नेपालगञ्जमा मुलुककै पहिलो पूर्ण स्वचालित पम्प सञ्चालनमा ल्याउने अन्तीम चरणमा

३१ साउन, नेपालगञ्ज/ नेपाल आयल निगम लिमिटेडले नेपालगञ्जमा मुलुककै पहिलो पूर्ण स्वचालित प्रविधिको आधुनिक पेट्रोल पम्प निर्माण अन्तिम चरणमा पु–याएको छ ।  आगामी असोजबाट सञ्चालनमा ल्याउने गरि निर्माण गरिरहेको  पेट्रोलपम्पको अन्डरग्राउन्डमा हालसम्मकै धेरै १ लाख ७ हजार लिटर तेल अटाउने ५ ट्यांकी राखिएको छ ।

नेपालगञ्जको रांझा स्थित निगमको इन्धन डिपो प्रमुख कमला न्यौपानेका अनुसार २५/२५ हजार लिटर क्षमताका ३ वटा डिजेलको अन्डरग्राउन्ड ट्यांक छन भने  पेट्रोलको १६/१६ हजार लिटरको २ अन्डरट्यांक छन।

आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा कार्यरत प्रबन्धक शैलेन्द्र भुसालका अनुसार पम्प परिसरमा ५ वटा डिस्पेन्सिङ मेसिन राखिनेछ । यसमा डिजेलको २ वटा र पेट्रोलको ३ वटा डिस्पेन्सिङ हुनेछ । ‘प्रत्येक डिस्पेन्सिङ मेसिनमा २/२वटा नोजल हुन्छ । जसकारण पेट्रोलमा ६ वटा र डिजेलमा ४ वटा नोजल हुन्छ’ जस्को सहायताले एकैपटकमा १० वटा सवारीसाधनमा इन्धन भर्न सकिन्छ ।

डिस्पेन्सिङ मेसिन आधुनिक प्रविधिको हुने भएकाले उपभोक्ताले सवारी साधनमा इन्धन भर्दा परिमाण, कुल मूल्य र प्रतिलिटर मूल्यका बारेमा सहजै जानकारी पाउन सकिन्छ भने अन्डरग्राउनका पाँचवटै भर्टिकल ट्यांकमा एउटा चिप्सको सहायताले अन्डरग्राउन्ड ट्यांकीमा कति तेल छ भनेर कम्प्युटर वा लिंक जोडिएको मोबाइलमा देखाउँछ ।

चिप्सले तेलको मात्रा, गुणस्तर, तापक्रम, घनत्व, पानीको मात्रा लगायतका विषयमा जानकारी दिन्छ। त्यस्तै, डिस्पेन्सिङ मेसिनमा समेत अन्डरग्राउन्डबाट आएको तेल नोजलको सहायताले उपभोक्ताको सवारी साधनमा गएको विवरण दिने सेन्सर राखिएको छ ।

पम्प परिसरमा विशेष किसिमले अर्थिङ गरिएको छ । जसका कारण जुनसुकै सवारीसाधन तीव्र गतिमा तातेर आए पनि स्पार्क भई आगलागीका घटना हुने सम्भावना रहँदैन । यो विश्वस्तरीय मापदण्डले निर्दिष्ट गरेको अर्थिङ सिस्टम जडान गरेका गरिएको छ ।

पम्प परिसरमा बैंकको एटिएम सेन्टर र डेबिट तथा क्रेडिट कार्ड ‘स्वाइप’ गर्ने मेसिन समेत जडान हुनेछ । यस्तो मेसिनले उपभोक्ता आफैँले तेल भर्ने सुविधा जडान गर्न सहज हुनेछ । विकसित देशमा उपभोक्ताहरू गाडीमा आफैँ तेल भर्ने गरेको उदाहरण रहेकाले, ‘पम्पमा आएका उपभोक्ताले कति मूल्यको तेल हाल्ने हो, त्यसका लागि डेबिट वा क्रेडिट कार्ड स्वाइप गरी भुक्तानी गर्नुपर्छ ।

कार्ड स्वाइप गरेर मूल्य तिरेपछि डिस्पेन्सिङ मिटरमा त्यति नै मूल्य बराबरको मात्रै तेल हाल्न पाउने गरी परिमाण देखिन्छ । त्यसपछि उपभोक्ताले नोजलको सहायताले गाडीमा तेल हाल्दा रकम बराबर आउने तेल मात्रै खसेर नोजल आफैँ बन्द हुने भएकाले यो प्रविधि प्रयोगमा ल्याउन प्रयास भइरहेको आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा कार्यरत प्रबन्धक शैलेन्द्र  भुसालले जानकारी दिनुभएको छ ।

नेपालगञ्जका मुख्य बजार क्षेत्रमा गैर कानुनीरुपमा सञ्चालन हुदै आएका पम्पहरुलाई बिस्थापन गर्न उक्त आधुनिक पम्प सञ्चालनमा ल्याउन लागेको हो ।यो पम्प निगमले कति लागतमा निर्माण गर्न लागेको उक्त बिषयमा भने हालसम्म खुलाइएको छैन । यो समाचार नयाँ पत्रिका दैनिकका लागि अजित अधिकारीले तयार पार्नुभएको हामीले लिएका हौ ।