कर्णाली प्रदेशमा कोरोना समूदाय स्तमा फैलिएको आशंका: ९ स्वास्थ्यकर्मि र ३२ जना सुरक्षाकर्मी संक्रमित,प्रदेशका ३ वटा अस्पतालमा सेवा बन्द

१२ असार, सुर्खेत/  २ जना चिकित्सक सहित ९ जना स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित पाईएपछी  बिहीबार देखि कर्णाली प्रदेशका २ वटा ठूला अस्पतालको आपतकालिन सेवा बाहेक अन्य सेवाहरु बन्द गरिएको छ भने जिल्ला अस्पताल सल्यान  पूर्णरुपमा सिल गरिएको छ ।

सुर्खेतको बीरेन्द्रनगरमा रहेको प्रदेश अस्पताल, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सल्यानको जिल्ला अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिए पछी अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सेवाहरु बन्द गरिएको छ ।

कर्णाली प्रदेशका ३ वटा अस्पताल गरि २ जना चिकित्सक सहित ९ जना स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित पाईएका छन् ।  कर्णाली प्रदेशको सुर्खेतमा रहेको कोरोना विशेष अस्पतालको संयोजन गरिरहनुभएका १ जना वरिष्ठ चिकित्सक र अर्का एक जना चिकित्सक गरि २ जना चिकित्सकमा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिनुभएको छ।  उहांका अनुसार १ जना एचए र ६ जना प्रयोगशालाकर्मी गरि ९ जना संक्रमित भएको पाइएको हो ।

कोरोना संक्रमित चिकित्सकलाई प्रदेश अस्पतालको क्वाटरमा बनाइएको आइसोलेसनमा राखिएको र हाल सम्म संक्रमितहरुमा  कोरोनाको कुनै लक्षण नदेखिएको निर्देशक खड्काले बताउनु भयो । खड्काले केही समयका लागि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरेर थप संक्रमण फैलन नदिन सावधानी अपनाएर टेसिंगको काम भईरहेको जानकारी दिनुभएको छ ।

त्यसैगरि जुम्लाको सदरमुकाम खलंगामा रहेको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा पनि स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि शिक्षण अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सेवाहरु बन्द गरिएको छ ।

अस्पतालका निर्देशक डा. मंगल रावलले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै संक्रमणको थप जोखिम भएकाले अनिश्चितकालका लागि अस्पताल बन्द गर्नुपरेको जानकारी दिनुभएको छ । बिज्ञप्तीमा स्वास्थ्य कर्मिहरु कोरोना संक्रमण पाईएपछी उहांहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीको पीसीआर परीक्षण गर्ने तयारी गरिएको बताउनुभएको छ ।

कर्णाली प्रदेशकै सल्यान जिल्लाको जिल्ला अस्पताल पनि बिहीबारदेखि अनिश्चितकालका लागि सिल गरिएको छ । कोरोना भाईरस संक्रमण देखिएका स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिएको छ । समुदायस्तरमा संक्रमण फैलन नदिन अस्पताल सिल गरिएको अस्पतालका प्रमुख डा. अर्जुन बुढामगरले बताउनुभएको छ । उहांका अनुसार गत असार ५ गते जिल्ला अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरी आरटिपीसीआर परीक्षणका लागि बीरेन्द्रनगर सुर्खेतमा पठाइएकोमा जिल्ला अस्पतालमा कार्यरत १ पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला अस्पतालबाट समूदायमा कोरोना संक्रमण फैलिन नदिन जिल्ला अस्पताल ततकाल सिल गरि केसको ट्रेसिंग गरेर थप नमुना संकलन गरि समुदायमा कोरोना संक्रमण फैलने जोखिम कम गर्न अस्पताल सिल गरिएको बुढामगरले बताउनु भएको छ ।

