कर्णालीमा चुनावी चहलपहल : नेताहरु गाउँ छिर्दा नागरिक उत्साहितक

कर्णालीमा चुनावी चहलपहल : नेताहरु गाउँ छिर्दा नागरिक उत्साहित

 

नेत्र शाही/जुम्ला,
मनिराज पाण्डे/कालिकोट,
रमेश ऐडि/हुम्ला,
श्याम विसी/मुगु

कर्णाली/ पाँच वर्षदेखि जुम्ला सदरमुकाममा राजनीति गरिरहेका नेपाली कांग्रेसका यूवा नेता लक्ष्मण शाही अहिले स्थानीय तहको चुनावको तयारीका लागि एक महिनादेखि गाउँ केन्द्रीत हुनुभएको छ । नेपाली कांग्रेस जुम्लाको तर्फबाट उहाँ हिमा गाउँपालिका प्रमुखको उम्मेद्वारको दिने तयारीमा हुनुहुन्छ ।

झण्डै २० वर्षदेखि जुम्ला बजारमा शिक्षण पेशा गरिरहेका जुम्ला शनिगाउँ–१ का पूर्णप्रसाद धिताल अहिले शिक्षण पेशाबाट राजिनामा दिई सिंजा गाउँपालिकाको उम्मेद्वारका लागि गाउँ छिर्नुभएको छ ।

लामो समयदेखि नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी शिक्षक संघमा आवद्ध धिताल नेमकिपाबाट सिंजा गाउँपालिकाको प्रमुखको उम्मेद्वार बन्ने तयारी गरिरहनुभएको छ ।

यसैगरी जुम्लाको बड्की गाविस मोफ्ला गाउँका गोपाल रोकाया पनि स्थानीय तह चुनावमा उम्मेद्वारका लागि दुई सातादेखि गाउँ दौडाह अभियानमा लाग्नुभएको छ । स्थानीय चुनाव नजिकिँदा कर्णाली क्षेत्रमा चुनावी माहौल पनि निकै तातिएको छ । २० वर्षपछि स्थानीय तहको चुनाव हुने भएपछि शहर केन्द्रीत भएका नेताहरु अहिले गाउँमा छिरेका छन् ।

जिल्ला सदरमुकाममा बसेका नेता कार्यकर्ताहरु यसरी धमाधम गाउँ पस्न थालेसँगै कर्णालीबासी निकै उत्साहित देखिएका छन् ।

जुम्लाका धनवहादुर रोकाया नेताहरुको गाउँ लहरले अच्चममा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘पहिलेका चुनाव भन्दा अहिले त धेरै फरक देखिन्छ । पहिले यति धेरै नेताहरु गाउँ पसेका थिएनन् । अहिलेले छिचिमिरा झैं नेताहरु गाउँ पस्न थाले ।’

निर्वाचन नजिकिँदै जाँदा कर्णालीका राजनीतिक दलहरु चुनावको तयारीका लागि गाउँ बस्तीमा आफ्ना कार्यक्रमहरु पनि गर्दै आइरहेका छन् । दलहरुले गाउँपालिका स्तर, वडा र गाउँ स्तरदखि घरदैलो अभियान गरिरहेका छन् । घरदैलो अभियान कुनै दलले एक पटक गरेका छन् कुनै दलले दुई पटकसम्म पनि भ्याइसकेका छन् ।

यसरी घरदैलो कार्यक्रम गर्दै चुनावी अभियानमा १० वटा दल जुटेका छन् । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेमकिपा, नयाँ शक्ति लगायतका छन् । कर्णालीका पाँच जिल्लमा स्थानीय तहको नयाँ संरचना अनुसारका २८ गाउँपालिका र ८ नगरपालिका छन् ।

