नेपालगञ्जमा टिनएजरहरु लभको चक्कर: १ महिना भित्र २ जना झुण्डिए, १ जनाले आफैलाई जलाए

२७ माघ,नेपालगञ्ज/ आफुले मन पराएको केटी नपाउने ठानेर बिगत १ महिना भित्र नेपालगञ्जमा २ जनाले आत्महत्या गरेका छन भने एक जनाले बिहिबार आफैले आफैलाई शरीरमा आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेका छन ।

नेपालगञ्ज उप-महानगरपालीका वडा नम्वर ११ सदरलाईन निवासी सुर्य जयसवालले प्रेमको चक्करमा बिहिबार राति आफ्नै शरीरमा पेट्रोल छक्रेर आगो लगाएका हुन ।
नेपालगञ्जको त्रिभुवनचोक दक्षिण नजिकैको नारायण स्कूल अगाडि सामन्य ब्यवसाय गरेर बसेका सुर्यले राति करीब साढे ९ बजे पसलकै अगाडि शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले बताएको छ।

आफ्नै पसलको पारिपट्टी रहेको  पसलबाट सलाई झिकेर सुरजले शरीरमा आगो लगाएका थिए। ‘म शरीरमा आगो लगाएर मर्दैछु,’ सुर्यले भन्दा सुन्नेहरुले विश्वास नै गरेका थिएनन्। एक्कासी सलाई कोरेर शरीरमा लगाएर आगो दन्किँदा पो सबैजना चकित भए। सबैजना आगो निभाउन तल्लिन भए।
‘कपडामा आगो दन्किँदासम्म सुरज चुप थिए, जब आगोले शरीर छोयो, त्यसपछि चिच्याउन थाल्यो, छट्पटिन थाल्यो, हामी सबै दौडेर गएर आगो निभायौं,’ स्थानीय जयपाली कनोजियाले भने, ‘कोहीले ज्याकेट खोलेर छोप्ने त कोहीले नजिकै रहेको बालुवा र पानी खन्याएर आगो निभाइयो।’
आफ्नै शरीरमा आगो लगाएर मर्न तयार भएका सुरजको एक महिनापछि विवाह हुँदैछ। विवाहको मिति तय भइसकेको छ। घरपरिवारले विहेका लागि चाहिने आवश्यक सर-सामानदेखि बाजागाजा, टेन्ट मात्रै होइन खानाको अर्डर गरिसकेका छन्।

विहेको मिति पक्का गरेर साइत नजिकिँदै जादा सुरज तनावमा पर्दै गएका थिए। जानकारहरुका अनुसार, सुरजको एक विवाहित महिलासँग प्रेम चक्कर छ। ती महिलासँगको साथ छुटाउन सुरजका घरपरिवार, साथीदेखि छिमेकीसम्म लागिरहेका छन्। तर, सुरज भने एकोहोरिएका छन्।
प्रत्यक्षदर्शीका अनुसार, बिहीबार अपरान्ह ती महिला सुर्यको पसल आसपासमा हिँडिरहेकी थिइन्। सुर्य उसलाई हेर्दै थिए। यी महिलाको विषयलाई लिएर सुर्यको केही दिनदेखि घरमा खटपट परिरहेको थियो। ‘बिहे हुन थालेको छ, अब त सुध्री’ धेरैले भनेका थिए, सुर्यलाई।

सुर्यलाई एक रात स्थानीय भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा उपचार गरेर थप उपचारका लागि भारतको लखनऊ लगिएको छ। भेरीले थप उपचारका लागि अन्यत्र लैजान भनेको थियो। चिकित्सकका अनुसार, सुर्यको ३० प्रतिशत हाराहारीमा शरीर जलेको छ। छाती, घाँटी, हात र तिघ्रा जलेका छन्। उनी खतरामुक्त रहेका छन्।
बाँकेमा वर्षेनी सय भन्दा बढीले आत्महत्या गर्छन्। ११ वर्षदेखि ७८ वर्षका बृद्धले आत्महत्या गरेका छन्। प्रहरी तथ्यांक अनुसार, आत्महत्या गर्नेमा धेरैजसो युवा अवस्थाका छन्। आत्महत्या गर्नुको प्रमुख कारणमा प्रेम चक्कर नै हो। चार दिनअघि मात्रै एक युवतीले प्रेमविवाह गरेको ६ महिनामै आत्महत्या गरेकी थिइन् प्रेम चक्करमा शरीरमा आगो नै लगाउने घटना भने बिरलै हुने गरेका छन्।

त्यसैगरी नेपालगञ्ज उप महानगरपालीका वडा नम्बर १२ स्थित एक जना चौधरी चिकित्सकका छोराले आफनो मन परेको नर्स लाई बिवाह गर्न घर परिवारले नमान्दा र नेपालगञ्ज वडा नम्बर १२ स्थित एक जना ब्यूटिसियनको छोराले नेपालगञ् १३ की एक टिन एजर युवतीसंग लभ परेको र ती युवतीसंग झगढा परेर घरमै झुण्डिएर आत्महत्या गरेका छन ।

ती दुबै मध्य एक जना कक्षा ११ र एक जना कक्षा १२ मा पढदै गरेका थिए । समाजिक समस्याका कारण अभिभावहरुले उक्त घटनाहरु गोप्य राख्ने गरेका छन ।

प्रहरीले उक्त दुबै घटनामा जिल्ला प्रहरी कार्यालय बांकेमा जानकारी भएर आवश्यक कानुनी प्रक्रिया गरि आवश्यक थप अनुसन्धानका लागी सम्वन्धीत पक्षसंग जानकारी पनि लिएको थियो । समाचारमा पात्रको नाम परिवर्तन गरिएको छ ।