डोटीको जोरायलमा यात्रुवाहक बस ठोकिँदा २ को मृत्यु, ४८ घाइते

३१,असोज, डोटी/  भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ घोरणी गगनेपानीमा मंगलबार दुई यात्रुवाहक बस एकापसमा ठोकिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। 

उक्त दुर्घटनामा ४८ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। मृत्यु हुनेमा देहिमाण्डौं बैतडीकी ८० वर्षकी द्रौपदी भण्डारी र पर्शुराम नगरपालिका– १४ का १३ वर्षका विक्रम बोहरा रहेका छन्।

डडेल्धुरा सदरमुकामबाट जोगबुडा जाँदै गरेको उग्रतारा यातायातको ना४ख ६८५६ र महेन्द्रनगरबाट बैतडी जाँदै गरेको महाकाली यातायातको ना५ख ६०८१ नम्बरको बस मंगलबार मध्याह्न १२ बजे ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरूको परिचय भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

घाइते भएका ३२ जनामध्ये गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाइएको छ। बाँकी समान्य घाइतेको डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय  डोटीका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए।