भारतबाट नेपाल छिरेका गाई तथा गोरुहरुका बथानले राजमार्ग तथा शहरी क्षेत्रको यातायातमा बाधा

२६ साउन, नेपालगञ्ज/ पूर्व–पश्चिम राजमार्गको बर्दिया देखी दांग खण्डमा बिगत एक हप्ता देखी सयौं थारा गाई तथा गोरुहरु सडकमा समूह–समूह बनाएर बस्नाले सवारी साधन सञ्चालमा समस्या उत्पन्न हुदै आएको छ ।

नेपाल–भारत सिमावर्ती राज्य रहेको भारतको उत्तर प्रदेश सरकारले गाई तथा गोरुहरुलाई बध गर्नेलाई कडा कार्बाही गर्ने बताउदै आएको समयमा भारतबाट बिगत एक हप्ता देखी नेपाल तर्फ एक्कासी सयौं गाई तथा गोरुहरु प्रबेश गराइएका छन ।

नेपालमा शरणार्थीका रुपमा प्रबेश गराईएका गाई तथा गोरुहरु खरिद तथा बिक्री गर्ने दलालहरुले बांके, बर्दिया तथा दांगका बिभिन्न ठाउंमा जम्मा गरेर नेपालको पूर्वी नाका हुदै तेस्रो मुलुक तर्फ गैर कानुनी रुपमा तस्करीको लाईन मिलाएर लैजाने गरेका थिए ।

तस्करहरुले पूर्व–पश्चिम राजमार्गमा सुररक्षा पोष्टमा लाईन मिलाउन नसक्दा भारतबाट नेपाल प्रबेश गराईएका सयौं गाईहरुले गाउं तथा बजारका मुख्य सडक, चौक, गल्ली कब्जा गरी यातायातमा प्रभाबित पारिरहेका छन ।
बर्षाको समयमा अन्यत्र चिसो हुनेभएकाले छाडा रहेका गाई गोरुहरु ओभानो खोजेर सडकमै बास तथा आश्रयको रुपमा हुलका हुल बसेर सडक जाम गर्ने गरिरहेक छन ।

गत हप्ता नेपालगञ्ज उप–महानगरपालीकाले एकै दिन ४ ट्रक गाई तथा गोरु समातेर ट्रकमा लोड गरेर जंगलमा छोडने क्रममा बांके राष्ट्रिय निकुञ्जले गाई तथा गोरु जंगलमा छोडन रोकेकाले नगरपालीकाले फिर्ता गरेर सडकमा त्यसै छोडनु परेको थियो ।

भारतबाट नेपालतर्फ तस्करको मिलेमतोमा धपाइएका गाई तथा गोरुहरुले राजमार्गका शहरी क्षेत्रमा बढी भिडभाड गर्ने गरेका छन ।
शुक्रबार मात्र बर्दियाको बांस गढी बजारको मुख्य राजमार्गमा गाई गोरुहरु सडकमा बसेर सडक यातायातमा पुरै जाम गरेपछी इलाका प्रहरी कार्यालय बांसगढी र स्थानीय बासिन्दाले सांझ करीब ८ बजे सडकबाट गाई गोरु धपाएर सडक यातायातमा सरलता बनाएको बताएका छन ।
सांझ पख सडमा पशुहरु बसेर दुर्घटना निम्तीन सक्ने भएकाले स्थानिय बासिन्दाहरुसंग मिलेर सडकबाट गाई तथा गोरुहरुको बथान हटाइएको इलाका प्रहरी कार्यालय बांसगढीले जनाएको छ ।

त्यसैगरी भुरीगाउं, गुलरीया, बांकेको कोहलपुर, नेपालगञ्ज र दांगको रिहार क्षेत्रका सडकहरुमा गाई गोरुहरुको बथानले सडक जाम गरेर यातायातमा समस्या पर्ने गरेको छ ।ट्राफिक प्रहरी भने सडमा सवारी चेक–जांचमा मात्र ब्यस्त हुने गरेको पाइएको छ ।

यसको समयमा नै गाई तथा गोरुहरुको ब्यवस्थापन गर्न नसके राजमार्गमा दुर्घटना निम्तीने निश्चित छ ।

शनीबार राती कोहलपुर दशबिगाह पश्चिम सशस्त्र प्रहरी बल त्रिपुरा गणको चोकमा अज्ञात सवारी साधनको ठक्करबाट मरेका माऊ बाच्छि गाईहरू ।