बांकेको कम्दी गाउंमा अज्ञात रोगले करीब १ हजार बाख्रा मरे: नयाँ रोगको आशङ्कामा बाख्राको रगत परीक्षणमै अडकिएको छ सम्वन्धीत निकाय

 १० पुस, नेपालगञ्ज/  बाँकेको डुडुवा गाउँपालिका– वडा नम्बर ५ कम्दी गाउँमा फैलिएको अज्ञात रोगबाट करीब १ हजार भन्दा बढी बाख्रा मरेका छन् । दैनिकजसो बाख्रा मर्न थालेपछि स्थानिय किसान चिन्तित भएका छन् । कम्दी गाउँका मात्रै १ हजारभन्दा बढी बाख्रा मरि सकेको उक्त वडाका अध्यक्ष पर्शुराम बुढाथोकीले जानकारी दिनु भएको छ ।

बाख्राको पेट फुल्ने, मुखबाट -याल छोड्ने, पातलो दिसा गर्ने ज्वरो आउने र मर्ने गरेको किसान सुकमाया बोहोराको भनाइ छ । ‘बाख्रा पालेरै खर्च चलाउने हामीलाई ठूलो क्षति भयो, अझै कति बाख्रा मर्ने हुन् थाह छैन’, उनले याचना गरे, ‘गाउँभरि त्रास फैलिएको छ । हाम्रा बाख्रा बचाइदिनुप-यो ।’

‘साँझ चरेर आउँदा ठिकै हुन्छन् रातपरेपछि बिरामी हुन्छन्, मेरामात्रै १४ वटा बाख्रा मरिसके’, कम्दी पदमपुरका किसान ललित शाहीले भने, ‘गाउँमा सबैका बाख्रा धमाधम मरिरहेका छन् तर गाउँपालिकाले दिएको औषधिले कामै गरेन ।’

बाख्रा मर्नेक्रम नरोकिएपछि कम्दीका बाख्रा पालक किसान उपचारको माग गर्दै नेपालगञ्ज स्थित भेटेनरी अस्पताल तथा पशुसेवा केन्द्र आइपुगेका छन् । बाख्रा बिरामी परेको बेला खबर गर्दा गाउँपालिका पशु स्वास्थ्य शाखाबाट चिकित्सक पुग्ने गरे पनि नियमितरुपमा आउने जाने नगरेको कम्दी पदमपुरका किसान टीकाराम योगीले बताउनु भएको छ ।

‘बोलाएका बेला आउनुहुन्छ तर औषधिले काम ग-यो गरेन वा के कसो भयो भनेर सोध्न आउनुहुन्न’, योगीले भने, ‘औषधि खुवाउँदा सञ्चो भएजस्तो हुन्छ फेरि एका एक बिरामी परेर बाख्रा मर्ने गरेका छन् । हाम्रा बाख्राको ज्यान बचाइदिनुप-यो हाम्रो ठूलो क्षति भइसक्यो ।’ उहाँको दुईहप्ताभित्र छ वटा बाख्रा मरिसकेका थिए ।

डुडुवा गाउँपालिका–५ कम्दी सानो खजुराका कुमराज कुम्हालले आफ्ना २४ वटा बाख्रा मरिसकेको जानकारी दिँदै भने, ‘गाउँपालिकाबाट आएका चिकित्सकको भरपर्दा बाख्रा मरेर सकिन थाले रोग निको नै भएन ।’

डुडुवा गाउँपालिका पशु स्वास्थ्य शाखाका संयोजक तथा पशु चिकित्सक अशोक पाण्डेले रोगको पहिचान गर्नमै समस्या भएको बताए । ‘किसानको फोन आउनासाथ हामी घरमा पुग्ने गरेका छौँ तर औषधि गर्दा-गर्दै बाख्रा मर्ने गरेका छन्,’ उहांले भन्नु भयो, ‘साँझ ठीक हुन्छ रातभरिमा बिरामी पर्ने र मर्ने गरेकाले रोग पत्ता लगाउने प्रयास गरिरहेका छौँ ।’

कुनै नयाँ रोगको आशङ्कामा बाख्राको रगत परीक्षणका लागि सुर्खेत पठाइएको चिकित्सक पाण्डेको भनाइ छ । रोगको पहिचान नभएकाले रोकथाममा समस्या भएको उहांले भन्नु भयो । रोगको पहिचान र रोकथाममा सहयोगका लागि नेपालगञ्ज स्थित केन्द्रमा समेत अनुरोध गरिएको  जानकारी दिनु भएको छ ।

नेपालगञ्ज स्थित केन्द्र अस्पतालका प्रमुख डा. हरि बहादुर कुँवरले बाख्रा मरेको किसानले जानकारी गराएको बताउनु भएको छ  । स्रोत र साधन सबै स्थानीय तहमै भएकाले आफूले समन्वयमात्रै गर्ने उहांको भनाइ छ ।

चिकित्सक कुँवरले यो याममा बाख्राको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले बाख्रा बिरामी पर्ने गरेको बताए । पौष्टिक आहार युक्त दाना खुवाएमा रोग लाग्ने सम्भावना कम हुनसक्ने उनको सुझाव थियो  छ ।

जाडोमा पिपिआर जस्ता खतरनाक बिरामी रोग लाग्न सक्नेमा किसानहरु पनी ख्याल नगरेको हुन सक्ने जानकारहरुले जानकारी गराएका छन । नेपाली किसानहरुको मुख्य आम्दनीको रुपमा स्थापना हुदै गएको बाख्रा पालनमा बांकेको कम्दीमा १ हप्ता भित्र भएको क्षतीले किसानहरु चिन्तीत बनेका छन । रासस