२ बर्ष उमेर घटाएको आरोपमा दांगमा २ सचिव सहित ३ जना पक्राउ

२२ असार, दाङ/  किर्ते गरेको आरोपमा दांग प्रहरीले २ जना वडा सचिव सहित ३ जनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उप– महानगरपालिका वडा नम्बर १ का सचिव ५५ वर्षीय धनबहादुर केसी, वडा नम्बर १३ का वडा कार्यालयका तत्कालीन सचिव ५४ वर्षीय लिलाजित नेपाली र त्यही वडाका ४९ वर्षीय हुकुम बहादुर जिसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जबर्जस्ती करणी घटनाका पीडित पक्षका एक किशोरीको जन्म मितिमा किर्ते गरी सच्याएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय दांगका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता सुमित खड्काले जानकारी दिनुभएको छ ।

जबर्जस्ती करणी मुद्दाका अभियुक्त मणि कुमार पुनलाई बढी सजाय गराउने मनसायले पीडित किशोरीको जन्म मिति २०५९/१०/१२ भएकोमा २ वर्ष उमेर घटाइ २०६१/१०/१२ बनाएको पाइएकोले उक्त घटनाको छानबीनको क्रममा सचिवहरुलाई पक्राउ गरि अनुसन्धान अगाढी बढाईएको खडकाले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद २५ को दफा २७६ अनुसार किर्ते गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी, जिल्ला अदालत दांगबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पीडित पक्षले किशोरीको उमेर घटाएको भन्दै पीडक पक्षले अदालतमा उजुरी दिएपछि यस्तो रहस्य खुलेको हो ।