उदयपुरमा एम्बुस विष्फोट : कांग्रेस उम्मेदवार कार्की सहित ६ जना घाइते

१३ मंसिर, उदयपुर/ उदयपुर जिल्लाको उदयपुरगढी नगरपालिका-६  दनुवारबेसीमा उम्मेदवारलाई लक्षित गरेर बुधबार बम विस्फोट हुँदा  प्रतिनिधिसभा क्षेत्र नम्बर २ का कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की सहित ७ जना घाइते भएका छन् । 
उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठका अनुसार चुनाव प्रचारमा प्रयोग भएको बा १५ च ७८०६ नम्बरको गाडीलाई लक्षित गरी बम विस्फोट भएको हो । विस्फोटमा परि घाइते हुनुभएका कांग्रेस उम्मेदवार कार्कीको अवस्था गम्भीर रहेको छ ।

कांग्रेस कार्यकर्ता मिरा कटुवाल, धनमाया धौलाकोटी र गाडी चालक राजन कार्की पनि घाइते हुनुभएको छ । कटुवालको दुवै खुट्टामा गम्भीर चोट लागेको छ । यसैगरी प्रहरी हबलदार कृष्ण श्रेष्ठ र प्रहरी जवान कालिदास श्रेष्ठ पनि घाइते हुनुभएको छ । अन्य घाइतेको नाम खुलेको छैन् । घाइते सबै कांग्रेस कार्यकर्ता भएको बुझिएको छ ।

कार्की निवर्तमान सांसद हुन् । २०७० को चुनावमा विजयी भएपछि उनी सांसद बनेका थिए ।

बम विस्फोट लगत्तै उद्धारका लागि प्रहरी टाेली घटनास्थल पुगेको र उद्धार गरी घाइते भएका उम्मेदवार कार्कीलार्इ हेलिकोप्टरबाट  उपचारको लागी काठमाण्डौं पठाईको छ।

चुनावी प्रचार अभियानमा रहेका कार्कीलाई कसले बम प्रहार गर्यो भन्नेबारे केही पनि खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

उदयपुरमा निर्वाचन सुरक्षा चुनौती बढ्दै गएको छ। पाँच दिनको बीचमा विद्युतीय एम्बुससहित चार ठाउँमा बम आक्रमण भएको हो।

कटारीबाट नेपालटार जाँदै गरेको गाडीमा नौ जना सवार थिए।  यसरी निरन्तर रूपमा गएको मंसिर ८ गतेदेखि १३ गतेसम्म चार बम आक्रमण  छन् । प्रहरी प्रशासनले कसैलाई पनि पक्राउ गरेको छैन।

नेकपा माओवादी केन्द्र उदयपुरका जिल्ला संयोजक विनोद कटुवाल दिवशले निरन्तर रूपमा उम्मेदवार माथि बम आक्रमण हुँदा पनि प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन्। ‘उदयपुरमा चार उम्मेदवारमाथि बम आक्रमण भइसक्यो’, संयोजक कटुवालले भने, ‘सबै घटना अज्ञात समूहले मात्र गरेको भन्ने प्रहरीको भनाइ हुन्छ, अब चुनाव प्रचार प्रसारमा हिँड्दा पनि एम्बुसमा परिएला भन्ने डर छ।’

कटुवालले प्रहरी प्रशासनले बम आक्रमणकारी पक्राउ नगरेकाले चुनाव प्रचार प्रसारमा सुरक्षा चुनौती थपिँदै गएको बताए। ‘बम पड्किरहेको छ’, उनले प्रतिप्रश्न गरे, ‘यस्तो अवस्थामा कसरी चुनाव प्रचार प्रसार गर्ने? विद्युतीय एम्बुसमा पनि उम्मेदवार पर्न थाले।’ नेकपा एमाले उदयपुरका जिल्ला सचिव प्रमेश घिमिरे पनि निरन्तर रूपमा भएको बम आक्रमणले भोलिका दिनमा ठूला दुर्घटना हुनसक्ने बताउँछन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सबै आक्रमण अज्ञात समूहले मात्र गरेका छन्। प्रहरीलाई अज्ञात समूह भन्न सजिलो भएको आरोप जिल्लामा रहेका राजनीतिक दलले लगाउन थालेका छन्। 

यसो भन्छन् प्रहरी प्रशासन ?

उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जिल्लाको सुरक्षा समितिको बैठकसमेत बस्न लागेको जानकारी दिए। श्रेष्ठले प्रत्येक उम्मेदवारको साथमा प्रहरी सुरक्षाकर्मी व्यवस्था गरेको पनि बताए। ‘हामीले जिल्ला सुरक्षा व्यवस्था कडा बनाएका छौँ’, प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘निरन्तर रूपमा बम आक्रमण बढ्दै गएकाले नयाँ सुरक्षा रणनीति लिने छौँ।’ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले जिल्लामा सुरक्षा गस्तीसमेत बढाएको जिल्ला प्रशासनले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले निर्वाचन विरोधी गतिविधिमा संलग्न  छ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध जिल्ला सदस्य पूर्णबहादुर कटुवाल, कमला माया तामाङ, उद्यान प्रधान, श्याम भुजेल, बन्दना पौडेल छन्।