यस्तो छ पाँच जिल्लाको अवस्था

जुम्ला

जुम्लामा एक नगरपालिका र सात गाउँपालिका गरी आठ वटा स्थानीय निकाय छन् । जसमा अहिलेसम्म कुनैपनि दलले उम्मेद्वार तोकेका छैनन् । उम्मेद्वारका आकांक्षी धेरै देखिए पनि आन्तरिक विवाद मिलाउन नसक्दा कुनै दलले पनि उम्मेद्वार घोषणा गर्न नसकेका हुन् ।

दलहरुले उम्मेद्वार छनौटको भइरहेको र उम्मेद्वार छनौटको जिम्मा गाउँपालिका र नगरपालिकालाइै नै दिएको दलहरुले बताएका छन् । निर्वाचनलाई ध्यान दिदै पार्टी आन्तरिक संगठन सुदृढीकरणमा निरन्तर एक महिनादेखि लागि रहेको सबै दलहरुले बताएका छन् ।  अहिले गाउँपालिका र नगरपालिकामा पार्टी कार्यालयहरु स्थापना भइसकेको र आमसभादेखि विभिन्न घरदैलो कार्यक्रमहरु भइरहेका छन् ।

मुख्य प्रतिस्पर्धाका रुपमा जुम्लामा ठूला दलहरु नै देखिन्छ । नेपाली कांग्रेस, नेकपा  एमाले र माओवादी केन्द्रले विभिन्न स्थानहरुमा आफ्नो राजनीतिक भेला तथा प्रचार कार्यक्रमहरु गर्दै आएकाले चुनावी माहोल उनीहरुकै पक्षमा हुने स्थानीबासिन्दाहरुले लख काट्न थालिसकेका छन् ।

गाउँ हुँदै नगर क्षेत्रका प्रत्यक वडामा भेला कार्यक्रमहरु भइरहेको नेपाली कांग्रेस जुम्लाका सभापति दीपबहादुर शाहीले बताउनुभयो ।  नेकपा एमाले जुम्लाका अध्यक्ष तीर्थबहादुर बुढाले आफ्नो पार्टी चुनावी अभियानमा निकै तिब्र गतिमा लागेको र संगठन मजवुद हुँदै गएको दाबी गर्नुभयो । त्यस्तै माओवादी केन्द्रका संयोजक वीरबहादुर कुँवरले पनि अहिले जनताको लहर माओवादीमा भएकाले माओवादीले जित्ने दाबी गर्नुभएको छ ।

चुनावको माहौलले जुम्लाका गाउँ बस्तीहरुका हरेक नागरिकको मुखमा चुनावको कुरा निस्कन्छ । उनीहरु २० वर्ष लामो समयसम्ममा स्थानीय चुनाव नभई जनप्रतिनिधि नभएका कारण आफ्नो क्षेत्र पछाडि परेको भन्दै जसरी पनि चुनाव गर्नुपर्ने बताउछन् ।

‘२० वर्ष अगाडि चुनाव भएकै हो खासै परिवर्तन भएन अबको उम्मेद्वारले कस्तो गर्ने हुन हामीले सुझाव दिनुपर्छ’ ६१ वर्षे माङ्ले सुनारले भन्नुभयो ।  उहाँले साच्चिकै दलित र गरिबका दिन अब आउन राम्रो उम्मेद्वार छनौट गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालय जुम्लाले दल सूचिकरणका क्रममा १४ वटा दलहरुले सहभागिता जनाएको जानकारी दिएको छ । जुम्लामा ४४ हजार ६ सय ७७ मतदाता छन् ।

कालिकोट

कालिकोट कर्णाली राजमार्गको मुख्य प्रवेशद्धार हो । यहाँबाट राजमार्ग हुँदै जुम्ला र मुगु पुग्न सकिन्छ । त्यस्तै तिला र कर्णालीको संगम स्थलबाट छुटिएर कर्णाली करिडोरबाट बाजुरा र हुल्लाको हिल्सासम्म पुग्न सकिन्छ । १ लाख ३६ हजार ९ सय ४८ जनसंख्या रहेको यस जिल्लामा ६१ हजार २८ मतदाता छन् । कालिकोटमा तीन नगरपालिका र  ६ गाउँपालिका छन् ।

