हुम्ला जिल्ला प्रहरी कार्यालयको हिरासतबाट २ जना कैदी फरार

रत्न भण्डारी (रबिन)/हुम्ला

२५ जेठ,हुम्ला/  हुम्ला जिल्ला प्रहरी कार्यालयको हिरासतबाट शुक्रबार बिहान २ जना कैदी फरार भएका छन । फरार हुनेमा  हुम्लाको चंखेली गाउपालिका ३, मिमिका लोकेन्द्र बुढा र  खार्पुनाथ गाउँपालिका ४ छिप्राका लेखे नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक बिष्णु बहादुर सिंहले जानकारी दिए ।

लोकेन्द्र बुढा  कर्तब्य ज्यान मुद्दामा पुर्पक्षका लागि ७ महिना अघि कारागार चलान गरिएका  लेखे नेपाली चोरी तथा सार्बजनिक अपराध सम्बन्धि मुद्दा लागि १० हजार धरौटीको रकम भुक्तान गर्न नसकेर जेलमा बसीरहेका थिए

जिल्लामा कारागार भवन व्यवस्थित नहुँदा कैदीहरुलाई ७ बर्ष देखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्ने गरिएको छ । हिरासतमा रहेका कैदीहरु शुक्रबार बिहान ३ देखि ५ बजे भित्र भागेको हुन सक्ने आशंका गरे पनि आफुहरुले बिहान ५ बजे मात्र थाहा पाएको निरीक्षक सिंहले बताए ।

फरार भएको थाहा पाउने बितीकै शंकास्पत स्थानका साथै जिल्ला भरी नै प्रहरी परिचालन गरीएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रबिन श्रेष्ठका अनुसार खोजतलासका क्रममा कर्तब्य ज्यान मुद्दाका लोकेन्द्र बुढा लाई सिमकोट गाउपालिका ८ याङगुगाउँ माथिको जंगलमा भागीरहेको अबस्थामा प्रहरीले फेला पारेकोछ भने सार्बजनिक अपराध सम्बन्धि मुद्दाका लेखे नेपाली अझै फरार छन् ।

जिल्ला प्रहरी कार्यालय भित्र २४ सै घण्टा कडा सुरक्षा घेरामा रहेको हिरासतबाट यसरी कैदी फरार हुदा यसमा कतै नेपाल प्रहरीको नै संलग्नता त छैन भन्ने कुराको टिकाटिपणी हुन थालेको छ । कैदी सुरक्षा घेराबाट कसरी भागे ? यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘यसमा कोही कसैको संलग्नता भएको पाईएमा कडा भन्दा कडा कार्बाही गर्छौं’ प्रहरी प्रमुख डिएसपी श्रेष्ठले भने