसरमा देवालय तथा अन्य बाटाहरूमा तोरण टाँग्ने लगायतका कार्य गरेर उत्सव मनाउने विधान छ।

रात्रिमा पनि नाचगान गरेर, पासा आदि खेलेर रमाइलो गर्ने सन्दर्भ आउँछ। यस अवसरमा रमाइलो गरेर बिताउनेको वर्ष रमाइलो हुने उल्लेख छ। उत्सव मनाउने, नाचगान गर्ने जस्ता पुराणका निर्देशअनुसार नेपाली समाजमा देउसी (द्यौसी) खेल्ने परम्परा छ। देउसीसँगै स्थान विशेषअनुसार बालन, खैंजडी भजन गाउने\खेल्ने चलन पनि छ। उत्सव गर्दै रात्रिमा बलिको पूजा गर्ने विधि पनि बताइएको छ ।

शुक्रबार नै गाई, गोरु पूजा पनि गरिँदैछ। गाई, गोरुको पूजा गरी अनुकुलको पदार्थ खुवाउने र खुल्ला छोडिदिने चलन छ। स्थानीय गाईको दूध बालकदेखि वृद्धसम्मका लागि उपयोगी मानिन्छ। दूधबाट बन्ने दही र घ्यु पनि पोषिला हुन्छन्। गोबर र गहुँतमा असाध्य रोग निको हुने अौषधीय गुण हुने बताइन्छ। गाईलाई सनातन हिन्दु समाजमा लक्ष्मीकै स्वरूप मानी पूजा गर्ने चलन छ। यसैगरी नेपालजस्ताे पहाडी भू–भाग भएको मुलुकका लागि कृषिकर्ममा गोरु ज्यादै उपयाेगी जनावर हो। नेपाली समाजमा श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधेको डोरो(रक्षासूत्र) यो दिन गाईका पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपश्चात् वैतरणी नदी तर्न सजिलो हुन्छ भन्ने लोकविश्वास छ।