कर्णाली राजमार्गको प्रवेशद्धार कालिकोट सधै चहलपहल हुने भएपनि अहिले झन चहलपहल बढेको छ । कालिकोटको खाडाचक्र नगरपालिका निकै सुगम मानिन्छ । सदरमुकामसंग जोडिएको यो नागरपालिकामा संकलन हुने राजश्वले स्थानीय सरकार चलाउन सकिने देखेपछि अन्य नगरपालिकामा भन्दा यस नगरपालिकामा नेताहरुले चुनावी चहल पहल बढाएको देखिन्छ ।

पर्यटकीय स्थल पंचदेवल, ढुंगेबगैचा, कोटमन्दीर, पूजामालिका, पर्यटकीय युद्ध स्थल पिली, लगायतका क्षेत्रहरु यस नगरपालिकामा पर्ने भएकाले नेताहरु निकै उत्साहका साथ चुनावी अभियानमा लागेका छन् । यस नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेकातर्फबाट पूर्व शिक्षक जसी प्रसाद पाण्डे, पूर्व गाविस सचिव प्रेमबहादुर शाही, तुलाराज मल्ल र निर्माण व्यवसायी कमल बहादुर शाहीको नाम चर्चामा छ । नेपाली कांग्रेसकातर्फबाट पूर्व शिक्षक तथा निर्माण व्यवसायी तारा शाही, पदम बहादुर शाही र बिष्णु बहादुर शाही छन् । माओवादी केन्द्रबाट गणेश बहादुर शाही र लक्ष्मी चौलागाई (शैलेन्द्र)को नाम चर्चामा छ । राप्रपाका तर्फबाट उद्योग बाणिज्य संघ कालिकोटका अध्यक्ष सूर्य बहादुर शाही र पुर्व भलिवल संघका केन्द्रीय अध्यक्ष ऐनबहादुर शाही चर्चामा छन् ।

त्यस्तै कालिकोटको अर्को नगरपालिका रास्कोटलाई पनि चुनावी माहोलले छोएको छ । जसमा मेयर पदका लागि नेकपा एमालेका तर्फबाट पूर्व शिक्षक मनिराज बराल र सामाजिक क्षेत्रमा कार्यरत तुलाराज सिम्खाडाको नाम चर्चामा छ । नेपाली कांग्रेसका तर्फबाट युवा नेता दमनबहादुर शाही, सामाजिक क्षेत्रमा कार्यरत अमलराज शाही र पूर्व शिक्षक दानबहादुर बमको नाम चर्चामा छ । माओवादी केन्द्रका तर्फबाट काशीचन्द्र बराल र धर्मराज शाहीको नाम चर्चामा छ ।  राप्रपाबाट कालीबहादुर शाहीले उम्मेद्वारी दिने चर्चा छ । यस नगरपालिकाको मुख्य आर्य स्रोत जडीबुटी हो ।

कालिकोटको तेस्रो नगरपालिका हो तिलागुफा । तिलागुफाको मेयर पदका लागि नेकपा एमालेका तर्फबाट कलबहादुर शाही, ऐनबहादुर शाही, मायाराम महतरा नाम चर्चामा छ । नेपाली कांग्रेसका तर्फबाट युवा नेता शंकर उपाध्याय र अम्मबहादुर शाही टिकट ल्याउने प्रतिस्पर्धामा जुटेका छन् ।

माओवादी केन्द्रबाट दुर्ग रावत, राकेश शाही र युवानेता दिनेश चँदाराको नाम चर्चामा आएको छ । नेपाल मजदुर किसान पार्टीको गढ मानिएको यो नगरपालिकाबाट पूर्व सभासद्  नवराज कोइराला, नेता ऐन बहादुर शाही र शिक्षक नरदिप शाही चर्चामा छन् । स्थानीय चुनावमा यस जिल्लाबाट १७ वटा दलले भागलिने भएका छन् ।

