२० वर्षपछि पनि नेपालगञ्ज बासीले छाने उनै पुराना मेयर धवललाई , कस्ले कुन वाडमा कति मत पाए चार्टमा हेर्नुहोस

  • कृष्ण अधिकारी
  • नेपालगन्ज, असार २०/

२० वर्ष अघिको स्थानीय चुनावमा नेपालगञ्जले आफ्नो मेयर बनाएको थियो धवल शमशेर राणालाई। उनी एमालेका उम्मेदवार थिए। यो बीचमा देशको राजनीति र स्वयं धवलको राजनीतिक यात्राले धेरै मोडहरु लियो। धेरै कुरा फेरिए। नेपालगञ्ज आफैं नगरपालिकाबाट उपमहानगरपालिका भयो।

तर नेपालगञ्जका मतदाताको मत फेरिएन। उनीहरुले २० वर्षपछि उनै धवललाई अत्याधिक मत दिएर जिताएका छन्। यहाँ धवलले आफ्ना प्रतिस्पर्धीलाई धेरै नै मतको मात दिएर जिते। स्थानीय तहको निर्वाचनमा देशैभर धक्का खाइरहेको राप्रपालाई भने उनको यो जितले प्राण दिएको छ।

नेपालगञ्ज जस्तो धार्मिक हिसाबले संवेदनशील शहरमा यस्ता पार्टीका उम्मेदवारले जितेका छन् जसले हिन्दु धर्म नेपाली राज्यको धर्म हुनुपर्छ भनेर वकालत गर्दै आएको छ। जबकि नेपालगञ्ज शहर मुस्लिम बहुल छ। यो शहरले धवललाई अत्याधिक भोट कसरी  दियो भन्ने अहिले धेरैको चासोको विषय हो।

एक मुस्लिम बुद्धिजीवीले नाम नबताउने शर्तमा सेतोपाटीसँग भने,‘नेपालगन्जका मुस्लिमले मुस्लिम समुदायकै  मेयर भन्दा पनि मुस्लिम समुदायलाई साथ र संरक्षण गर्ने नेता खोज्ने क्रममा धबललाई रोजका हुन्।’

अल्पसंख्यक  मुस्लिम समुदायले राज्य र सरकारबाट जहिले पनि संरक्षण चाहन्छ त्यो संरक्षण धबलले दिन सक्छन भन्ने आकलन गरेर मुस्लिम मतदाताले धबललाई भोट दिएको उनको तर्क छ।‘त्यसमाथि यो स्थानीय तहको चुनाव हो। यो बेला पार्टीले के भन्छ सोचेर काम छैन। यहाँ त उम्मेदवार कस्तो छ भन्ने हेर्ने हो,’ ती वुद्धिजीवीले भने ।

मुस्लिम समुदायमा यस्तो विश्वास जगाउने रणनीति भने धवलकै थियो। पार्टीका केन्द्रिय महामन्त्री समेत रहेका धवलले  नेपालगन्जका पाँचवटा वडामा त मुस्लिम यूवालाई वडाअध्यक्षको उम्मेदवारी दिलाए। जसले मुस्लिम मतदातालाई आकर्षित गर्न सहज भयो ।

बुर्का लगाउनुपर्ने धार्मिक चलनका कारण मुस्लिम किशोरीहरुलाई अन्य कलेजमा गएर उच्च तहको शिक्षा आर्जन गर्न समस्या छ।उनले मुस्लिम किशोरीलाई उच्च तहको अध्ययनका लागि छुट्टै कलेज खोल्ने घोषणा गरेका छन्। उनको त्यो घोषणाले पनि मुस्लिम महिला र किशोरीहरुको धेरै मत तान्न सक्यो।

उनी आफैंले पनि विकास निर्माणप्रतिको आफ्नो प्रतिबद्धतालाई यहाँका जनताले विश्वास गरेको भएर धेरै मत आएको मान्छन्।  उनले भने,‘यसपाली धर्मलाई भन्दा विकासनिर्माण लाई हेरियो। डेभलभमेन्टबारे मैले गरेको कुरालाई विश्वास गरेर मतदाताले मालई यति धेरै मत दिएका हुन्।’

उनले एमाले कांग्रेस र माओवादीका भोटपनि पाएको देखिन्छ। किनभने उनीहरुले वडा अध्यक्ष जितेका ठाउँबाट पनि धवललाई मेयरमा भोट बढी आएको छ।

यसअघि मेयर हुँदाको उनको कार्यकाल धेरै राम्रो मानिएको थियो। यहाँको विकास निर्माणकोबारे कुरा चल्दा पहिले नाम पनि उनैको आउँछ। वुद्धिजीवी, काम गर्ने आँट र पहुँच भएको मानिस भनेर यहाँका जनताले उनलाई चिन्छन्। सम्पन्न परिवारमा भएपनि उनी मिलनसार र सरल भएकाले यहाँका जनतामा उनको प्रभाव राम्रो छ।

