जिल्ला तहको कुनै पनि सुनुवाई नभएको कारण पार्टीका असन्तुष्ट कार्यकर्ताले तालाबन्दी गरे : किरण कोईराला,नेपाली काँग्रेस बाँकेकी सभापति

१६ कात्तिक, नेपालगञ्ज / आगामि मंसिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि टिकट वितरणमा केन्द्रले मनोमानी गरेको भन्दै असंतुष्ट काँग्रेसजनले काँग्रेस पार्टी कार्यालय बाँकेमा तालाबन्दी गरेका छन् ।  
बाँके क्षेत्र नं. २ मा नेपाली कांग्रेसले राप्रपालाई समर्थन गर्ने सहमति गरेपछि जिल्लामा कार्यकर्ता भित्र असन्तुष्टि बढेको हो । पूर्व पार्टी सभापति स्व. सुशील कोईरालाको निर्वाचन क्षेत्रमा उनको सम्मानको लागि भएपनि काँग्रेसले क्षेत्र छोड्न नहुने भन्ने कार्यकर्ताको मनोभावना रहेको कारण तालाबन्दी भएको हो ।

बाँके क्षेत्र नं. २ मा नेपाली कांग्रेसले राप्रपालाई समर्थन गर्ने सहमति गरेपछि  पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति स्व.सुशील कोइरालाको क्षेत्र हो । यहाँ राप्रपाका ओम प्रकाश आजादलाई कांग्रेसले समर्थन गर्ने निर्णय गरेको छ ।

अर्कोतिर पार्टी केन्द्रले जिल्ला र क्षेत्रबाट सिफारिस नै नगरेका व्यक्तिलाई टिकट दिएको भन्दै नेपाली काँग्रेस कोहलपुर नगर कमिटीका सभापति बलराम शर्मा र महासमिति सदस्य दुखी लोनियाले पार्टीबाट राजिनामा दिएका छन् ।

‘पार्टी केन्द्रले न्यायोचित काम नगरेको कारण मैले राजिनामा दिएको हुँ’–बाँके निर्वाचन क्षेत्र नं.३ ख का दावेदार रहेका दुखि लोनियाले भने । पार्टीले सो क्षेत्रबाट युवा नेता तथा सञ्चार उद्यमी लक्ष्मीनारायण शाहलाई उम्मेदवार बनाएको छ ।

जिल्ला तहको कुनै पनि सुनुवाई नभएको कारण पार्टीका असन्तुष्ट कार्यकर्ताले तालाबन्दी गरेको नेपाली काँग्रेस बाँकेकी सभापति किरण कोईरालाले बताईन । उनले भनिन–‘जिल्ला, क्षेत्र तथा नगरले सिफारिस गरेर पठाएकाबाट उम्मेदवार नपरेको भन्दै असन्तुष्टि चुलिएको हो ।’ उनले उम्मेदवारी दर्तागर्ने दिनमा यस्तो कार्यले राम्रो संकेत नदिने बताईन ।