डोल्पा

त्यस्तै कर्णालीको डोल्पा जिल्लामा पनि चुनावी सरगर्मी तातिएको छ । दुई नगरपालिका र ६ गाउँपालिका कायम भएको यस जिल्लामा पनि नेताहरु आ आफ्नो क्षेत्रमा चुनावी प्रचारप्रसार दौडाहमा हिँडिरहेका छन् । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरको उम्मेद्वार प्रस्ताव गरिएको छ । गत बुधबार त्रिपुरासुन्दरी नगरपालिका खदाङमा पार्टी सभापति अङ्गतकुमार बुढाको अध्यक्षतामा भएको जिल्ला कार्यसमिति तथा स्थानीय नेताहरुसँगको छलफलबाट दिलबहादुर विष्टको नाम मेयरमा प्रस्ताव गरिएको हो ।

यस नगरपालिकाको नगर प्रमुखका रुपमा छलफल नहुँदै पनि विष्टको नाम उम्मेदवारका रुपमा चर्चामा ल्याइएको थियो । उक्त छलफलमा नगरपालिकाको उपप्रमुखको उम्मेद्वारबारे भने छलफल नभएको पार्टी सभापति बुढाले जानकारी दिनुभयो । आउँदो वैशाख पहिलो साताभित्रै कांग्रेसले जिल्लाका सम्पूर्ण स्थानीय निकायको प्रमुख तथा उपप्रमुखको नाम प्रस्ताव गरिसक्ने बुढाले बताउनुभयो । उम्मेद्वार विष्ट पूर्व पार्टी जिल्ला सभापति तथा पूर्व महासमिति सदस्यसमेत हुनुहुन्छ ।

एमालेबाट नाम सिफारिस

एमाले नगर कमिटी, त्रिपुराकोटले त्रिपुरासुन्दरी नगरपालिकाको प्रमुख तथा उपप्रमुखको उम्मेद्वारको नाम सिफारिस गरेको छ । मेयरमा ओमबहादुर बुढा र विमाकर पहाडीको नाम सिफारिस गरी जिल्ला कमिटीमा पठाइएको छ । कमिटीका सहसंयोजक विश्वचन्द्र डसालले छलफलमा सहमति कायम गरेर दुईजनाको नाम सिफारिस गरेको जानकारी दिनुभयो । महिलातर्फ उपप्रमुखको एक्लो उम्मेद्वारका रुपमा चन्द्राकुमारी बुढाको नाम सिफारिस गरिएको छ ।

मेयरको सिफारिसमा परेका बुढाले २०६४ को संसदीय चुनाव लड्नुभएको थियो र उहाँ पूर्व जिविस सभापति समेत हुनुहुन्छ । मेयरको सिफारिस हुनुभएका अर्का उम्मेद्वार पहाडी भने युवा नेताका रुपमा परिचित हुनुहुन्छ । यसैगरी अन्य नेतृत्वहरु बिस्तारै छनौट गरिने नेताहरुले बताएका छन् ।

हुम्ला

कर्णालीका अन्य जिल्ला जस्तै हुम्लामा पनि चुनावी सरगर्मी तातिएको छ । पार्टी उम्मेद्वार छान्नका लागि मुख्य तीन दलका केन्द्रीय नेतादेखि स्थानीय तहका पदका आकांक्षीसम्म सदरमुकाम सिमकोटमा जम्मा हुने क्रम बढेको छ । उनीहरु एक दुई पटक गाउँमा चुनावी अभियान सकेर बजार केन्द्रीत हुन थालेका छन् ।

वैशाख १० गतेभित्र सबै पदको उम्मेद्वार छानिएर आफनो निर्वाचन क्षेत्रमा पठाई सक्नका लागी नेपाली कांग्रेस, माओवादी केन्द,्र नेकपा एमालेले आआफने पार्टीको जिल्ला समितिहरुको बैठकको डाकिसकेका छन् । वैठकका लागि दलका नेता कार्यकर्ता सदरमुकाकाम सिमकोटमा रहेका पार्टी कार्यलयहरुमा भरिभराउ भएका छन् ।

