नारायण अधिकारी
काठमाडौं/नेपालका विभिन्न कारागारमा एक हजार भन्दा बढी विदेशी कैदी बन्दी रहेकका छन । विभिन्न आपराधिक क्रियाकलापमा जेल जीवन बिताइरहेका १९ हजार ९ सय ६९ कैदी बन्दी मध्ये एक हजार २२ जना विदेशी नागरिक रहेको कारागार व्यवस्थापन विभागको तथ्याङ्क जनाएको छ ।
कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार नेपालमा कैदी जीवन बिताइरहेका विदेशी नागरिकमध्ये सबैभन्दा बढी भारतका छन् । भारतका झण्डै पचास प्रतिशतको हाराहारीमा कैदी रहेको कारागार व्यवस्थापन विभागका शाखा अधिकृत मुरारी कार्कीले बताउनुभयो । ‘खुल्ला सीमाना भएर अन्य देशका भन्दा भारतका कैदी बन्दीहरु धेरै छन् । त्यसपछि दोस्रोमा पाकिस्तानका कैदी बन्दी छन् /
विभागको तथ्याङ्क अनुसार कैदी जीवन बिताएकाहरुमध्ये लागु औषध ओसारपसारमा दोषी ठहरिएका ५० प्रतिशत छन् । विभिन्न किसिमका लागु औषध ओसारपसारमा नेपाललाई ट्रान्जिट बनाएर संगठित रुपमा अपराध गर्नेहरु धमाधम पक्राउ पर्न थालेसँगै विदेशी कैदी बन्दी बढेको कारागार व्यवस्थापन विभागले जनाएको छ । त्यस्तै लागु औषध पछि खोटा तथा नक्कली नोट देखाई ठगी गर्नेहरु बढी रहेको कारागार व्यवस्थापन विभागका निर्देशक गणेश प्रसाद भट्राईले बताउनुभयो ।
नेपाल आएर आपराधिक क्रियाकलाप गर्ने विदेशी नागरिकको संख्या बढेसँगै कैदी पनि बढेका छन् । विदेशी नागरिक नेपाल आएर आपराधिक क्रियाकलापमा लाग्नुका पछाडि धेरै कारण रहेको कारागार व्यवस्थपान विभागका शाखा अधिकृत मुरारी कार्कीले बताउनुभयो । भारतसँगको खुल्ला सीमा नाका र फितलो सजायका कारण विभिन्न बहानामा नेपाल आएर अपराध गर्नेहरु बढेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
क्षमता भन्दा दोब्बर कैदी
नेपालभर ७२ जिल्लामा ७४ वटा कारागार छन् । धनुषा, बारा र भक्तपुर गरी तीन जिल्लामा कारागार छैन । दाङमा घोराही र तुल्सीपुर गरी दुई वटा र काठमाडौंमा सुन्धारा र डिल्लीबजारमा गरी दुई वटा कारागार छन् ।
प्रायः सबै कारागारमा क्षमता भन्दा झण्डै दोब्बर कैदी बन्दी छन् । कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार देशभर १७ हजार तीन सय ३९ पुरुष, एक हजार दुई सय ५७ महिला, एक हजार २२ जना विदेशी कैदी र ९६ जना आश्रित गरी १९ हजार ९ सय ६९ कैदी बन्दी छन् ।
कैदीको संख्या तीन वर्षअघिको तुलनामा तीन हजार बढी हो । आर्थिक वर्ष २०६९/७० को तथ्यांकअनुसार १५ हजार दुई सय ८५ कैदीरबन्दी र ८० जना आश्रित थिए । अदालतको फैसला कार्यान्वयन निर्देशनालयको सक्रियताका कारण कारागारमा कैदीको संख्या दोब्बर हुन पुगेको विभागले जनाएको छ ।
यसरी क्षमताभन्दा कैदी बन्दी भएकाले कारागार पनि बढाउनु पर्ने बेला आएको विभागले जनाएको छ । निर्माणाधीन दाङ, धादिङ, मकवानपुर र कपिलवस्तुका कारगार चाँडै सञ्चालनमा आउने भएकाले केही सहज हुने कारागार व्यवस्थापन विभागका सूचना अधिकारी वेदबहादुर कार्कीले बताउनुभयो । त्यस्तै सुर्खेतमा रहेका कारागारको पनि क्षमता विस्तार भइरहेको विभागले जनाएको छ ।
सुध्रिएन बानी, एउटै अपराधमा आठ पटक पनि
