काठमाण्डौबाट धनगढी तर्फ गइरहेको यात्रुबाहक बस बांकेमा दुर्घटना,३जनाको मृत्यु,१०जना घाइते

२४ असोज,नेपालगञ्ज/ काठमाण्डौबाट धनगढी तर्फ गइरहेको ना ४ ख ८२५५ नम्बरको यात्रुबाहक बस पूर्व–पश्चिम राजमार्गकमा पर्ने बाँकेको राप्ती सोनारी–१ स्थित लौकीखोला पुल नजिकै दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका  प्रहरी निरिक्षक नवराज पोखे्रलका अनुसार सो घटनामा परेर मृत्यु हुने दुई जनाको सनाखत भएको छ । एक जनाको सनाखत हुन बाँकी छ ।

बैतडि रुद्रेश्वर गाउपालिका–४ बस्ने ४५ वर्षिय बाहिनी बोहरा र भद्रपुर–४ नेटा डडेलधुरा घर भई नेपाली सेनाको सुर्यदल गण बिराटनगरमा कार्यरत १९ वर्षिय रविन्द्र पाण्डे रहेको र एक जना अधबैशे पुरुषको सनाखत हुन बाँकी रहेको छ ।
बिहान करिव सवा १० बजेतिर बाँके राष्ट्रिय निकुञ्जको चेकपोष्ट पार गरेर करिव एक किलोमिटर दुरी पार गर्ने बित्तिकै सो बस दुर्घटना भएको थियो ।

मृतक सेनाका जवान पाण्डे सोही चेक पोष्टबाट धनगढी जानको लागि बस चढेको जानकारीमा आएको छ ।
सो घटनमा परी घाइते भएका सबैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । घाइते मध्येका सोही बसका सञ्चालक घोडाघोडी–१० का २७ वर्षि याम प्रसाद पौडेलको अवस्था अत्यन्त चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।