स्थानीय विकास र नगरपालिका भन्ने विषयमै धवलले पिएचडि गरेका छन्। २०५४ सालको मेयर हुँदा आफ्नो तलब भत्ताको रकमबाट नेपालगन्जको भेरी अंचल अस्पताल परिसरमा बिरामीका आफन्तहरुका लागि कुरुवा घर बनाइदिएका थिए। यसपालि पनि उनले आफुले तलब नलिने घोषणा गरिसकेका छन्।

‘नेपालगञ्जको विकासका लागि उहाँले यसअघि  गरेका काम पनि यहाँका जनताले विर्सेका छैनन्। त्यसैले उहाँको धेरै भोट आएको हो। मेरो दाजु एमालेको वडा अध्यक्षमा नउठेको भए म उहाँको लागि खुलेरै भोट माग्न हिँड्ने थिएँ,’  मोविन सिद्धिकिले भने।

उनी मोर्डन स्कुलका पूर्व विद्यार्थी हुन्। यो स्कुल धवल र उनकी श्रीमति प्रतिमा राणाले सञ्चालन गरेका थिए। पछी अर्कैलाई चलाउन दिए।त्यसबाहेक नेपालगञ्जमा धवलका कृषि फार्म, रिसोर्ट जस्ता व्यवसाय पनि छन्। जसले यहाँ धेरैलाई रोजगारी दिलाएको छ। नेपालगञ्जसंगको यस्तो साइनो भएका धवलको राजनीतिक यात्रा भने निकै घुमाउरो छ।

उनी २०५१ साल बाट राजनीतिमा सक्रिय छन्। २०५४ सालको स्थानीय निर्वाचनमा मेयर हुँदा उनी एमाले थिए। एमालेको चरम गुटबन्दी चित्त नबुझेपछि उनी २०५८ सालमा पशुपति शमसेरको राप्रपा पार्टीमा गए। त्यतिखेर राजाले उनलाई मन्त्री बनाउँदै छन् भन्ने हल्ला चल्यो।

पछि राजाले प्रस्ताव गरेपनि आफु टिके मन्त्री नभएको उनी बताउँछन्। राणासँग पनि चित्त नबुझेपछी उनी कमल थापाको राप्रपामा छिरे। अहिले यी दुवै राप्रपा मिलेर बनेको एकिकृत राप्रपाको महामन्त्री छन्। हुन त यो उनको पाँचौँ यो चुनावी प्रतिस्पर्धा हो। विगतका ४ वटा चुनावमध्ये उनले तीनवटा चुनाव हारिसकेका छन्। ती संसदीय चुनाव थिए।

यसअघि उनी नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको विरुद्ध उठेका थिए। चुनाव जिते प्रधानमन्त्रीका दाबेदार थिए कोइराला। उनी विरुद्ध उठेका धवल झिनो मतले मात्र पराजित भए। त्यतिबेला पनि धवलकै कारण नेपालगञ्जबासीले गाई चिन्हमा धेरै भोट हालेका थिए।

नेपालगन्जको विकासमा अन्य नेताले ध्यान नदिएका कारण विकासप्रेमी नेताको छबि बनाएका धवललाई मतदाताहरुले जिताएको कतिपयको बुझाइ छ।

उनले पटकपटक गरेका भ्रष्टाचार विरोधी भाषणको समेत यहाँ राम्रो प्रभाव छ। कुनै बेला नेपाल कै प्रमुख चार शहर मध्येको एक शहर  थियो नेपालगन्ज । २०१७ साल मै नगरपालिका बनिसकेको नेपालगन्ज ५४ बर्ष पछि बल्ल उप महानगरपालिका घोषित भएको हो। तर उप महानगरपालिकाका लागि आवश्यक पर्ने पुर्वाधार यहाँ छैनन्, भएपनि गतिला छैनन्।

कुनै बेला मध्य र सुदुरका २४ जिल्लाको केन्द्रको रुपमा रहेको नेपालगन्ज संघीय राजधानीका लागि प्रस्तावित सम्म छैन। अन्तर्राष्ट्रिय विमानस्थल , सुख्खा बन्दरगाहा, बिशेष औद्योगिक क्षेत्र, रिङ रोड, नेपालगन्ज विश्वबिद्यालय  र हुलाकी सडक जस्ता नेपालगन्जको विकासका आधारहरु लामो समय देखि अलपत्र अवस्थामा छन। तर ती योजनाहरुलाई कार्यान्यनको तहमा लैजान सक्ने आँट र क्षमता नेपालगन्जका अन्य नेताहरुमा देखिएको छैन।

यसपाली आफ्नो मत मार्फत जनताले यी समस्या सुल्झाउन सक्ने उनै हुन् भनेर विश्वास गरेको देखिन्छ। धवलले यो विश्वासलाई खेर जान नदिने बताएका छन्।‘जनताले मालाई विकास निर्माणका काम गर्न सक्छ भन्ने ठानेर यत्रो मत दिएका हुन्। यो विश्वास म खेर जान दिन्न। नेपालगञ्जलाई स्वच्छ, सुरक्षित  र आकर्षक सहर बनाउन म मेयर भएकै दिन देखि लाग्ने छु,’ उनले भने।