अपराध गर्नेलाई सुधार गर्न र सजायको भागिदार बन्न भन्दै वि स १९७१ सालदेखि कारागारको स्थापन गरिएको नेपालको इतिहास छ । कारागार व्यवस्थापन विभागको दीर्घकालिन सोच पनि अपराधीलाई सुधार्ने नै रहेको छ । दीर्घकालिन सोचमा भनिएको छ ‘अपराधीलाई सभ्य, सुसंस्कृत, उत्पादनशील र कानुनको पालना एवं सम्मान गर्ने नागरिकमा रूपान्तरण गरेर समाजमा पुनस्थापित र पुनःएकीकरण गर्न र सुरक्षित र समुन्नत समाजको निर्माण गर्ने बृहत्तर राष्ट्रिय उद्देश्यको परिपूर्ति गर्ने काममा आइपर्ने चुनौतीहरूको सामना गर्न सहयोग पु¥याउन सक्षम र मानवोचित वातावरणमा व्यवस्थित कारागार प्रणालीको स्थापना गर्ने ।’
तर कारागार दीर्घकालिन सोच अनुसार काम नभएको स्वयम कारागार व्यवस्थापन विभागले नै स्वीकार गरेको छ । कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार एक पटक दोषी ठहरी कारागार बसी छुटेको व्यक्ति आठ पटकसम्म एकै प्रकारको अपराधमा संलग्न भएको पाइएको छ । ‘अपराधी नै भएपनि नाम नभनौं चोरी र गठी मुद्दामा दोषी ठहरिएको एकै व्यक्ति आठ पटक जेल बस्दा पनि सुध्रिएको छैन । अहिले ९औं पटक उ जेल बसिरहेको छ’ शाखा अधिकृत कार्कीले भन्नुभयो ।
यसरी आठ, आठ पटक कारागार बस्दा पनि नसुध्रिनुको कारागार व्यवस्थापन विभागका पछाडि कर्मचारीको भूमिका रहेको विभागले स्वीकार गरेको छ । नाम नबताउने सर्तमा विभाग एक कर्मचारीले भने ‘कारागारमा सरुवा गर्ने बित्तिकै मेरै मनोबल गिरेको छ । यहाँ सुरुवा हुने सबैलाई लाग्छ यो काम नलाग्ने ठाउँमा आइयो । कर्मचारी नै यहाँबाट कहाँ भागौं भन्ने दाउमा हुन्छन् भने कसरी कारागारको व्यवस्थापन होला र कैदी सुध्रिएलान् ?’
त्यस्तै कारागारमा दिइने सेवा सुविधाले गर्दा पनि एउटै कैदीले पटक पटक अपराध गरेको उनले बताए । खासगरी चोरी, ठगी र किर्तेमा दोषी ठहरिएकाले पटक पटक अपराध गर्ने गरेको बताए ।
कैदीमाथि वार्षिक ७३ करोड खर्च
कारागारमा रहने कैदी बन्दीहरु माथि वार्षिक ७३ करोड रुपैयाँ खर्च हुने गरेको छ । यस खर्च अन्तर्गत कारागार र तीन वटा बाल सुधार गृह पनि समावेश छन् । गएको वर्षको तथ्याङ्क अनुसार सिदा र रासनमा मात्रै ६७ करोड ५८ लाख ७४ हजार रुपैयाँ खर्च भएको थियो । यसैगरी, उपचारमा पाँच करोड १४ लाख ५१ हजार रुपैयाँ खर्च भएको कारागार विभागले जनाएको छ ।
सिदा खर्चबापत कैदी बन्दीले दैनिक ४५ रुपैयाँ र सात सय ग्राम चामल पाउँछन् । त्यस्तै वर्षमा दुई जोर लुगा प्रत्येयक दुई वर्षमा सिरक, डसना र दसैँमा तीन सय रुपैयाँ पाउने व्यवस्था छ । त्यस्तै महिला कैदी बन्दी सुुत्केरी भएमा एक हजार रुपैयाँ र लुगा पाउने व्यवस्था पनि छ । यसरी सिदा, लत्ताकपडा, उपचार खर्च लगायत एक ठाउँबाट अर्को ठाउँमा सार्दा लाग्ने खर्च समावेश गर्दा ७३ करोड रुपैयाँ खर्च भएको विभागले जनाएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७१/०७२ मा सिदा खर्च र उपचार खर्चमा गरी झण्डै ७२ करोड रुपैयाँ खर्च भएको थियो । चालु आर्थिक वर्षका लागि सिदा खर्च ५८ करोड र ६३ लाख रुपैयाँ विनियोजन भएको छ । उपचार खर्चअन्तर्गत केन्द्रीय कारागारमा रहेको केन्द्रीय अस्पतालमा मात्र वार्षिक झण्डै दुई करोड रुपैयाँ विनियोजन हुने गरेको छ ।
हाम्रो संरचना । ३ चैत्र २०७३, बिहीबार १३:५५