सावधान ! सुर्खेतको गुर्भाकोट नगरपालीकामा‘स्वाइन फ्लु’ रोगबाट २ जनाको मृत्यु,४२ जनामा शंका

२८ भदौ, नेपालगञ्ज / सुर्खेतको पूर्वी क्षेत्रमा पर्ने गुर्भाकोट नगरपालिका–९ मा ‘स्वाइन फ्लु’ रोगबाट एक जनाको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका–९ का ५८ वर्षीय नन्दलाल डाँगीको उपचारको क्रममा भारतको लखनउ स्थित किङजर्ज मेडिकल कलेज अस्पतालमा गत भदौ ८ गते मृत्यु भएको हो ।

गुर्भाकोट नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख किरण वलीका अनुसार मेहेलकुना अस्पतालले डाँगीलाई गत भदौ ६ गते स्वाइन फ्लु रागको आशंकामा उपचारका लागी अन्यज् लैजान रिफर गरेको थियो । किङजर्ज मेडिकल कलेज अस्पतालको रिपोर्टबाट डाँगीको मृत्यु स्वाइन फ्लु को कारणले भएको पुष्टि भएको छ ।

डाँगीको मृत्युको करीब २ हप्ता पछी सोही ठाउं निवासी थप एक महिलालाई स्वाइन फ्लु भएको आशंकामा मेहेलकुना अस्पतालले काठमाडौंको टेकुस्थित शुक्रराज टफिकल तथा सरुवा रोग अस्पतालमा शंकास्पद महिलाको उपचारको लागी पठाइएको थियो।

अस्पतालमा उक्त महिलामा स्वाइन फ्लुको भाइरस देखिएको र औषधि उपचार पछि निको भएर मंगलबार सुर्खेत फर्किएको गुर्भाकोट नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख किरण वलीले बताउनु भएको छ ।

गुर्भाकोट नगरपालिकामा स्वाइन फ्लुका बिमारी भेटिएको र अन्य क्षेत्रमा समेत उक्त रोग भएको आशंकामा गुर्भाकोट नगरपालीकाको वडा नम्वर २ र ९ का थप २ जना महिलाको र्‍याल जाँचको लागि काठमाडौंको टेकुस्थित शुक्रराज टफिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको छ ।  गुर्भाकोट नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख  वलीका अनुसार यस अघि ५४ वर्षका एक व्यक्तिको पनि स्वाइन फ्लुकै जस्तो लक्षणले मृत्यु भएको थियो ।

सुर्खेतको गुर्भाकोट नगरपालीका क्षेत्रमा स्वाइन फ्लुको संक्रमण देखिएपछि काठमाडौंबाट रोग नियन्त्रण महाशाखाका अविनाश सिङ ठकुरी र विश्व स्वास्थ्य संगठनका डा. किरण चौलागाईको टोली आएर स्थलगत अध्ययन गरेर फर्किएको छ ।

नगर स्वास्थ्य प्रमुख वलीका अनुसार गुर्भाकोट नगरपालीकामा रुघा खोकि लागेका ४२ जनालाइ स्वाइन फ्लुको प्रकृति शंकास्पद रोग मानेको र परिक्षणका लागी रोगको परिक्षणमा नमुना संकलन गरी लगेको छ । स्वाइन फ्लु रोगलाई महामारीको रोगको रुपमा फैलन नदिन त्यस क्षेत्रमा सजकता अपनाउन अनुरोध गरिएको छ ।

रुघा र ज्वरो आउने बित्तिकै स्वाइन फ्लु नहुने भएकोले सर्वसाधारणलाई नआत्तिन पनि आग्रह गरेको छ । सचेतता अपनाउँदै उपचारमा लाग्नु पर्ने आवश्यक्ता रहेको रोग परिक्षणका लागी आएको उक्त चिकित्सकको टोलीले औल्याएको छ ।

सामान्यतया स्वाइन फ्लु सुङ्गुर र बङ्गुरबाट मानिसमा सर्ने रोग हो तर सुर्खेतमा भेटीएको स्वाइन फ्लुको प्रकृति भने फरक रहेको नगर स्वास्थ्य प्रमुख वलीका अनुसार ‘डाँगीको रिपोर्टमा ‘एचवान एनवान प्यान्डामिक इन्फ्लुञ्जा’ भनेको छ । यो भनेको मान्छे वा जो कोहिबाट पनि सरेको भन्ने हो ।’

नेपालमा स्वाइन फ्लु भएको छ वा छैन भन्ने विषयमा परिक्षण गर्नको लागि टेकुमा पठाउनु पर्छ । त्यहाँ पनि र्‍याल परिक्षण गर्ने ‘भिटीएम’ पाँच वटा मात्रै छ । जुन अत्यन्त न्युन रहेकोले परिक्षणमा केही समस्या रहेको र बिरामीको भने शंकास्पद रहेकाले अवस्था  हेरी उपचार भइरहेको स्वास्थ्य शाखा प्रमुख किरण वली जानकारी दिनुभएको छ ।