विगत लामो समयदेखि स्थानीय निकाय खाली रहेको अवस्थामा पहिलो पटक स्थानीय तहको चुनावलाई मुख्य उपलव्धी ठानेर यहाँका राजनीतिक दलहरुले सम्भाव्य जित्ने उम्मेद्वारको नाम सिफारिस गर्न लागेका छन् । ठूला तीनै दलले सबै पदका लागी कम्तिमा ३ जनाको नाम सिफारिस गर्न स्थानीय कमिटिलाई आदेश दिएका छन् । टिकट पाउनका लागि नेताहरु भेट्ने तथा लविङ गर्ने काममा सम्भावित उम्मेद्वारहरु व्यस्त देखिन्छ ।

स्थानीय निकायको चुनावी तयारीका लागि जिल्ला निर्वाचन कार्यलय हुम्लाले सबै गाउँपालिकाको मतदान केन्द्रका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिसकेको छ ।

यस्ता छन् हुम्लाका सम्भावित उम्मेद्वारहरु

हुम्लाका सात वटा गाउँपालिकामा उम्मेद्वारको टुंगो नलागे पनि सम्भावित उम्मेद्वारहरु देखिएका छन् । उम्मेद्वार आकांक्षीका रुपमा नयाँदेखि पुराना, युवादेखि वृद्धसम्मका अनुहार देखिएका छन् ।

अदानचुली गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट लोकेन्द्र भण्डारी, रामे टमटा, सुगे भण्डारी, मोहन सिंहको नाम चर्चामा छ । एमालेको तर्फबाट हस्त शाही, दल फडेरा र  माओवादी केन्द्रको तर्फबाट हरिदल पुन, कर्ण रोकाया (सुधार), दलु फडेरा (संजय)को नाम चर्चामा छ ।

त्यस्तै ताजाकोट गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट तिलक शाही, सुरेन्द्र थापा र  एमालेको तर्फबाट पूर्ण ढकाल, मनवहादुर शाही, नरदिप थापा, कर्ण प्रसाद जैसीको नाम चर्चामा छ । माओवादी केन्द्रको तर्फबाट भने एकजना वागदल मल्लको नाम चर्चामा छ ।

चंखेल्नी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट व्यारीलाल शाही, एमालेका पूर्ण रावल र माओवादीवाट गोविन्द शाही, कुसल वुढाको नाम अग्रस्थानमा छ । त्यस्तै सर्केगाड गाउँपालिकामा नेपालीको कांग्रेसको तर्फबाट मंगल शाही, ठान रोकाया र एमालेको तर्फबाट ज्ञामी वुमी छन् । त्यस्तै माओवादी केन्द्रबाट अकिल वुढा, करुण वुढा रहेका छन् ।

सदरमुकाम सिमकोट गाउँपालिकामा भने नेपाली कांग्रेसको तर्फबाट जिल्ला पार्टी सभापति जयपति रोकाया, पदम लामा, वसन्त रोकायाको नाम चर्चामा छ । एमालेका तर्फबाट पार्टी सचिव तिर्थराज रोकाय, नरवहादुर रोकाया, पामा लामा मध्ये एक जनाले उम्मेद्वारी दिने छन् । माओवादी केन्द्रबाट वली रावत, मुस्कान लामा, महेन्द्रवहादुर शाही (अविराम) को नाम चर्चामा छ ।

हुम्लाको लामा बसोवास रहेको नाम्खा गाउँपालिकामा पनि तीन दलबिच प्रतिसपर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट उम्मेद्वारका दाबेदार बलबहादुर लामा, सूर्य लामा, लाक्पा लामा छन् । एमालेका एक मात्र उम्मेदवार नोरजंग लामाको नाम चर्चामा छ । माओवादी केन्द्रबाट विष्ण्ुा लामा, प्रेम लामाको नाम चर्चामा छ ।

