मुगुको सोरुकोट स्थित खौलाचौर फिल्ड निर्माणमा भ्रष्टाचार : प्रशासकिय अधिकृत, इन्जिनियर सहित ७ जनालाई अख्तियारको मुद्धा 

नेपालगञ्ज १९ माघ/  कर्णाली प्रदेशको मुगु जिल्ला सोरु गाउँपालिका, वडा नम्बर ६, सोरुकोट स्थित खौलाचौर फिल्ड निर्माणको नाममा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, सब-इन्जिनियर मनोज धामी र सब–इन्जिनियर जगत बहादुर मल्ललाई बुधबार बिशेष अदालतमा मुद्धा दायर गरिएको छ ।

मुगु जिल्ला सोरु गाउँपालिका, वडा नम्बर ६ सोरुकोटस्थित खौलाचौर फिल्ड निर्माण योजनामा गलत नापी किताब तयार गर्ने, नापी किताब चेकजाँच गर्ने, सो नापी किताब स्वीकृत एवं फिल्डमा नभएको कामको मूल्याङ्कन गरी नापी किताब तयार गरी उपभोक्ता समितिलाई १५ लाख ४४ हजार ९ सय ३०रुपैया ३६ पैसा बढी रकम भुक्तानी गरेको भन्दै निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को देहाय ग र ङ बमोजिमको कसूर गरेको आयोगले अभियोजन पत्रमा उल्लेख गरेको छ ।

उक्त अभियोजन पत्रमा अभियुक्तहरु परशुराम उपाध्याय, मनोज धामी र जगत बहादुर मल्ल उपर बिगो १५,४४,९३०.३६ कायम गरी सोही ऐनको दफा ८ को उपदफा १ बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर गर्न माग दाबी गरेको छ ।

गलत बिल स्वीकृत गरी गलत प्रतिवेदन तयार गरि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा २ बमोजिमको कसूरसमेत भएको हुँदा निजहरु परशुराम उपाध्याय, मनोज धामी र जगत बहादुर मल्ललाई दफा १९ को उपदफा २ बमोजिम कैद र जरिवाना हुन समेत मागदाबी लिइएको छ।

यसैगरी सोरुकोट खौलाचौर फिल्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष रतन बहादुर शाही, सचिव धर्म बहादुर मल्ल र कोषाध्यक्ष धनदेवि छत्याल शाहीले पनि सोरु गाउँपालिका, वडा नंम्बर ६, खौलाचौर फिल्ड निर्मांण कार्य सम्झौता विपरित फिल्डमा नभएको कार्य नापी किताबमा चढाई भुक्तानी लिने कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ४ बमोजिमको कसूर गरेको देखिँदा निजहरु पनि बिगो १५,४४,९३०.३६ कायम गरी सोही ऐनको दफा ८ को उपदफा ४ बमोजिमको सजाय हुन एवं बिगोसमेत निजहरुबाट दफा ८ को उपदफा ४ बमोजिम जफत हुन समेत मागदावी लिइएको छ।

साथै सोरु गाउँपालिका वडा नम्बर ६ का तत्कालीन वडा अध्यक्ष मन प्रसाद भट्टले फिल्डमा हुँदै नभएको काम पनि कार्य सम्पन्न भएको भनी भुक्तानी गरिदिनको लागी सिफारिस गरी गलत प्रतिवेदन गरेको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा २ बमोजिमको कसूर गरेको देखिँदा निज मन प्रसाद भट्टलाई सोही ऐनको दफा १९ को उपदफा २ बमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारी प्रेस विज्ञप्ति मार्फत जनाउनु भएको छ ।

सम्बन्धित शीर्षक