पीसीआर रिपोर्ट नआउँदै जेष्ठ महिनाको तेस्रो साता क्वारेन्टाइनबाट घर गएका दैलेख नारायण नगरपालिकाका ८७ जना व्यक्तिमा कोरोना संक्रमणको रिपोर्ट उनिहरु घर गएपछी देखिएको थियो । रिपोर्ट आउनु अघि क्वारेन्टाइनबाट घर गएका उनीहरू कम्तीमा ३ देखि ५ दिनसम्म घरमा गएर बसिसकेका थिए । उनिहरु मार्फत समूदायमा कोरोना संक्रमण गरिएको पनि त्यसमाकुनै कदम चालिएको छैन ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार बिहीबार मात्र ३२ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  यसले पनि कोरोना संक्रमण तीव्र रूपमा फैलिइरहेको देखाउँछ ।

मन्त्रालयले समुदाय स्तरमा संक्रमण पहिचान गर्न जनस्वास्थ्य अधिकृत बिर्ख बहादुर शाहीको नेतृत्वमा कन्ट्रयाक्ट ट्रेसिङ टिम गठन गरिए पनि पहाडमा फैलिएको बस्तीमा के कसरी ट्रेसिङको काम गर्ने भन्ने अलमलिएर बसेको छ ।उक्त टिम स्थानीय तहसँग समन्वय गरी समुदायमा संक्रमण देखिएका केसका आधारमा स्वाब संकलन गर्ने योजना बनाइएको बताइए पनि काम भने थालनी गरिएको छैन ।

असार ११ गते बिहीबार सम्म कर्णाली प्रदेश भरीमा १ हजार ४ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ५ जनाको मृत्यु भएको र ६ सय ९२ जना निको भएर घर फर्किएका छन् ।

दैलेखमा पीसीआर मेसिन जडान

संक्रमितको संख्या बढ्दै गएपछि परीक्षणको दायरा बढाउन दैलेखमा पीसीआर मेसिन जडान गरिएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको करिब १ करोड ३० लाख रुपैयाँ लगानीमा मेसिन खरिद गरिएको हो ।

मेसिन नहुँदा जिल्लामा संकलन गरिएको स्वाब परीक्षणका लागि प्रदेश अस्पताल, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाउनुपर्ने बाध्यता थियो । रिपोर्ट आउन हप्तौं कुनुपर्ने समस्या हल गर्न दैलेखमै जिल्ला प्रकोप ब्यवस्थापनको निर्णय अनुसार मेसिन जडान गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताउनु भएको छ ।

प्रयोगशाला सञ्चालनका लागि काठमाडौंबाट ६ जना प्राविधिकको टोली ल्याइएको छ । आवश्यक उपकरण जडानको काम सकिएपछि २/३ दिनभित्रै परीक्षण सुरु गरिने दैलेख जिल्ला अस्पतालका ल्याब इन्चार्ज शंकर शाहीले बताउनुभएको छ । शाहीले सुरुमा ५ वटा नमुना परीक्षण गरी पुनः परीक्षणका लागि नेपालगञ्ज पठाइनेछ र दुवै ठाउँको रिपोर्ट एउटै आएपछि परीक्षणलाई तीव्रता दिइने छ ।  जिल्ला अस्पतालमै परीक्षण सुरु भएपछि संकमितहरुको सम्भाबीत ट्रेसिंगको आधारमा स्वाब संकलन गर्न गाउँ–गाउँमा स्वास्थ्यकर्मी खटाइएर कोरोना समूदायमा फैलिन रोक्ने गरि कार्य अगाढी बढाउने गरि कार्य भैइरहेको शाहीले जानकारी दिनु भयो ।

दैलेख जिल्ला अस्पताल प्रमुख डा. नीरञ्जन पन्तले दैलेख जिल्लामा बिहिबारसम्म ७ सय ३६ जना ब्यक्तीमा कोरोना संक्रमण पुष्टि भएको र २ जनाको मृत्यु भएको छ भने १ हजार ७ सय ९९ जना क्वारे क्वारेन्टाइनमा र ३ सय ६९ जना आइसोलेसनमा रहनुभएको छ ।