मुगु

मुगुमा पनि चुनावी चहलपहल निकै बढेको छ । स्थानीय तहको चुनावमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका सम्भावित उम्मेद्वारले पार्टी भित्र र मतदातासँगको भेटघाट तीव्र बनाएका छन् ।

मुगुको एकमात्र छायाँनाथ रारा नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरमा तिलकबहादुर मल्ल, हरिजंग शाही, ऐनबहादुर हमाल, जयबहादुर हितान, गजेन्द्र मल्लमध्येबाट उम्मेद्वार बन्ने स्थानीय नेताहरू बताउँछन् । उपमेयरका लागि कांग्रेसकी सूर्यदेवी मल्ल, राज्यलक्ष्मी शाही, धनशीला मल्ल, जनकला मल्लको नाम चर्चामा छ ।

नेकपा एमालेका तर्फबाट मेयरमा जितबहादुर मल्ल, डम्बर रावल र दानसिंह परियार सम्भावित उम्मेदवारको रूपमा देखापरेका छन् । त्यस्तै एमालेबाटै उपमेयरमा कुञ्जुमा बुढा, गौरीकला चौलागाईं र कर्णशिला मल्लको नाम चर्चामा छ ।

नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरमा केवल मल्ल, सन्तोष मल्ल, र सुरबहादुर बुढाको नाम चर्चामा छ । राप्रपाका डिलविक्रम मल्ल र जनकबहादुर मल्लको नाम पनि मेयरको उम्मेद्वारको रूपमा चर्चामा छ ।

मुगुमा तीनवटा गाउँपालिका छन् । तीमध्ये सोरु गाउँपालिकाको प्रमुखमा कांग्रेसको तर्फबाट लोकबहादुर शाही, देवीलाल मल्ल, केशर शाही, दानबहादुर शाही, सिंह धामी सम्भावित उम्मेद्वारको रुपमा चर्चामा छन् ।

एमालेका तर्फबाट धर्मबहादुर शाही, अशोक लाल बुमी, दलबहादुर शाही, जर्मन नेपाली, जनकबहादुर शाहीको नाम चर्चामा छ । नेकपा माओवादी केन्द्रका तर्फबाट पुरन शाही (आनन्द) तथा राप्रपाका तर्फबाट भक्तबहादुर शाही गाउँपालिका प्रमुखको उम्मेद्वारको रुपमा चर्चामा छन् ।

खत्याड गाउँपालिकाको प्रमुखको लागि कांग्रेसबाट जन्मजय भण्डारी, लोकेन्द्र थापा, रतनबहादुर शाही र नवराज जैसीको नाम चर्चामा छ । एमालेका तर्फबाट अम्मराज शाही, हिराटमटा उब्जन शाही, राजबहादुर शाही, चन्दु बुढाको नाम चर्चामा छ ।

माओवादी केन्द्रका तर्फबाट मदन रोकाया र बिर्खबहादुर थापाको नाम चर्चामा छ । मुगुको कार्मारोङ गाउँपालिमा कांग्रेसको तर्फबाट छिरिङक्याप्ने लामा, एमालेबाट सोनाम छिरिङ लामा र पूर्णबहादुर रोकाया तथा माओवादी केन्द्रका तर्फबाट इटोल लामा सम्भावित उम्मेद्वारको रूपमा चर्चामा छन् ।

स्थानीय तहको चुनावका लागि वडादेखि नगरपालिकासम्म कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्रका नेताहरूको दौडधुपले चुनावी सरगर्मी बढेको छ । जिल्ला निर्वाचन कार्यालयले पनि स्थानीय तहको चुनावका लागि तयारीमा जुटेको जनाएको छ । पछिल्लो तथ्यांकअनुसार मुगुमा २९ हजार ८ सय ३३ मतदाता छन् ।